PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

अस्ट्रेलियामा अलपत्र नेपाली विद्यार्थीको समस्या समाधानका लागि कार्यदल गठन



अस्ट्रेलियामा अलपत्र नेपाली विद्यार्थीको समस्या समाधानका लागि कार्यदल गठन
फोटो: en.wikipedia.org

काठमाडौं: अष्ट्रेलियमा अलपत्र परेका नेपाली विद्यार्थीको समस्या समाधान गर्न नेपालले अष्ट्रेलियालाई आग्रह गरेको छ।

अध्ययनका लागि अष्ट्रेलिया पुगेका नेपाली विद्यार्थीहरुको समस्या समाधानका लागि क्यानवेरास्थित नेपाली दूतावासले त्यहाँको शिक्षा विभागलाई अनुरोध गरेको हो।

अस्ट्रेलियन इन्ष्टिच्युट अफ बिजनेस एण्ड टेक्नोलोजी (एआईबिटी) को दर्ता रद्द भएपछि समस्यामा परेका सयौं नेपालीको भिसा, नर्सिङ पढिरहेकाको भविष्यलगायतका विषयमा अष्ट्रेलियाका लागि नेपाली कार्यवाहक राजदूत द्रुपदा सापकोटाले आग्रह गरेकी हुन्। छलफलका लागि कार्यवहाक राजदूत सापकोटासहितको नेपाली टोली विभागमा पुगेको थियो।

नेपाली टोलीले विद्यार्थीहरुको भिसा, नर्सिङ पढेका विद्यार्थीको भविष्य, शैक्षिक विषयको क्रेडिट ट्रान्सफरलगायत विषयमा औपचारिक धारणा राखेको क्यानवेरास्थित नेपाली दूतावासले जनाएको छ।

यसैबीच दूतावासले अस्ट्रेलियामा रहेका शैक्षिक परामर्शदाताहरुसँग विद्यार्थीलाई सहयोग गर्न आग्रह गरेको छ। त्यस्तै दूतावासका अधिकारीहरुले अस्ट्रेलियाको नर्सिङ नियमन निकाय अष्ट्रेलियन नर्सिङ एण्ड मिडवाफरी एक्रिडेसन काउन्सिल (एनम्याक) का अधिकारीहरुसँग समेत छलफल गर्ने तयारी गरेको छ। त्यस्तै नेपाली विद्यार्थी अलपत्र पार्ने कलेजका अधिकारीहरुसँग समेत छलफल गरिने दूतावासले जनाएको छ।

अस्ट्रेलियाको शैक्षिक नियमन निकाय अष्ट्रेलियन स्किल क्वालिटी अथोरिटी (आस्क्वा) ले गलत व्यावसायिक तरिका अपनाएको भन्दै मार्च २६ सम्मको म्याद दिएर गत मंगलबार उक्त कलेजको दर्ता खारेज गरेको थियो।

एनम्याकमा दर्ता नभएको शैक्षिक संस्थाको नर्सिङ विषय अध्ययनलाई अस्ट्रेलियामा मान्यता नहुने प्रावधान छ। उक्त कलेजमा अध्ययनरत नर्सिङबाहेकका अन्य सयौं विद्यार्थी पनि प्रभावित बनेका छन्।

दूतावासले अलपत्र परेका नेपाली विद्यार्थीहरुसँग निरन्तर सम्पर्कमा रहेको र समस्या समाधानका लागि पहल भइरहेको जनाएको छ। दूतावासले नेपाली विद्यार्थीहरूको समस्या समाधानका लागि सहयोग र सहजीकरणका लागि बिहीवार सिड्नीका लागि नेपालको अवैतनिक महावाणिज्यदूतको कार्यालयमा गैरआवासीय नेपाली सङ्घ, अष्ट्रेलियन एजुकेशन कन्सल्ट्यान्टस अलाएन्स, वकिल, पत्रकार तथा अन्य सरोकारवाला निकाय एवम् संस्थाहरूसँग छलफल गरेको थियो।

 

समस्या समाधानका लागि सहजीकरण गर्न र प्रभावित विद्यार्थीहरूलाई आवश्यक र उपयुक्त काउन्सिलिङ प्रदान गर्न कार्यदल गठन गरेको दूतावासले जनाएको छ। कार्यदलमा राजदूतावास, अवैतनिक महावाणिज्य दूतावास, एनआरएनए, अष्ट्रेलियन एजुकेसन कन्सल्ट्यान्ट अलाएन्स, अष्ट्रेलियामा रहेको अन्तर्राष्ट्रिय विद्यार्थीहरुको छाता सङ्गठन, भिजन फर मोटिभेसनका प्रतिनिधि सम्मिलित कार्यदल गठन गरेको छ।

 

दूतावासले प्रभावित विद्यार्थीहरूलाई दूतावासमा सम्पर्क गर्न आग्रहसमेत गरेको छ। त्यसका लागि सिड्नी स्थित नेपाली महावाणिज्य दूतको कार्यालयमा हेल्प डेस्कको स्थापना गर्ने तयारी गरेको छ। हेल्प डेक्स आगामी मंगलवारबाट सञ्चालनमा आउने छ।

 

हेल्पडेस्कको सम्पर्क नं. 0294600322 र इमेलः [email protected] मा सम्पर्क गर्न प्रभावित विद्यार्थीहरुलाई आग्रह गरिएको छ।

 

त्यस्तै दूतावासले नेपाली विद्यार्थीहरुलाई कलेज नछाड्न र नियमित कक्षामा जान अनुरोधसमेत गरेको छ। त्यस्तै भिसा सकिएका विद्यार्थीहरुलाई कलेजमा सम्पर्क गर्न अनुरोध गरेको छ।

 

यसअघि काठमाडौंस्थित अष्ट्रेलियाली दूतावासलेसमेत वक्तव्य जारी गर्दै विद्यार्थीहरुलाई नियमित कक्षामा उपस्थित हुन अनुरोध गरेको छ। दूतावासले कलेज खारेज भए त्यसको क्षतीपूर्ती कलेजले दिनेन बताएको छ।

सम्बन्धित समाचार

अस्ट्रेलियामा अलपत्र विद्यार्थीलाई दूतावासको सुझाव- अहिलेलाई त्यहीँ पढ्दै गर्नु, बन्द भए विकल्प र रकम फिर्ता कलेजको जिम्मेवारी

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell