PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

भेनेजुएलाका लागि सहायता सामग्री बोकेको अमेरिकी विमान कोलम्बियामा, राष्ट्रपति मडुरोद्वारा विरोध



भेनेजुएलाका लागि सहायता सामग्री बोकेको अमेरिकी विमान कोलम्बियामा, राष्ट्रपति मडुरोद्वारा विरोध
फोटो : एएफपी

 कोलम्बीया : भेनेजुएलाका लागि मानवीय सहायता सामाग्री बोकेर आएको अमेरिकी विमान भेनेजुएलासँग सीमा जोडिएको कोलम्बिया पुगेको छ।

 सीमा क्षेत्रको कुकट्टा शहरबाट अमेरिकी सैन्य विमानले ल्याएको सहायता सामाग्रीहरु भण्डारण गर्ने कार्य भइरहेको बताइएको छ।

आफैलाई भेनेजुएलाको अन्तरिम राष्ट्रपति घोषणा गरेका जुआन गुएइदोको अनुरोधमा अमेरिकाले उक्त सामाग्रीहरु पठाएको बताइएको छ।  उनले करिब ६ लाख स्वयमसेवकहरुले २३ फेब्रुअरी मा ती सामाग्रीहरु भेनेजुएलामा ल्याउने बताएका छन्।

यस्तै, गुएइदोका सहयोगीहरुले सहयोग सामाग्रीहरु भण्डारण गर्न ब्राजिल सरकारसँग समेत वार्ता गरिरहेको बताइएको छ।

तर भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोले ती सामाग्रीहरु भेनेजुएलामा जवरजस्ती भित्राउने प्रयासको विरोध गरेका छन्। मडुरोले आफ्नो राष्ट्रमा अमेरिकी सहायता सामाग्रीहरु भित्रिन नदिने बताउँदै आएका छन्। उनले सो कदम भेनेजुएलामाथि अतिक्रमण गर्ने योजना अनुरुप भएको आरोप लगाएका छन्। मडुरोले सेनालाई ती सामाग्री भित्रिन नदिन तयार अवस्थामा रहन निर्देशन दिएका छन्।

गत जनवरी १७ मा राष्ट्रसभाका सभामुख समेत रहेका गुएइदोले वर्षौंदेखि आर्थिक संकटले गुज्रिरहेको भेनेजुएलाका राष्ट्रपति मडुरोविरुद्ध भइरहेको जनप्रदर्शनका बीच आफैलाई अन्तिरम राष्ट्रपति घोषणा गरेका थिए।

अमेरिका, युरोपियन युनियन, दक्षिण अमेरिकी राष्ट्रहरु ब्राजिल, कोलम्बीया, पेरु लगायतले समेत गुएइदोलाई अन्तरिम राष्ट्रपतिको मान्यता दिएको थियो।

मडुरोले उक्त घोषणालाई अमान्य भन्दै आफ्नो देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न गुएइदोलाई समर्थन गरेका राष्ट्रहरुलाई चेतावनी दिँदै आएका छन्।                                             



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell