PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

डीपीएल : रुपन्देहीलाई १ रनले हराउँदै महेन्द्रनगर क्वालिफायर्समा, फाइनल पुग्न काठमाडौँसँग खेल्ने



पहिलोपोस्ट

डीपीएल : रुपन्देहीलाई १ रनले हराउँदै महेन्द्रनगर क्वालिफायर्समा, फाइनल पुग्न काठमाडौँसँग खेल्ने

धनगढी : धनगढी प्रिमियर लिग (डीपीएल) ३ अन्तर्गत आज भएको एलिमिनेटर खेलमा महेन्द्रनगर युनाइटेडले रुपन्देही च्यालेन्जर्सलाई पराजित गर्दै दोस्रो क्वालिफायर्समा स्थान बनाएको छ।

लिग चरणमा विराटनगर किंग्सलाई रनरेटमा पछि पार्दै चौथो भएको महेन्द्रनगरले रुपन्देहीमाथि १ रनको रोमाञ्चक जित हात पारेको हो।

महेन्द्रनगरले अब फाइनल प्रवेशका लागि काठमाडौँ गोल्डेन्ससँग खेल्नेछ। गोल्डेन्स पहिलो क्वालिफायर्समा सिवाइसी अत्तरियासँग प्राजित भएको थियो। अत्तरिया भने फाइनल पुगिसकेको छ।

फाप्ला मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको महेन्द्रनगरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ११५ रन बनाएको थियो। महेन्द्रनगरका लागि कप्तान शरद भेषावकरले नटआउट २९ रन बनाए। यस्तै सुब्रमन्यम आनन्दले २०, अमरसिंह राउटेलाले १९ र मोहम्मद नाभिदले १८ रन जवडे।

रुपन्देहीका ललित सिंह भण्डारीले ४ विकेट लिए। पुनित महेराले ३ विकेट लिए। कप्तान बसन्त रेग्मीले ४ ओभरमा ७ रन खर्चेर २ विकेट लिए। बसन्तले आफ्नो पहिलो दुई ओभरमा कुनै रन नदिई १-१ विकेट लिएका थिए।

११६ रनको लक्ष्य पछ्याएको रुपन्देहीले २० ओभरमा ९ विकेट गुमाएर ११४ रन बनायो।

रुपन्देहीका ओपनर बाबर हायत र प्रदिप ऐरीले २८-२८ रन बनाए। यस्तै विनोद भण्डारीले २३ रन जोडेपनि जित दिलाउन सकेनन्।

अन्तिम ओभरमा रुपन्देहीलाई जितका लागि ६ बलमा ५ रन चाहिएको थियो। तर महेन्द्रनगरका बलर अभिनाश बोहराले ३ रन मात्र खर्चिए भने रुपन्देहीले अन्तिम ओभरमा ३ विकेट गुमायो। अभिनाशले विक्रम सोबलाई रोहित पौडेलको हातबाट क्याचआउट गराए भने प्रदिप ऐरी र बसन्त रेग्मी रनआउटउ भए।

महेन्द्रनगरलाई जित दिलाउन नायक बनेका अभिनाशले ४ ओभरमा १३ रन मात्र खर्चेर २ विकेट लिए। यस्तै मोहम्मद नाभिदले ४ ओभरमा १९ रन खर्चेर १ विकेट लिए। सिद्धान्त लोहनीले पनि १ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell