PahiloPost

May 24, 2019 | १० जेठ २०७६


'टाटा आमा' भन्दै बाहिरिएका प्रभाकर जो कहिल्यै फर्केनन्


स्वेच्छा राउत

'टाटा आमा' भन्दै बाहिरिएका प्रभाकर जो कहिल्यै फर्केनन्

हरेक बिहान प्रभाकर केसी अफिस जान निस्कनुअघि उनकी आमा कल्पना घरको आँगनसम्म पुग्थिन्। घरमा बस्ने कसैले खाली भाडा बाहिर राखेका छन् कि भन्ने निगरानीका लागि। हिड्नु अघि खाली भाडा देख्नु अशुभको संकेत लाग्छ उनलाई। 

२०७५ फागुन १५ गते। 

प्रभाकरले बिहानै उठेर पूजा गरे। पाठ सकेर सधैं झै आमाले छानिदिएको लुगा र जुत्ता लगाए। अफिस जान तयार भए। र, जाँदाजाँदै सोधे, 'मम्मी हजुरलाई पुर्‍याएर मात्र जाउँ कि?’ 

भगवानप्रति निकै आस्था राख्ने आमा कल्पना त्यसदिन पनि ताहचलस्थित घर छेउमा भइरहेको सप्ताहमा जाने तयारीमा थिइन्। आमाले आफू घरको काम सकेर मात्र निस्कने बताएपछि उनी निस्किए। 

‘मम्मी गएँ है, टाटा भन्थ्यो मेरो छोरोले। अब कसले भन्छ?’, कल्पना भाव विह्वल अवस्थामा छिन्। भक्कानिदै गरेकी उनी पटकपटक दोहोर्‍याउँछिन्, 'दुई दिनको घामछायाँ देखाएर गयो मेरो छोरो।' 

बुधवार दिउँसो दुई बजे एयर डाइनेस्टीको नाइन एन एएमआइ कल साइनको हेलिकप्टर दुर्घटना भएको खबर आयो। विमानमा मन्त्री रवीन्द्र अधिकारीसहित ७ जना थिए। केही बेरमा नागरिक उड्डयन प्राधिकरणले पाइलटसहित सातै जनाको मृत्यु पुष्टि गर्‍यो। निश्चित भयो - अब उनी फर्कँदैनन्। बिहान आमालाई हात हल्लाउँदै भनेको ‘टाटा’ नै उनको अन्तिम बिदाई बन्यो कल्पनाका लागि। 

२०७५, फागुन १६ गते।
ताहचल, श्रेष्ठ कोलोनी मार्गको दाहिनेपट्टि एउटा गल्ली। मुल सडकबाट भित्र छिर्दा दुई घरपछि रातो रङको तीन तले घर छ। आडैमा बन्दै छ अर्को घर। चाइनिज ईंटा र टायल छापिएका छन्, सिलिङमा बत्ती फिट नगरिसकिएकाले तारहरुको तन्द्रयाङ तुन्द्रुङ देखिन्छ, बाहिरैबाट। 

आँगनमा फर्मा ठड्याएर फालिएका काठ, जस्तापाता, बालुवाको थुप्रो अनि प्रयोगविहीन सामानहरु। त्यतै कतै बाइक, स्कुटी, गाडीको घुँइचो। काठले कुँदेको मुल ढोकाबाट भित्र छिर्दा सेता तन्नाले ढाकेर म्याट्रेस बिच्छ्याइएको छ। त्यहाँ कोही बसिहालेको छैन। शून्य लाग्ने त्यो कोठा छोडेर माथि उक्लने भर्‍याङ छ। 

तेस्रो तलामाथिको एउटा कोठामा मान्छेको भिड देखिन्छ। सबैको आँखा रसाएका छन्। भुईंको एक कुनामा अर्धचेत अवस्थामा लडेकी छिन् कल्पना। छिन् छिनमा बोल्छिन्। भन्छिन्, 'किन यसरी गयौ नि बाबा। किन।' 

केही नबोल्दा एकोहोरो बर्बराउँछिन्। छेउमा बसेर सम्झाउँदै, छन् छोरा दिवाकर। दिवाकर जेठा छोरा हुन्, प्रभाकर कान्छो। दुबईमा कुकको रुपमा कार्यरत् उनी भाइको निधनको खबर सुनेपछि भोलिपल्टै नेपाल आइपुगे। 

‘नरुनु न मम्मी, म छु त। हजुर यसरी रुँदा भाइलाई गाह्रो हुन्छ, उसले हेरिरा’को छ क्या,’ उनको आँखामा पनि आँशु टल्पलाएको प्रष्ट देखिन्छ। तर, आँशु नझार्न हर कोसिस गरेका छन्। आमाको हात च्याप्प समाएर बसेका उनलाई हेर्दै कल्पना बोल्छिन्, 'मेरो एउटा आँखा यहीँ छ। अर्को खोइ? उ गएको सपना हो कि विपना हो दिज्जु?’ 

उनको प्रश्नको जवाफ नजिक बसेकी आफन्त महिलासँग सायदै थियो, त्यसैले चुप रहन्छिन्। 

पालै पालो नयाँ नयाँ अनुहारहरु देखिन्छन्। केही बोल्न सक्दैनन्। कहिले भक्कानिने अनि कहिले सुक्सुकाउने कल्पनालाई हेर्दै फर्कन्छन् वा पर बसेर हेर्छन्। 

उनीहरु बन्दै गरेको घरमा सरेको धेरै भएको छैन। फागुन दुई गतेबाट बस्न थालेका हुन्। 

उमेरले ७० वर्ष लागेकी हजुरआमा ज्ञानी केसी आडैको रातो घरको छतबाट पटकपटक नयाँ घरतर्फ हेर्छिन्। भन्छिन्, 'नसरेको भए मैले पनि हिजो नातिको मुख हेर्न पाउने रै'छु नि। जाँदाजाँदै कस्तो भएर गयो पनि हेर्न पाइँन।' बस्ने ठाउँ सरेकै कारण सधैं झै प्रभाकरले ‘गएँ है हजुरआमा’ नभनेको पनि बाह्र, तेह्र दिन भइसकेको थियो।

ज्योतिषले वैसाख लागेपछि नयाँ घरमा सर्न, विवाह गर्न हुँदैन भनेका थिए। त्यसैले फागुन दुई गते नै पूजा लगाएर बनिनसकेको घरमा बसाइ सरेको थियो प्रभाकरको परिवार। फागुनमै दिवाकर पनि फर्कने र दुवै छोराको वैसाखमा विवाह गर्ने योजना थियो। 

‘बुढाले बित्नुअघि भन्नुभाथ्यो ‘तैंले त नातिनी बुहारीहरु हेर्न पाउँलास्’,' उनी लामो सास तानेर फाल्दै भन्छिन्, 'ल अब दुवै नातिनी बुहारी हेर्न पाउने भएँ जस्तो लागेको थियो। तर दैवले नाति नै खोसेर लग्यो।' 

उनी पनि बोल्दाबोल्दै भक्कानिन्छिन्। 

बुहारीलाई थुम्थुम्याउन जान उनीसँग ताकत छैन। घर अग्लो छ, बुहारी माथिल्लो तलामा। उक्लँदा दम आउँछ। त्यसैले उनलाई भेटेर नयाँ घरमा जान लागेकाहरुलाई भनेर पठाउँछिन्, 'रुन दिनु है बा, बह पोख्न दिनुपर्छ। लडिबुडी गर्न चाहिँ नदिनु, घाउचोट लाग्न सक्छ।' 

आफूले खेलाउँदै, स्याहर्दै हुर्काएको नाति नफर्कने गरी जानुलाई उनी आफ्नो अभाग ठान्छिन्। 

सन् २०१२ मा पाइलट कोर्सका लागि प्रभाकर फिलिपिन्स गएका थिए। केही समयका लागि गएको नातिको दैनिक बाटो हेर्थिन् उनी। ६ महिना मै ६ वर्ष बितेजस्तो लागेको थियो उनलाई। ‘ठूलो भएर पढ्न गएको थियो नि। तर, हाम्रो त बच्चा नै हो। छोराको पनि छोरा कति सानो हो सोच्नु त,' नाति हेलिकप्टर चलाउन सिकेर आयो भन्ने सुन्दा चाहिँ उनी साह्रै खुशी भइन्। आखिर सधैं नातिको निधारमा टीका लगाइदिँदा उनले आशिर्वाद दिन्थिन्- ठूलो भएपछि डाक्टर, पाइलट बन्नु। 

प्रभाकरले आठ महिना श्री एयरलाइन्सको हेलिकप्टर चलाएका थिए। एयर डाइनेस्टीमा काम गर्न थालेको तीन वर्ष भयो। दुर्घटना भएको दिन बिहान उनी घरमा 'भिआइपी फ्लाइट छ' भन्दै निस्किएका थिए। सधैं अफिस पुगेर फोन गर्ने, उड्नुअघि र ल्यान्डिङपछि फोन गर्ने उनले त्यस दिन गरेनन्। आमा कल्पना पनि पूजाआजाको तयारीमै व्यस्त थिइन्। दिन धुम्म दियो। हावाहुरीपछि पानी पनि छिट्यायो। हजुरआमा भन्छिन्, 'दिन नै ठीक थिएन। त्यस्तोमा किन उडाउन गा'को होला त्यो?' 

उनी पटकपटक नयाँ घरतिर हेर्छिन्, मुर्छा परेकी बुहारीको अवस्था बुझ्न कसैलाई बोलाउँछिन् अनि सांकेतिक भाषामा सोध्छिन्, 'कस्तो छ?' 

२०७५ फागुन १७ गते।

पोस्टमार्टम ढिला हुनुले श्रद्धाञ्जली दुर्घटनाको तीन दिनपछि मात्र हुने भयो। श्रद्धाञ्जलीका लागि बिहान आठ बजेदेखि नै टुँडिखेलमा भिड लाग्न थालेको थियो। क्याप्टेन प्रभाकर, मन्त्री रविन्द्र अधिकारी लगायत दुर्घटनामा परेका सातैजनाको शव राखिएको थियो। सर्वसाधारणदेखि विशिष्टसम्म शोकसभामा पुगेका थिए। 

केहीबेरको श्रद्धाञ्जली अर्पणपछि पाँचवटा शव बोकेको गाडी अन्तिम सत्कारका लागि लगियो। सबै लासलाई क्रमैसँग राखियो, भित्तामा नाम अंकित फोटोसहित। त्यहाँ पनि श्रद्धाञ्जली दिन आउनेहरु धेरै थिए।

पहिलो चितामा प्रभाकरको शव राखिएको थियो। जो पनि आउथे, भित्तामा हेर्थे, नाम पढ्थे, क्याप्टेन प्रभाकर लेखेको देखेपछि लासतर्फ फर्किएर नमस्कार गर्थे। कोही रुँदै थिए, कोही आफन्तलाई सम्हाल्दै थिए। साथी भाइ, आफन्त, छर छिमेकले हेर्दाहेर्दै माहोल फेरियो। बुबा प्रह्लादले दागबत्ती दिने समय भयो। प्रभाकरका साथीहरु रुन थाले, रुँदै नारा लगाउन थाले- प्रभाकर केसी अमर रहोस् अमर रहोस्। 

यतिन्जेल सम्हालिएका बुबा प्रह्लादले उनीहरुको आवाज सुन्दा आफैलाई सम्हाल्न सकेनन्, आँशु बरर झार्दै रुन थाले। उनका दाजुभाइहरुले समातेर दागबत्ती दिन अघि सराए। 

अहिले सेतो तन्ना ओच्छाएको त्यो म्याट्रेसमा प्रभाकरको बुवा, आमा, दाइ भेटिन्छन्। समवेदना दिन पुगेकाहरु पनि वरपर मौन मुद्रामा देखिन्छन्। बुबा प्रह्लाद किरिया बसेका छन्। उनको आँखा रसाएका, राता अनि सुन्निएका प्रष्ट देखिन्छ, देख्ने बित्तिकै बोलाइ हाल्न गाह्रो लाग्नेगरी। 

प्रह्लादकी फूपु शशी बुढाथोकी भन्छिन्, 'यस्तो पीरको समयमा केही भन्न पनि गाह्रो सोध्न पनि गाह्रो।' 

बरु आमा कल्पना केही सम्हालिएकी छिन्। 'भाउजुले मन बुझाउने कोसिस गर्नुभएको छ,' शशी भन्छिन्, 'दाइ र ठूलो भदालाई सम्झाउनु हुन्छ। अनि छिनछिनमा प्रभाकरले यस्तो गर्थ्यो, उस्तो गर्थ्यो  भन्नु हुन्छ।' 

घरमै किरिया बसे पनि संस्कार अनुसार नुहाउन भने परिवार छाउनी संग्राहलय नजिक ढुङ्गेधारामा जान्छ। पहिलो दिन नुहाउन जाँदा काज किरिया अनुसार गाईको गोबरको गुँईठो बाल्नु पर्ने चलन छ। वरपर गाई नभएकाले उपलब्ध थिएन। तर, नुहाउन जाँदाजाँदै बाटोमा सुकेको गुँईठो भेटिएको थियो। त्यसलाई उनी प्रभाकरको लच्छिन हो भन्छिन्।

'मेरो छोरो लक्ष्मीजस्तै थियो मैयाँ, बोली व्यवहार, काममा मिहेनत सबैमा लच्छिनको थियो,' प्रभाकरकी आमा आफ्नी नन्द शशीसँग बोल्छिन्। भन्छिन्, 'टाटा ममी भनेर गयो। फर्केर आउँदिन भनेन। अहिले मलाई एउटा आँखाको नानी झिकेकोजस्तै भएको छ।' 

दिवाकर आमालाई हेर्न सक्दैनन्, रसाएको आँखाले वरपर अन्तै हेरेजस्तो गर्छन्। 



'टाटा आमा' भन्दै बाहिरिएका प्रभाकर जो कहिल्यै फर्केनन् को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट