PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

कसले दिएको थियो सांसद नीरुदेवीलाई ज्यान मार्ने धम्की? हेडक्वार्टरले मगायो अनुसन्धान प्रतिवेदन



पहिलोपोस्ट

कसले दिएको थियो सांसद नीरुदेवीलाई ज्यान मार्ने धम्की? हेडक्वार्टरले मगायो अनुसन्धान प्रतिवेदन

काठमाडौं: गत साउन १५ गते सांसद निरुदेवी पाललाई के भएको थियो? आठ महिना भइसक्दा पनि अझै खुल्न सकेको छैन। दुई व्यक्तिले आफूलाई ज्यान मार्ने धम्की दिएको सांसद पालको दावी थियो।


अहिले प्रहरी प्रधान कार्यालय नक्सालले घटनाबारे चासो देखाएको छ। कार्यालयले महानगरीय प्रहरी परिसर काठमाडौंलाई अनुसन्धानको सम्पूर्ण फाइल पठाउन पत्राचार गरेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए। एसएसपी सुवेदीले भने, ’हामीले अनुसन्धान प्रतिवेदन मगाएका हौं।‘


 'भोलिको बैठकमा गए ...ले पनि जोगाउन सक्दैन,'  भन्दै आफूलाई धम्की दिएको संसदीय सुनुवाई समितिमा भोलिपल्ट सांसद पालले घटनाक्रम सुनाएकी थिइन्। त्यतिबेला सुनुवाई समितिमा प्रस्तावित प्रधान न्यायाधीश दीपकराज जोशीको सुनुवाई जारी थियो। 


घटनाले सनसनी फैलायो। सांसद पालले ज्यान मार्ने धम्की पाउँदा पनि प्रहरीमा उजुरी नदिनाले यो घटना झनै रहस्य र शंकाको घेरा परेको थियो।


घटना बाहिएपछि महानगरीय प्रहरी परिसर काठमाडौँले अनुसन्धान सुरु गरेको थियो। तर परिणाम केही निस्किएन। सांसद पालको घटना अनुसन्धान गर्न एसपीको नेतृत्वमा तीन सदस्य टोली गठन गरेको थियो। समितिमा एसपी रामदत्त जोशी, महानगरीय प्रहरी वृत्त बानेश्वरका डिएसपी गोविन्द काफ्ले र प्रहरी निरीक्षक सुरेन्द्र केसी थिए।


उनीहरुले घटनाको अनुसन्धान सकेर परिसरमा प्रतिवेदन बुझाए पनि प्रहरीले प्रतिवेदन गोप्य नै राखेको थियो। त्यतिबेला घटनाको अनुसन्धान नेतृत्व गर्ने एसपीको सरुवा भइसकेको छ। उनी महानिरीक्षकको सचिवालय पुगेका छन्।


परिसरका तत्कालीन प्रमुख एसएसपी विश्वराज पोखरेलले सरुवा भएको महिनौं बितिसक्यो।


पाल पनि हालै संसदको विषयगत समितिको सभापति बनिसकिन्। तर, उनीसँगै जोडिएको सुरक्षाको त्यो महत्वपूर्ण विषय सेलाउँदै गएको छ। त्यसो त सांसद पालले घटनाबारे प्रहरीलाई उजुरी समेत दिइनन्। संसदमा पालको अनुसन्धानको बारेमा प्रश्न उठ्ने सम्भावना भएकाले जवाफको तयारीको लागि अनुसन्धान प्रतिवेदन प्रहरी प्रधान कार्यालयले मगाएको एसएसपी सुवेदीले बताए।


घटना नयाँ बानेश्वरको हो। पालको डेरा नजिकै एउटा टेलर छ। प्रहरीको अनुसन्धानमा एक प्रत्यक्षदर्शीले दिएको बयान अनुसार टेलर अगाडि सधैँ दुई वटा मोटरसाइकल देखिन्थे। घटना भएको दिन भने दुईवटा होइन चार वटा मोटरसाइकल रहेको ती प्रत्यक्षदर्शीलाई उदृत गर्दै प्रहरी स्रोतले भन्यो। सांसद् पालले बताए झैँ घटना भएको दिन मोटरसाइकलमा आएका युवाले सांसद् पाललाई भेटेका थिए।

'उनीहरू बीच कुराकानी पनि भएको देखियो। तर, कुराकानी कुनै अपरिचित झैँ थिएन भन्ने प्रत्यक्षदर्शीले जनाएका छन्,'एक प्रहरी अधिकृतले सुनाए।

प्रहरी स्रोतका अनुसार दुई युवा र सांसद पालबीच कुराकानी भएको देखिए पनि त्यहाँ असामान्य केही देखिएन। उनीहरू सामान्य तरिकाले नै मोटरसाइकलमा फर्किए। कुनै हतास वा भागदौड थिएन। उनीहरुले आरामले मोटरसाइकलमा स्टार्ट गरे अनि हिँडे। 'उनीहरू को थिए? सांसदसँग उनीहरुको के कुरा भयो? धम्क्याएर वा अरू नै गफ भयो खुलेको छैन,' ती प्रहरी अधिकृतले सुनाए।

संसदमा पालले आफूलाई घाँटीमा पेस्तोल तेर्स्याएको र अझै नीलो डाम रहेको समेत बताएकी थिइन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell