PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

ट्रम्प-किम वार्ताकाे तयारी गर्न उत्तर कोरियाली र अमेरिकी अधिकारी भियतनाममा



पहिलोपोस्ट

ट्रम्प-किम वार्ताकाे तयारी गर्न उत्तर कोरियाली र अमेरिकी अधिकारी भियतनाममा

हनोई: उत्तर कोरियाका एक जना वरिष्ठ अधिकारी उत्तर कोरियाका नेता किम जोङ–उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच हुने दोस्रो शिखर बैठकको तयारीका निम्ति भियतनामको हनोई आइपुगेका छन्। दुबै नेताबीच यही फेब्रुअरीको २७ र २८ तारिखमा हनोईमा भेटवार्ता हुँदैछ। 

उत्तर कोरियाका प्रमुख सचिव किम चाङ–सोनको नेतृत्वमा रहेको उत्तर कोरियाली प्रतिनिधिमण्डलमा एक दर्जन बढी उच्च अधिकारीहरु रहेका छन्। भियतनामी अधिकारीहरुका अनुसार, सचिव किमले बैठकको तयारीका बारेमा भियतनामी अधिकारीहरुसँग छलफल गरेका थिए। छलफलमा उत्तर कोरियाली अधिकारीहरुले प्रोटोकल, सुरक्षा र अन्य व्यवस्थाका बारेमा जानकारी लिएकाे योनहापले जनाएकाे छ। उत्तर काेरियाली टाेलीले हनाेईमा सामसङ माेबाइलकाे कारखाना समेत अवलाेकन गरेकाे छ। 

यता अमेरिकी राष्ट्रपतिका सहयोगी ड्यानियल वाल्स र अन्य वरिष्ठ अधिकारी शुक्रबार नै हनोई पुगेका थियाे। उनीहरुले पनि बैठकको तयारीका बारेमा भियतनामी अधिकारीहरुसँग परामर्श गरिसकेका छन्। 

दुबै नेताबीचको दोस्रो शिखर बैठकमा पनि उत्तर कोरियाको आणविक निःशस्त्रीकरण प्रक्रियामाथि छलफल गरी ठोस सहमति हुने अपेक्षा गरिएको छ। सिंगापुरमा गत वर्ष जुनमा भएको वार्तामा पनि आणविक निःशस्त्रीकरण गर्ने सम्झौता भएको थियो, तर त्यसको पूर्ण कार्यान्वयन भएको छैन। 

सिंगापुर सम्मेलनयता उत्तर कोरियाले क्षेप्यास्त्र इन्जिन र आणविक परीक्षण केन्द्र नष्ट गरेको दाबी गरिरहेको छ। तर उक्त कार्यको अन्तर्राष्ट्रिय स्तरबाट स्वतन्त्र पुष्टि नगरिएको भन्दै अमेरिकाले उत्तर कोरियामाथि लागेका प्रतिबन्धहरु फुकुवा गरेका छैन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell