PahiloPost

May 22, 2019 | ८ जेठ २०७६

नाटक महोत्सव उद्घाटन गर्दै प्रधानमन्त्रीले भने, यो कलाकारहरुको सरकार हो

नाटक महोत्सव उद्घाटन गर्दै प्रधानमन्त्रीले भने, यो कलाकारहरुको सरकार हो

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं :  सोमबार साँझ मण्डला थिएटरमा नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको उद्घाटन गर्दै प्रमुख अतिथि  प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकार कलाकारहरुको भएको र आफू कलाप्रेमी रहेको बताए। 

नेपालीमा मन्तव्य दिइरहेका उनले अन्त्यतिर अन्तर्राष्ट्रिय सहभागी एवं दर्शकलाई सम्बोधन गर्दै अङ्ग्रेजीमा भने,’दिस इज अ गभर्मेन्ट अफ आर्टिस्ट एण्ड पिएम इज एन आर्ट लभर।‘

उनले आउँदो आर्थिक वर्षदेखि नै नाट्य विधाका लागि बजेट छुट्याउने आश्वासनसमेत दिन भ्याए। कार्यक्रममा उनीसँगै अर्थमन्त्री युवराज खतिवडामात्र हैन, मन्त्रिपरिषद्का आधाजसो सदस्य पनि साथै थिए। 

नाट्य महोत्सवका निर्देशक नाट्यकर्मी राजन खतिवडाले महोत्सवलाई वर्षौअघिदेखिको सपनाको रुपमा व्याख्या गरे। भने,’हामीले नाटकलाई सधैं सामाजिक रुपान्तरणको एक सशक्त माध्यमका रुपमा हेरेका छौं। यो सामाजिक, रचनात्मक र सिर्जनशिल परिवर्तनका लागि अर्थपूर्ण सोच निर्माण गर्न सहयोग पुर्‍याउँछ भन्ने विश्वास छ। त्यही विश्वासको फल हो यो महोत्सव।‘ 

उनले समृद्ध समाजका लागि महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने समेत बताए। 

समारोहमा संस्कृतिविद सत्यमोहन जोशीसहित ९ जना नाट्य क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गरेका नाट्यकर्मीहरुलाई सम्मानित गरियो।

निर्देशक प्रचण्ड मल्ल, शकुन्तला शर्मा गुरुङ, नाटककार एवं समालोचक अभि सुवेदी, नाट्य निर्देशक अशेष मल्ल, सबिन लेहमेन र कलाकारहरु सुभद्रा अधिकारी, सुनिल मिश्र सूर्यमाला शर्मालाई प्रधानमन्त्रीले ताम्रपत्र प्रदान गरे। 

सोही अवसरमा सत्यमोहन जोशीको नाट्य कृति ‘सुनकेशरी’ विमोचन समेत भयो। जोशी, प्रधानमन्त्री सँगै सम्मानित आठ नाट्यकर्मीले पुस्तक लोकार्पण गरे। 

समारोहमा परम्परागत एवं मौलिक झाँकीहरु साकेला सिलीदेखि आधुनिक सांगीतिक प्रस्तुति समेत रहेको थियो। कलाकारहरु सलिल सुवेदी र अश्मिना रञ्जितको नाट्य प्रस्तुति, अनुप बराल निर्देशित नाटक ‘रेप मेसिन’ मञ्चन गरिएको थियो।

मङ्गलबारदेखि काठमाडौंका चार थिएटरहरुमा नियमित नाटक मञ्चन हुँदैछ। अनामनगरस्थित मण्डला थिएटर, बत्तिसपुतलीको शिल्पी थिएटर, टेकुको कौसी थिएटर र कीर्तिपुरको थिएटर मलमा फरक फरक नाटकहरु देखाइने छ। नेपाल, भारत, बंगलादेश, अफगानस्तान, नर्वे, इटाली लगायत ८ देशका ३० फरक नाट्य समूह यसमा सहभागी छन्। 

नाटक मञ्चनसँगै कविता वाचन, सांगीतिक प्रस्तुति, फोटो प्रदर्शनी र विभिन्न विषयमा अन्तरक्रियात्माक कार्यक्रम र वहस सञ्चालन हुने निर्देशक सोमनाथ खनालले जानकारी दिए। 



ट्रेन्डिङ पोस्ट