PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

नख्खु विस्फोट अपडेट : गुरुङको शव आफन्तले बुझेनन्, 'गृहमन्त्रीको आश्वासन होइन, लिखित चाहियो'



सागर बुढाथोकी

 नख्खु विस्फोट अपडेट : गुरुङको शव आफन्तले बुझेनन्, 'गृहमन्त्रीको आश्वासन होइन, लिखित चाहियो'

ललितपुर : गृहमन्त्रीको मौखिक आश्वासनकै भरमा मात्र नहुने भन्दै एनसेल कार्यालयमा भएको विस्फोटमा परी ज्यान गुमाएका सिंहप्रसाद गुरुङका आफन्तले शव बुझेका छैनन्। उपचारका क्रममा गुरुङको मेडिसिटी अस्पतालमा निधन भएको थियो।

आज बिहान गृहमन्त्री रामबहादुर थापा अस्पताल पुगेका थिए। उनले विस्फोटमा परी मृत्यु भएकाको परिवारलाई राहत स्वरुप सरकारले रकम उपलब्ध गराउने र घाइतेको सम्पूर्ण उपचार खर्च बेहोर्ने बताएका थिए। मृत्यु भएकाको आफन्त र घाइतेका परिवारसँग भेट्दै गृहमन्त्रीले यस्तो प्रतिवद्धता जनाएका थिए।

उपचारकै क्रममा मृत्यु भएका गुरुङको शव लैजानका लागि अस्पतालले आग्रह गर्दा परिवारका सदस्य र आफन्तहरुले सरकारको प्रतिवद्धतालाई मात्र विश्वास नगर्ने बताए। उनीहरुले लिखित रुपमा सरकारबाट नआइकन शव नलैजाने जनाएका छन्। गृह मन्त्रीले बोल्दैमा सहयोग उपलब्ध नहुने उनीहरुको तर्क छ।  

नख्खुस्थित एनसेल कार्यालय बाहिर शुक्रबार राति विस्फोट भएको थियो। विस्फोटमा परी घाइते भएका लमजुङका ४९ वर्षीय सिंहप्रसाद गुरुङको उपचारका क्रममा मृत्यु भएको हो। उनको भेन्टिलेटरमा राखी उपचार गरिएको थियो।

विस्फोटमा परी तीन जना पैदल यात्रु घाइते भएका थिए।

गुरुङ सिंगापुरका रिटायर्ड प्रहरी हुन्। नख्खुमै घर भएका उनी आफ्नै गाडीमा घरतिर फर्कँदै गर्दा विस्फोटमा परी घाइते भएको प्रत्यक्षदर्शीले बताएका थिए।

उनका दुई छोरी र एक छोराका छन्। उनको मृत्युको खबर सुनेपछि लमजुङ र पोखराबाट उनका बहिनी र भाउजु बिहानै अस्पताल आइपुगेका थिए। 

अर्की गम्भीर घाइते काभ्रेकी २५ वर्षीया उरुषा मानन्धरलाई हाड जोर्नी विशेषज्ञले सर्जरी गरेको अस्पतालले जनाएको छ। यता अर्की घाइते बाग्डोलकी २६ वर्षीया प्रतीक्षा खड्काको उपचारमा मुटुरोग विशेषज्ञको टोली खटिएको छ।

घाइते भएका मानन्धर र खड्का स्टाफ नर्स रहेको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी रविन्द्र धानुकले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell