काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले गायक पशुपति शर्माको गीत लुट्न सके लुट् युटुबबाट हटाउँदा कांग्रेस सांसदले प्रोत्साहन गरेको देखेर आफूलाई अचम्म लागेको बताएका छन्।
आज सुदुरपश्चिम प्रदेश सभामा सम्बोधनको क्रममा प्रधानमन्त्रीले उक्त भनाई राखेका हुन्।
ओलीले भने,‘हामी नचाहिने कुरामा रमाउँछौ। नचाहिने कुरामा प्रोत्साहित गर्छौ। एउटाले भुलचुकमा गीत बनायो रे। लुटेर खा भाइ लुटेर खा भनेर गीत बनाएछन्, जनताले तिम्रो गीत मन पराएनौं भनेपछि उनले युट्युबबाट हटाएछन्।’
ओलीले कांग्रेस सांसदले पुरस्कार दिएर त्यस्तो गीत प्रोत्साहन गर्न खोजेकोमा आपत्तिसमेत जनाए। यस्तो गीतबारे सरकारले केही नभनेको र हटाइसकेपछि कुरै सकेको उल्लेख गर्दै प्रधानमन्त्रीले भने, ‘अर्को एउटा सांसदले त्यस्तो राम्रो महान गीत, लुटेर खान सिकाउने गीत नेपालीलाई सुहाउँदो, किन हटाएको भनेर राख्नुपर्छ भनेछन्। हाम्रो त बाटै त्यही हो। २५ हजार त्यसगीतबापत पुरस्कार दिन्छु भनेछन्। मलाई अचम्म लाग्छ।’
कांग्रेस सांसद सिंहले सोमबार प्रतिनिधि सभाको बैठकमा गायक शर्माको गीत हटाएकोमा आपत्ति जनाउँदै उनलाई २५ हजार रुपैयाँ दिने घोषणा गरेका थिए।