PahiloPost

Mar 21, 2019 | ७ चैत्र २०७५

ज्यान हत्केलामा राखेर पनि नाट्य संघर्ष : विस्फोटकै बीच अफगानीको कलात्मक विद्रोह


स्वेच्छा राउत

ज्यान हत्केलामा राखेर पनि नाट्य संघर्ष : विस्फोटकै बीच अफगानीको कलात्मक विद्रोह

सन् २०१४ डिसेम्बर ११। इन्स्टिच्युट फ्रान्साइस (फ्रान्सेली केन्द्र) अफगानिस्तान, काबुल। 

नाटक 'हर्ट बीट : साइलेन्स आफ्टर दि एक्सप्लोजन' मञ्चन हुँदै थियो। नाटक हेर्नका लागि काबुलस्थित फ्रान्सेली केन्द्रको हल खचाखच थियो, करीब चार सय दर्शकसहित। ६ महिना लामो तयारी, प्रचारप्रसार अनि मञ्चन।

तालिवानी विद्रोही समूहको दबदबा रहेको काबुलमा बम विस्फोटनविरुद्ध थियो, नाटक। जुन विषय नाटकमा उठाउनु नै जोखिमको कारण बन्यो।

अजदर थिएटर समूहले बम विस्फोट भएपछिको मुर्दा शान्तिलाई चित्रण गर्दै थियो, त्यो अवस्था जसमा उनीहरुको बढेको ढुकढुकी केही साम्य भएको हुन्छ। डर कम भएको हुन्छ, मर्ने र घाइते हुने बाहेकका धेरैमा बच्नु र बाँच्नुको खुशी हुन्छ। 

नाटक मञ्चन सुरु भयो। मञ्च उज्यालियो, दर्शकदीर्घा अध्याँरियो। कलाकारहरु मञ्चमा देखिएसँगै ताली र सिठ्ठीको आवाज चर्को सुनियो। कथा अघि बढ्न थाल्यो। करीब तीस मिनेट भइसकेको थियो, दर्शकको संवेदना नाटकको कथासँग जोडिएको। सबै व्यग्र प्रतीक्षामा थिए, कथाले अब कुन मोड लिन्छ भन्नेमा।

अचानक हलको पछिल्लो भागबाट अस्वभाविक लाग्ने आवाजसहित आगोको ज्वाला देखियो। हलभरि धुँवा फैलियो, केही हेर्न नसकिने गरी। मञ्चबाट नजिक बस्ने कोहीकोही कराएका पनि थिए, 'नाटककै डिजाइन जस्तो छ।' तर, उनले अरु अनुमान लगाउनु अघि नै हलको सिलिङ गम्रङ्ग खस्यो, मानिसहरु रुँदै कराउँदै भागदौड गर्न थाले।

एक १६ वर्षीय किशोरले आत्मघाती बम हमला गरेका रहेछन्, नाटकघरमा। प्रत्यक्षदर्शी रहेका करिम असिरका अनुसार घटनामा एकजना जर्मनी नागरिकसहित ५ जना अफगानीले ज्यान गुमाए। उपस्थित प्राय घाइते भएका थिए। करिम पनि घाइतेमध्ये एक हुन्। उनको पाखुरामा निकै गहिरो चोट लागेको थियो। 

'हामी भाग्यमानी रहेछौं, अध्यारोका कारण बमधारीले अगाडि जाने बाटो देखेन। त्यसैले ढोका नजिकको कुनै कुनामा अलमलियो,' उनी जिउँदो रहनुमा धन्य सुनिन्छन्।

आक्रमण भएको केही घण्टामै विद्रोही समूह तालिवानका तत्कालीन प्रवक्ता जबिहुल्ला मुजाहिदले घटनाको जिम्मेवारी लिए। 'अफ्गानिस्तानमा आएर तालिवानी विरुद्ध बोल्ने पश्चिमाहरुलाई निरुत्साहित पार्न हमला गरेका हौं,' उनको भनाइलाई सीएनएनले उद्घृत गरेको छ। नाटकमा फ्रान्सेली केन्द्रसँगै जर्मन संस्थाको पनि सहयोग थियो।

अफगानिस्तानमा नाट्य समूहहरु छन्, नाटकघर छैन। अफगानिस्तान नेशनल थिएटर सबै कलाकार, समूह र दर्शकका लागि खुला रहँदैन। त्यसैले नाट्य समूहले फ्रान्सेली केन्द्रले देखाउन चाहेको विषयमाथि नाटक बनाउँदै केन्द्रको हलमा मञ्चन गर्दै आएका थिए। 

उक्त घटनापछि फ्रान्सेली केन्द्रको हल पनि बन्द भयो। नाटक देखाउन छोडियो। अफगानिस्तानमा नाटक र कलाका अन्य विधाका पक्षमा उभिएकाहरुको दैनिकीमा साँच्चै ठूलो सन्नाटा छायो, मुर्दा शान्ति। तीन महिनासम्म त नाटकसँग जोडिएका कुनै गतिविधि भएन। मञ्चन सकिए लगत्तै हुने भनिएको त्यहाँको राष्ट्रिय नाट्य महोत्सव पनि भएन। तालिवानीको धम्की जारी थियो। मञ्चमा उक्लिए मारिने कलाकारलाई डर थियो। 

'ठाउँ खोज्दै बनाउँदै हिँडेका हाम्रा लागि भइरहेको हल गुम्नु ठूलो क्षति थियो,' नाटक 'हर्ट बीट'का सात जना कलाकारमध्येका एक एड्रिस फख्रीले सुनाए, 'नाटकले उठाएको विषय उचित थियो। धेरैको संवेदना छुन्थ्यो। तर, त्यसबारे प्रचारप्रसार गर्नु ठूलो गल्ती भयो।' 

नाटकको पोस्टरमा नाटक हुने ठाउँ र समयसँगै नाटकको 'प्लट' पनि उल्लेख हुनुले तालिवानीलाई आक्रमणका लागि निम्ता दिए झै भएको उनको बुझाइ छ।

घटनाले यो समूहको नाटक तयार पार्ने र मञ्चन गर्ने हुटहुटी भने थामिएन। त्यसैले तालिवानी समूहबाट सुरक्षित काबुल विश्वविद्याल परिसरमा नाटक देखाउन थाले। विश्वविद्यालयको थिएटर विभागमा वार्षिक क्यालेन्डरमा 'स्टुडेन्ट थिएटर फेस्टिभल' हुने गर्छ। तर, सधैं विश्वविद्यालयभित्रै रहेर काम गर्न सम्भव थिएन। त्यसपछि कलाकारहरु नाटक लिएर गाउँगाउँ हिँड्न थाले। खुला चौर उनीहरुको मञ्च बन्न थाल्यो। उनीहरु जहाँ जान्थे आतंकवादको डर र भय उनीहरुसँगै जान्थ्यो। भयको राज कायमै थियो। 

एक पटक नाटक 'आवर सिटी, आवर होम' मञ्चनका लागि करिमको पर्वाना नाट्य समूह हेलमन्ड प्रदेश पुगेको थियो। नाटक मञ्चन भइरहेको ठाउँबाट करीब एक किलोमिटर टाढा रकेट बम बज्रियो। सबै भाग्न थाले। तर, कलाकारले भने नाटक मञ्चन गर्न छाडेनन्। केही बेरमा सुरक्षाकर्मी आए र उनीहरुलाई लक्षित गरी बम प्रहार भएको जानकारी दिए। 

'हामीलाई त्यहाँबाट स्कटिङ गरेर सुरक्षित ठाउँ पुर्‍याइयो,' करिमले सम्झिए। 

नृत्य, संगीत, अभिनय आदिलाई मुस्लिम धर्म विरुद्धका कार्यको रुपमा व्याख्या गर्छन्, तालिवानी। त्यसैले कति पटक त उनीहरुले संगीत, गीत र नृत्यको प्रयोग नै नगरी पनि नाटक देखाएका छन्। 

करिम भन्छन्, 'धर्म, संस्कृति र नैतिकताका विरुद्ध हामी पनि होइनौं। तर, हामी हाम्रो कथा भन्न चाहन्छौं। कथा भन्ने सशक्त माध्यम नै कला हो।' 

त्यही माध्यम विरुद्ध छन् तालिवानी। 

*** 

स्वतन्त्रता तर्फ...

युद्धका क्रममा पस्तुन जातिको तालिवानी फवादले दुश्मन अर्थात् हजारा जातिका जैनवलाई अर्धचेत अवस्थामा भेट्छन्। दुश्मन भए पनि फवादले जैनवलाई मार्दैनन्। बरु उद्धार गरेर आफ्नै सेनाहरुबाट जोगाएर राख्छन्। प्वालै प्वाल भएको बाकसमा लुकाइएको हुन्छ, जैनवलाई।

बाकस निरंकुशताको प्रतीक हो जहाँ एउटा पात्र बन्दी छिन्। उनी प्वालबाट वरपरका घटनाक्रम नियाल्छिन् तर निस्किन सक्दिनन्। फवाद आफूलाई तालिवानी समूहले दिएको खाना लिएर आउँछन्, सचेत रहेर बाकस खोल्छन् र जैवनलाई खान दिन्छन्। दैनिकी यसरी नै चल्छ। रहँदा बस्दा यी दुई एकअर्कालाई प्रेम गर्न थाल्छन्।

फवादले आफ्नो प्रेम व्यक्त गर्छ, जैवनसँग विवाह गर्ने सपना बुन्छ। जसका लागि उ खतरा मोल्न तयार हुन्छ। जैनवले पनि फवादको इमान्दारिताको खुलेर प्रशंसा गर्छिन्। तर, विवाह गर्न राजी भइहाल्दिनन्। 

नाटक 'ता रेहाए' अर्थात् स्वतन्त्रता तर्फको घटनाक्रम हो यो। नाटकले सबै तालिवानी खराब हुँदैनन्, उनीहरुको आफ्नै पीडा छ, बाध्यता छ भन्ने संदेश बोकेको छ। नाटक निर्देशन गरेका हुन् एड्रिस फख्रीले। एड्रिस तिनै निर्देशक हुन् जसको नाटक फ्रान्सेली केन्द्रमा भएको आक्रमणका कारण रोकिएको थियो। 

'हो अफगानस्तानमा हिंसा छ, आतंक छ। ती आतंकबीच पनि हाम्रो देशमा जिवित कथाहरु छन्, कला छ भन्ने बुझाउन चाहन्छु,' एड्रिस सुनाउँछन्। एड्रिस

उनी आफ्नो देशको कथा देखाउने क्रममा नेपाल आइपुगेका हुन्। नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा 'ता रेहाए' दुईपटक मञ्चन भयो। थिएटर मल र शिल्पी थिएटरमा। नाटक मञ्चन र दर्शक प्रतिक्रियाले दङ्ग देखिएका उनको समूहको यात्रा भने सहज रहेन। 

'अफगानी हौं भन्नेबित्तिकै हाम्रो दोहोर्‍याएर जाँच गरियो। अरु देशकालाई भन्दा बढी कागजपत्र मागियो, सबैले भन्दा बढी चेक प्वाइन्ट हामीले काट्नु पर्‍यो,' व्यङ्ग्यात्मक हाँसोसँगै भने, 'तर यो सब हाम्रा लागि नौलो विषय होइन। विश्वमा हाम्रो देशबारे छाप नै यस्तो परेको छ। अनि हामी नाटकको माध्यमबाट यही छाप मेट्न चाहन्छौं। विश्वले हाम्रो देशलाई हेर्ने दृष्टिकोण फेर्न चाहन्छौं।' 

कथा भन्दै लड्नेहरुको कथा
एड्रिस रङ्गकर्ममा लागेको १४ वर्ष भयो। नाटककर्ममा लाग्नकै लागि उनले ठूलै संघर्ष गर्नुपरेको छ। 

उनका बुबा वकिल हुन्। राजनीतिक गतिविधिमा पनि सक्रिय छन्। त्यसैले बुबा चाहन्थे, छोरा पनि वकिल नै बनोस्। तर, सानैदेखि बलिउड फिल्म खुब हेर्ने एड्रिस सलमान खानका फ्यान थिए। उनी कल्पिन्थे ठूलो भएर फिल्म खेल्ने, स्क्रिनमा देखिने। 'कतिपटक त ऐनालाई टिभी मान्थेँ अनि त्यसको अघि उभिएर अभिनय गर्थेँ,' उनी नोस्टाल्जिक हुन्छन्।

अभिनयको भोकलाई मेट्न उनले काबुल विश्वविद्यालयमा फाइन आर्टस् अन्तर्गत थिएटर पढ्ने निर्णय गरे। परिवारले उनको निर्णय सरासर अस्वीकार गर्‍यो। तर, उनी रोकिएनन्। थिएटर पढ्न सुरु गरे। उता बुबाले 'कलेज फी' तिर्न बन्द गर्दिए। पढाइको दोस्रो वर्षमा पुगेपछि भने उनले हाँस्य टेलिश्रृङ्खलामा काम गर्न थाले। त्यसमा उनले निभाएको भूमिकाले चर्चा कमायो। उनको आमा खुशी भइन्। बिस्तारै उनले 'कलेज फी'का लागि पैसा दिन थालिन्, बुबाको आँखा छलेरै।

'बुबाले चाहिँ अझै स्वीकार गर्नु भएको छैन। सायद उहाँलाई डर छ, छोरो मारिन्छ भन्ने,' बुबाले नाट्यकर्म नस्वीकार्नु बारे बोल्छन्, 'मैले गर्ने नाटकको विषय नै मेरो मृत्युको कारण नबनोस् भन्ने डर होला सायद्। सामाजिक, राजनीतिक अस्थिरतासँगै अस्थिर छ कलाकारको अवस्था।'

ज्यानको असुरक्षासँगै रङ्गमञ्चमा कमाइ राम्रो छैन। समाजले हेर्ने दृष्टिकोण पनि सकारात्मक छैन। तर, उनी प्रतिवद्ध छन्, आफ्नो कर्ममा। भन्छन्, 'म नाटकलाई नै माध्यम बनाएर यस्ता भ्रमहरु चिर्न चाहन्छु। बुबाको डरसँग लड्न पनि।' 

एड्रिस नाटक गर्छन्, स्वयं निजी कलेजमा अभिनय पढाउँछन् पनि। व्यवसायका लागि जिमखाना पनि खोलेका छन्। 

करिम असिर ता रेहाएका साउन्ड डिजाइनर हुन्। एड्रिसले दारी भाषामा आफ्नो कुरा राख्छन्। करिम त्यसलाई अङ्ग्रेजीमा अनुवाद गर्छन् र एड्रिसले बोलेको विषयमा आफ्नो अनुभव वा विचार सुनाउँछन्। भन्छन्, 'मलाई चाहिँ थिएटरकै कामहरुबाट हुने कमाइले पुगेको छ।' 
उनी विभिन्न संस्थाहरुको प्रायोजन र नेतृत्वमा चेतनामूलक वा सामाजिक रुपान्तरण केन्द्रित नाटकहरु लिएर विभिन्न प्रदेश, गाउँ, शहर पुग्छन्। अन्य नाट्य समूहका लागि पनि साउन्ड, लाइट डिजाइन गर्छन्। 

अफगानिस्तानमा टिकट सेल्सबाट चाहिँ आम्दानी हुँदैन। किनकि, पैसा तिरेर नाटक हेर्ने दर्शक छैनन्। 
करिम टिकट काटेर नाटक हेर्ने संस्कृति विकास गर्न चाहन्छन्। करिम

गत वर्ष उनी नेपाल आएका थिए। काठमाडौंमा ब्ल्याक बक्स थिएटरहरु देखे। ती नाटक घरहरुमा पैसा तिरेर नाटक हेर्ने दर्शकको भिडले उनलाई चकित बनायो। फर्कँदा अफगानस्तानमा पनि निजी ब्ल्याक बक्स थिएटर स्थापनाको योजना बनाएका थिए। उता सरकारको सम्बन्धित निकायसँग आफ्नो योजनासहित सहयोग आह्वान गरे। तर, सुरक्षा थ्रेटकै कारण सहयोग भएन। भन्छन्, 'त्यो बेला म फ्रस्टेट भएँ। काम गर्न छाडिदिन्छु भन्ने निर्णयसम्म गरेँ। तर, बाह्र वर्ष थिएटर गरेको म रमाउन सक्ने अरु क्षेत्र रहेनछ। मैले राज्यको यस्तो असहयोगलाई प्रहार गर्न सक्ने माध्यम पनि नाटक मात्रै रहेछ।' 

नाटकमा निरन्तर लागेका यी पात्रहरुले विभिन्न चुनौतीको सामना गर्नुपर्छ। आर्थिक अभाव, असुरक्षा, अपमान सूची लामो बन्नसक्छ। तर, 'जे छ त्यो कम होइन' भन्ने कुरा आत्मसात् गरेर अघि बढेका छन्। 

राजनीतिक अस्थिरतासँगै धार्मिक मान्यताले पनि कलाको यो विधामा लाग्न निरुत्साहित पारेको छ धेरैलाई। 

ता रेहाएका मुख्य कलाकार रहेका ओमार नाउँछन्, 'पुरुषका लागि परिवार उदार बनिदिए पुग्छ। तर, अभिनयको रहर र क्षमता भएका महिलालाई धार्मिक र जातीय मान्यताको बहाना गरेर रोकिन्छ। जति आएका छन्, तिनले विद्रोह गरेका छन्।' फराहमद

तिनै क्रान्तिकारीमध्ये दुई हुन्, जमिला मोहम्मदी र फ्रिबा नबिजदाह। उनीहरु महोत्सवका लागि नेपाल आए। नाटक 'ता रेहाए'का कलाकार र कस्ट्युम डिजाइनरका रुपमा नेपाल आएका हुन्। 

जमिलाले नाटकमा हजारा जातकी युवतीको भूमिका निर्वाह गरेकी छिन्। त्यसो त उनी त्यही जातकी हुन्  जुन अफगानस्तानको सीमान्तकृत मानिन्छ। यस समुदायका महिलाहरु अन्य जातका महिलाभन्दा बढी दबिएका हुन्छन्। समुदायमा अहिले पनि महिलालाई बाहिर निस्कन नदिने, अनुहार देखाउन नहुने प्रचलन कायम छ।जमिला

जमिलाको परिवार चाहन्थ्यो समुदायका अन्य युवतीको जस्तै उनको विवाह चाँडै होस्। तर, उनले पढाइका लागि परिवारलाई मनाइन्। फक्रीकै लागि जस्तो उनलाई पनि थिएटर पढ्न भने बेग्लै संघर्ष गर्नु पर्‍यो। किनकि परिवार उनलाई धार्मिक मान्यताविरुद्ध नाच्दै, गाउँदै अभिनय गरेको देख्न चाहँदैन थियो। उनीसँग दुईवटा विकल्प थिए। पहिलो विवाह गर्ने, दोस्रो पत्रकारिता पढ्ने। यी दुवै उनको रुचीको विषय थिएन।

उनी परिवार र समाजको प्रश्नहरुसँग लड्ने दृढतासहित नाटकमा लागिन्। 'समाज त छोरी मान्छे अघि बढेको सहनेवाला छैन। तर, म उनीहरुको हर प्रश्न र प्रहार सहन तयार छु,' उनी निडर सुनिइन्।

फ्रिबा नबिजदाहको संकल्प थियो- बाबालाई आफू अभिनित नाटक देखाउने। 

चार वर्षअघि उनको बुबाको निधन भयो। फिब्राको संकल्प पूरा भएन। उनका बुबाले जिन्दगीको अन्तिम घडीसम्म पनि छोरीको नाटक मोह स्वीकारेनन्। फिब्रा सरकारी मिडियाका लागि लेख्छिन् पनि। राम्रो कमाइ पनि हुन्छ। खाली समय नाटक गर्छिन्, यी सबैबीच पनि बुबा उनको कामप्रति खुशी भएनन्। 

‘बुबा त मैले अभिनयको सट्टा संगीत रोजेको भए पनि खुशी हुनु हुन्थेन। युनिभर्सिटीमा विषय छान्दा म अल्मलिएको थिएँ। अन्तत: मैले आफू खुशी हुने र राम्रो काम गरेर बुबालाई खुशी बनाउने बाटो रोजेँ। दुर्भाग्य मेरो बुबाले मेरो अभिनय देख्न पाउनु भएन,’ उनले भनिन्।

फ्रिबा

सात वर्षअघि पहिलो नाटकमा मुख्य पात्र थिइन् उनी। नाटक हेर्न उनको हजुरबुबा, हजुरआमा उपस्थित थिए। त्यस दिन नाटक सकिएपछि हजुरबुबाले बोलेको सम्झन्छिन्- तिमी आफूले चाहेको काम गर्नु। तर, तिम्रो कामले सकारात्मक परिवर्तनमा भूमिका खेल्नुपर्छ। 


*** 
मार्च २, २०१९। शिल्पी थिएटर, काठमाडौं। 

नाटक ‘ता रेहाए’ मञ्चन भयो। नेपालमा नाटकको दोस्रो सो। नाटक दारी भाषामा थियो। दर्शकको सहजताका लागि भित्तामा अङ्ग्रेजी ‘सबटाइटल’को प्रयोग भयो। सबटाइटलविना पनि नाटकको भाव बुझ्न सकिन्थ्यो, सायद। तर, प्रयोग संवादले दर्शकलाई अफगानी पात्रहरुको यथार्थ कथासँग निकट बनाइदियो। दर्शक प्रष्ट भए निर्देशकले दिन खोजेको संदेश बारे - सबै तालिवानी खराब हुँदैनन्, सबै रहरले तालिवानी बन्दैनन्। उनीहरुको बेग्लै बाध्यता छ। उनीहरुमा पनि प्रेमभाव छ, दया छ। 

नाटक भएकै साँझ समाचार सार्वजनिक भयो -  अफगानस्तान हेलमन्ड प्रदेशको सोरब मिलिटरी बेसमा तालिवानी आक्रमण, २३ अफगानी सेना मारिए, १५ भन्दा बढी घाइते।

खबर सुनेर केही बेर मौन रहे निर्देशक एड्रिस। हातको मोबाइल व्यवस्थापक करिमलाई दिँदै बोले, 'मेरो अर्को ठूलो इच्छा- टिभी, इन्टरनेट र पत्रिकामा हेरेर कसैले पनि मेरो देशबारे धारणा नबनाउन्। बरु युद्ध सकियोस् भन्ने कामना गरुन्। किनकि हेर्नेलाई भन्दा सहनेलाई धेरै गाह्रो छ। सहनेहरु युद्धको अन्त्य चाहन्छन्।'



ज्यान हत्केलामा राखेर पनि नाट्य संघर्ष : विस्फोटकै बीच अफगानीको कलात्मक विद्रोह को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट