PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

हेलिकप्टर दुर्घटनासँगै बालुवाटार पुगे प्रम ओलीका चिकित्सक, किन हतारिँदै छिरे बालुवाटार?



सागर बुढाथोकी

हेलिकप्टर दुर्घटनासँगै बालुवाटार पुगे प्रम ओलीका चिकित्सक, किन हतारिँदै छिरे बालुवाटार?

काठमाडौं : हेलिकप्टर दुर्घटनामा परेर नागरिक उड्ययन तथा पर्यटन मन्त्री रवीन्द्र अधिकारी सहित सात जनाको मृत्यु भएपछि प्रधानमन्त्री कार्यलय बालुवाटारमा 'सन्नाटा' छायो। तीन बजेको लागि बोलाइएको मन्त्रिपरिषदको बैठक लामो समयमा पनि सुरु हुन सकेन। प्रधानमन्त्री केपी शर्मा ओली मिटिङरुममा ओर्लिएनन् त्यसैले पुगेका मन्त्रीहरु उनलाई मिटिङ रुममा कुरिरहे।

त्यही बीच बालुवाटारमा एउटा गाडी छिर्‍यो। गाडीमा थिइन् डाक्टर दिव्या सिंह शाह। प्रधानमन्त्री केपी शर्मा ओलीका निजी चिकित्सक। क्याबिनेट सुरु हुने समयमा एकाएक प्रधानमन्त्री निवासमा निजी चिकित्सकको प्रवेश अनपेक्षित हुनु स्वभाविक थियो। कतै दुखद् घटनाले प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या त आएन?

शंका सामान्य भए पनि प्रधानमन्त्रीको स्वास्थ्य अवस्था खराब भने भएको होइन। दुर्घटनाको खबर थाहा पाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई 'केयर' गर्न दुई डाक्टर बालुवाटार पुगेका थिए। प्रधानमन्त्रीको निजी चिकित्सक दिव्या सिंह शाह र क्याबिनेटका चिकित्सक डा. दिलिप शर्मा बालुवाटार पुगेका हुन्।

उनीहरु प्रधानमन्त्रीको स्वास्थ्य अवस्थामा कुनै परिवर्तन भएर त्यहाँ पुगेका थिएनन्। तर, देश नै 'सक' हुने गरी भएको हेलिकप्टर दुर्घटनापछि प्रधानमन्त्रीको स्वास्थ्यलाई नजिकबाट निहालिरहेका उनीहरु बालुवाटार उपस्थित हुनु अनिवार्य थियो।  

डाक्टर शर्माले बालुवाटारमा उनको उपस्थितिको विषयमा हामीले चासो राखेपछि भने, 'प्रधानमन्त्रीलाई ठीक छ। उहाँ बिरामी भएकाले हामी बालुवाटार आएका होइनौं। यस्तो बेलामा 'एक्सट्रा केयर' गर्नुपर्छ भन्ने ठानेर हामी आएका हौँ। उहाँ ठीक हुनुहुन्छ। काम गरिराख्नुभएको छ।'

त्यस्तै, प्रधानमन्त्रीका प्रेस सल्लाकार कुन्दन अर्यालले प्रम ओली आफ्नै कक्षमा ब्रिफिङमा सक्रिय रहिरहेको जानकारी दिए। भने, 'प्रधानमन्त्री आफ्नो काम गर्दैहुनुहुन्छ। ठीक हुनुहुन्छ।'
 
प्रम ओली गत कार्तिकमा बिरामी परेर शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए। त्यहाँ उपचार गरेर फर्किएपछि उनका निजी चिकित्सक सिंहले प्रम ओलीलाई धपेटीमा काम नर्गन सुझाव दिएकी थिइन्।

उनले भनेकी थिइन्, 'मृगौला प्रत्यारोपण गरेको बिरामीलाई धेरै धपेटी भयो भने गाह्रो हुन्छ। खाना, सुत्न र औषधि टाइममा लिनुपर्छ।'

दशैंमा प्रम ओलीले औषधि तथा खानपानको 'टाइम टेबल' बिगारेकाले उनलाई अस्पताल भर्ना गर्नुपरेको थियो। धेरै मानिससँग घुलमिल र स्वास्थ्यमा हेलचेक्राइ उनी बिरामी भएका थिए। अहिले दु:खद् क्षणमा प्रम ओलीको औषधि र खानपानको 'टाइम टेबल' बिग्रने डरले चिकित्सकहरु 'हाइ अलर्ट' भएका हुन्।

डा दिव्याका अनुसार मिर्गौलाको बिरामी सामान्यतया मानिस भन्दा चाडो थाक्छ। सुगर, प्रेसर लगायतका औषधि खानुपर्छ। रोग प्रतिरोधात्मक क्षमता घट्ने भएकाले सामान्य भन्दा सामान्य कुराहरुमा ध्यान दिनुपर्छ।

औषधि खाएन भने प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न छाड्छ। औषधिले प्रतिरक्षा प्रणाली कमजोर पारेका कारण प्रत्यारोपण गरेको मिर्गौलाले काम गरिरहेको हुन्छ। प्रतीरक्षा प्रणालीलाई धेरै कमजोर पार्दा अन्य भाइरस वा व्याक्टेरियाले शरीरका अन्य प्रणाली आक्रमण गर्न सक्छ। त्यसैले प्रत्यारोपण पछि औषधि खाइरहँदा पनि खतरा हुन्छ भने नखाँदा झनै खतरा।

सोही कारण प्रत्यारोपणपछि शरीरको प्रतीरक्षा प्रणाली सन्तुलनमा राख्न धेरै कुराहरुमा सचेत हुनुपर्छ। प्रत्यारोपण गरिएका व्यक्तिको शरीरमा सामान्य व्यक्तिभन्दा निकै चाँडो र डरलाग्दो किसिमले संक्रमण हुन सक्छ। 'डोज' तलमाथि परेको थाहा नहुँदा एकदिनमै रुघा लागेर निमोनिया हुने र गम्भिर समस्या देखिन सक्छ।

त्यसैले दुर्घटनाको खबर थाहा पाउनासाथ प्रम ओलीको औषधिको 'टाइमटेबल' नबिग्रियोस् भनेर दुई डाक्टर तत्कालै बालुवाटार पुगेका हुन्। प्रम ओलीको स्वास्थ्य खराब नहोस् भनेर पूर्व तयारी गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell