PahiloPost

May 24, 2019 | १० जेठ २०७६


थिएटर मल भत्कनु अनि थिएटर मल नै बन्नुको कथा


स्वेच्छा राउत

थिएटर मल भत्कनु अनि थिएटर मल नै बन्नुको कथा

रसियन कल्चर सेन्टरमा शैली थिएटरले साताको एक सो नाटक मञ्चन गर्थ्यो। सन्दर्भ २०६४/६५ तिरको हो। शैलीको साप्ताहिक मञ्चनबाहेक गुरुकुलमा मात्र नियमित नाटक मञ्चन हुन्थ्यो। नाटक देखाउनका लागि अहिलेजस्तो ५/६ वटा नाटकघर थिएन। त्यसैले दर्शक पनि कम थिए। रसियन कल्चर सेन्टरमा नाटकका दर्शक छिर्दैगर्दा सँगै रहेको सिटी सेन्टरमा भर्खरै बिग सिनेमा स्थापना भएको थियो। त्यहाँ फिल्म हेर्नेको अर्को लर्को हुन्थ्यो।

रङ्गकर्मी केदार श्रेष्ठ र टोली नाटकको सो सकिएपछि सिटी सेन्टर छिर्थे। त्यहाँको फिल्म हल र दर्शक फ्लो देखेर उनलाई सधैं लाग्यो- यस्तै मलमा नाटकघर हुनुपर्छ। उनले मनमनै शहरको कुनै मलमा थिएटर खोल्ने योजना नबनाएका पनि होइनन्। तर, कसैलाई सुनाउन सकेनन्। किनकि उनी आवद्ध शैली थिएटरको नै आफ्नो अडिटरियम थिएन।

केही वर्षपछि उनले शैली छाडे। सँगैका केही साथी पनि उनीसँगै बाहिरिए। एउटै रुची, इच्छा भएकाहरुको टोली बन्यो जसले थिएटर स्थापनालाई सामूहिक सपना बनाए।

चाहेको कुरा पुग्ने भयो। उनीहरुले चाहेजस्तै खाली ठाउँ भेटे सुन्धारास्थित काठमाडौं मलको छत। 'ठाउँ थियो तर हल थिएन। पैसा थिएन इच्छा शक्ति र गर्ने नै हो भन्ने दृढता चाहिँ थियो है,' केदार पुरानो कुरा कोट्याउँछन्।

बल्लबल्ल पाएको ठाउँ गुमाउनु थिएन। त्यसैले श्रेष्ठले कुरा भएकै दिन कन्ट्र्याक पेपरमा साइन गरे र एक लाखको चेक बुझाएर फर्किए। रोचक त के भने चेक दिए तर खातामा पैसा थिएन। 'केही दिनपछिको चेक काटेको थिएँ। विदेशमा भएको साथीसँग मगाएर जोहो गरेँ,' श्रेष्ठ थिएटर मल जन्मनुअघिका कुरा सुनाए।

बन्दै गर्दा पनि उनी र टोलीले संगालेको अनुभव सुन्नेलाई रमाइलो लाग्छ। कस्तो भोगे? त्यो चाहिँ सुन्न जति सहज र रसिक पक्कै छैन।

७ औं तलामाथि बन्न लागेको थिएटरमा गारो लगाउनेदेखि पार्टेसन गर्ने सबै काम टिम आफैँले गर्‍यो। ज्यालामा जम्मा दुईजना कामदार थिए। अरु सबै थिएटर मलका संस्थापक सदस्यहरु। इँटा, बालुवा, रड, फल्याक, सिमेन्ट ओसार्नदेखि मसला घोल्ने अनि प्लास्टर गर्नसम्म आफै लागिपरे।

गारोसँगै चुलियो खर्च। श्रम लगानी हिसाब नगर्दा पनि २२/२३ लाख खर्च भएको बताउँछन् उनी। भन्छन्, 'नाटकघर सञ्चालनमा आएपछि ऋण तिरिन्छ भन्ने थियो।'

हलको भाडा ५० हजार। झण्डै डेढ लाख संचालन खर्च। खाजा, खाना, आवश्यक सामाग्रीको हिसाब बेग्लै। आर्थिक पाटोलाई नियालेर हेर्ने हो भने थिएटर मल टोलीले साहस गरे। किनकि केदार, रमेश भट्टराई, एलिना नकर्मी, संजिता पराजुली, सुरेश कार्की, बिभु पौडेल, आकाश मगर, अभय बराल,सुशिला अधिकारी, रामशरण रेग्मी लगायतलाई थाहा थियो- नाटक देखाएरमात्र नाटकघर चल्दैन, खर्च जुट्दैन। केदार सोध्छन्, 'कमाइँदैन, ऋण लाग्छ, डुबिन्छ भनेर आफ्नो काम नै नगर्ने त?' 

आफूलाई टिमले सधैं मोटिभेट गरेको सुनाउँछन्। 'थिएटर मजाले चल्ने नै टिमवर्क, इच्छाशक्ति र पैसाले हो। पैसा अन्तिममा आउँछ तर सबैभन्दा महत्वपूर्ण हो यो।'

यति भनिसक्दा केदार श्रेष्ठको मुहारको रङ फेरिन्छ। रौसिँदै पुराना कुरा सुनाइरहेका उनी त्यो मिहिनेतले बनाएको थिएटर मल भत्कदाको कथा न्यारेट गर्छन्।

पुस १, २०७३

नाटक ‘भोकोघर’ मञ्चन भयो। २३ दिन चलेको नाटकको प्रचार र समीक्षा व्यापक रह्यो। नाट्य टोलीका लागि खुशीको कुरा के रह्यो भने उक्त नाटककै कारण धेरैले थिएटर मलबारे थाहा पाए।

झण्डै ३ वर्ष सञ्चालन भएको थिएटर मलको निर्माण रहेको नाटक 'भोको घर'ले ३ लाख रुपैयाँ कमाएको थियो। कुनै नाटकको टिकट सेल्सबाट सर्वाधिक कमाएको रेकर्ड थियो त्यो। पैसा मात्र कमाएन दर्शकको फ्लो पनि बढायो। यही नाटकबाट कलाकारहरुले सबैभन्दा बढी ९ हजार रुपैयाँ खर्च समेत पाए। त्यसअघि टिमले प्रोडक्सन घाटामै गए पनि सबैलाई एक हजार दिने ट्रेन्ड सुरु गरेको थियो।

'दर्शक आउन थालेका थिए। पैसा कमाउनु भन्दा खुशीको कुरो त त्यो थियो,' केही गम्भीर हुँदै भने, 'तर बन्द गर्नु पर्‍यो। ऋण गरेर चलाए पनि, सापटी लिए पनि हाम्रो आफ्नो ठाउँ बनाएका थियौं, जुन भत्क्यो।'

काठमाडौं मलमा रहन जुन कम्पनीसँग सहमति भएको थियो उक्त कम्पनी रहेन। नयाँ कम्पनी आयो, भाडा बढायो। त्यो पनि तिर्ने तर ठाउँ नछोड्न आट थियटर मल संस्थापक समूहले नगरेको होइन। केही महिनापछि भनियो- अब छोड्नुस् हामी यहाँ फिल्म हल बनाउँछौं।

२०७३ सालको पुसमा अर्थात् भोको घर मञ्चन भइरहँदा उनलाई उक्त जानकारी दिइएको थियो। तर, निस्किन नपर्ला, भत्काउन नपर्ला, भोको घरले दिएको खुशीमा रमाइ रहेकासाथीहरुलाई यो कुरा सुनाउन नपर्ला भन्ने आशा बोकेका थिए केदारले। आशा निराशामा बद्लियो। 'करिब ३/४ महिना म कोमामा रहेँ। तर छोड्नै पर्ने भएपछि आफू बलियो बनेर साथीहरुसँग उभिनुको विकल्प थिएन।' तीन वर्षपछि थिएटर मल तीनै हातहरुले भत्काए जुन हातहरुले गारो उठाएका थिए।

***

रङ्गकर्मलाई बानीको रुपमा व्याख्या गर्ने केदार श्रेष्ठ नाटकघर भत्किएपछि छट्पटिएका थिए। ऋणमा थिए, उनी र साथीहरु। तर, काम गर्ने हुटहुटीले छोडेको थिएन। 'काम नगर्दा फ्रस्टेसन हुँदो रहेछ,' उनको अनुभव।

त्यसैले नाटकघर पुन: स्थापनाका लागि उचित जग्गा खोजीमा थिए। कही नमिले धादिङमा भए पनि खोल्छु भन्ने योजना थियो उनको। ‘सधैं लाग्थ्यो आफ्नै नाटक घर हुनुपर्छ, मेरो टिमले मन लागेको बेलामा आएर, स्वतन्त्र रहेर काम गर्न पाउनु पर्छ। त्यसैले जता भएपनि मैले नाटकघर त खोल्थें खोल्थें,’ आफ्नो योजना सुनाउँछन्।

बाल नाटकको क्षेत्रमा सक्रिय रहेका उनले खाली समय विद्यालयमा नाटक सिकाउँथे। खर्च पनि जुट्ने र आफ्नो रहरको क्षेत्रमा काम पनि हुने। उनले पढाउने स्कूलहरुमध्येको एक थियो- राराहिल स्कूल, कीर्तिपुर। स्कूलका संस्थापकदेखि अध्यापकहरु थिएटर मलमा नाटक हेर्न आइरहन्थे।

थिएटर भत्किएको करिब एक वर्षपछि राराहिल स्कूल  व्यवस्थापन समितिका अध्यक्ष तुलसीदास महर्जनसँग उनको भेट भयो।

महर्जनले सोधेका थिए- आजकाल नाटक के हुँदैछ त?

नाटकघर स्थापनाको भोक रहेका उनले आफ्नो टोली उचित ठाउँको खोजीमा रहेको सुनाए। केदारले आफ्नो कुरा राख्दा महर्जनले अर्को प्रश्न अघिसारे- हाम्रोमा गर्दा के हुन्छ?

'त्यो संकेत थियो स्कूलको भवनमा ठाउँ उपलब्ध गराउने,' केदार खुशी हुँदै सुनाउँछन्, 'म भोलिपल्टै कीर्तिपुर पुगेँ, कुराकानी अघि बढाउन।'

र, आवश्यक सल्लाह र सहमतीबीच नाटकघर बन्ने निश्चित भयो। आवश्यक परेमा दुई लाख रुपैयाँसम्मको आर्थिक लगानी पनि गुठीले गर्ने प्रतिवद्धतासहित।

उस्तै जोश, उत्साह र दृढता लिएर टोली कीर्तिपुर धाउन थाल्यो। उस्तैगरी नाटकघरको अडिटरियम देखि मञ्च निर्माणमा ज्यामी, मिस्त्रीको काम गर्यो। सुरु गरेको एक वर्षमै दोस्रोपटक बन्यो- थिएटर मलको हल। यस पटक कीर्तिपुरमा नाटक र रङ्गमञ्चको संस्कृति विकासमा जोड दियो टिमले। उनीहरु चाहन्छन् नाटक भनेको सडक नाटकमात्र होइन भन्ने बुझुन्, सय रुपैयाँ मात्र भए पनि पैसा तिरेर नाटक हेर्न आउनेहरु बढुन्, नाटकले सोच र प्रवृत्तीको सकारात्मक रुपान्तरणमा टेवा पुर्‍याओस्।

विद्यालय प्राङ्गणमा नाटकघर, टियू पनि नजिक - समूह दङ्ग छ। 'हामी टार्गेटेड अडियन्सको नजिक छौं,' उनले भने, 'त्यसैले वर्षमा दुईवटा नाटक टियू कोर्सको नाटक वा कथा रुपान्तरण गरेर बनाउने योजना छ।'

थिएटरमा नाटक मञ्चनको औपचारिक सुरुवात भयो, नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको अवसरमा।

फागुन १४, २०७५

दुई वर्षपछि रेकर्ड मेकर नाटक ‘भोको घर’ पुन: मञ्चन भयो, थिएटर मलमै।

नाटककर्मको भोकले रन्थनिएकाहरुले अर्थ अभावको भोकले रन्थनिएकाहरुको कथा भने।

सबैसँग योजनाहरुको खाका छ, चाहे त्यो नाटकको पात्र नरबहादुरको आर्थिक अवस्था सुधार्ने योजना होस् या केदार श्रेष्ठको नाटकघर स्थापनाको योजना। यहाँ हरेकसँग सपना छ। नाटककी पात्र सरिताको राजकुमारी बन्ने सपना होस् या यथार्थमा कुशल कलाकार, निर्देशक बन्ने सपना। विश्वविद्यालयको डिग्री लिएको राजेन्द्र पात्र झै रुमलिएका छन् धेरै जोसँग गर्ने भोक छ तर गर्ने अवसर छैन, ठाउँ छैन।

अनि केही टंकमान पात्रजस्ता पनि। जो सहयोगको नाममा ऋण दिन्छ, ब्याजको स्याज उठाउने ध्याउन्नमा। भनेजति पैसा नदिँदा घर निकाला गर्ने धम्की दिन्छ। काठमाडौं मलमा रहँदा रहँदै आएको नयाँ कम्पनीको प्रवृत्ती टंकमान पात्रसँग मिल्दो। जुन आयो भाडा बढायो। त्यो पनि तिर्न तयार टिमलाई पसिना, पैसा र सपना मिसाएर बनाएको थिएटर भत्काउन बाध्य पार्‍यो।

आवश्यकता, सपना, महत्वकांक्षाका होस् वा जुनै बखत निम्तिन सक्ने समस्या र दुर्घटनाको अवस्थालाई निर्देशक र कलाकारहरुले अभिनयमार्फत् उतारे। कथा हो साहित्यकार गोविन्दबहादुर मल्ल ‘गोठाले'को।

२०४६ सालको आन्दोलनमा शहीद भएका स्थानीयहरुको स्मृतिमा स्थापित गुठी रारा हिलसँग दश वर्षे लिखित सम्झौता भएको छ- थिएटर मलको। सो अवधिभर समूहले स्कूलको अतिरिक्त क्रियाकलापको जिम्मेवारी पनि सम्हाल्ने छ।

हल भएकै भवनको माथिल्लो तलामा न्यासनल चिल्ड्रेन्स थिएटर तयार हुँदैछ। त्यस्तै फाउन्डेसनकै जग्गामा एम्फी थिएटर स्थापनाको योजनामा पनि बन्दैछ। स्कूलले नै विद्यार्थीहरुको खेलकुद, कला, अभिनय लगायत क्षेत्रमा विकासका लागि यसको अवधारणा बनाएको हो। जसको निर्माण तथा सञ्चालनमा साथ रहन्छ थिएटर मल टोलीको।

'योजनाहरु धेरै छन्। पूरा गर्ने जोश पनि छ। हेरौं के हुन्छ,' उनी भन्छन्, 'किनकि थिएटर बनाउन गाह्रो छ बनाएपछि टिकाउन त्योभन्दा नि गाह्रो।'

फोटोहरु : प्रवीण रानाभाट र केदार श्रेष्ठको फेसबुकबाट।

 



थिएटर मल भत्कनु अनि थिएटर मल नै बन्नुको कथा को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट