PahiloPost

May 20, 2019 | ६ जेठ २०७६


६ विषय सुनाउँदै प्रधानमन्त्रीले भने जनमत संग्रह हुन पनि सक्छ, यो अलोकतान्त्रिक विषय हैन (भिडियो)


६ विषय सुनाउँदै प्रधानमन्त्रीले भने जनमत संग्रह हुन पनि सक्छ, यो अलोकतान्त्रिक विषय हैन (भिडियो)

काठमाडौं:  प्रधानमन्त्री केपी शर्मा ओलीले जनमत संग्रह अलोकतान्त्रिक विषय नभएकोले निश्चित विषयमा जनमत संग्रह हुन पनि सक्ने बताएका छन्।

राष्ट्रिय सुरक्षा परिषदको सचिवालयको १८ औं बार्षिकोत्सवलाई आज सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री एवं परिषदका अध्यक्ष ओलीले कुनै समयमा जनताले चाहेमा जनमत संग्रह हुनसक्ने भन्दै ६ विषय सुनाए-

•             सार्वभौमसत्ता भित्रका,

•             स्वाधीनताभित्रका,

•             भौगोलिक अखण्डताको दायराभित्रका, त्यसमा प्रश्न नउठ्ने खालका

•             साम्प्रदायिक विद्वेष नमच्चिने खालका,

•             राष्ट्रिय एकताको पक्षका,

•             लोकतन्त्रका पक्षका 

‘(यी विषयमा) जनमत संग्रह हुन पनि सक्छ’, प्रधानमन्त्रीले भने, ‘जनमत संग्रह अलोकतान्त्रिक विषय हैन। कुनै भ्रम राख्नुपर्ने आवश्यकता छैन।‘

उनले भने, ‘कसैकसैले जनमत संग्रह भन्ने शब्द उच्चारणै गर्न नहुने जस्तो गरी कुरा गरेको पनि सुन्छु। जनमत संग्रह लोकतान्त्रिक अभ्यासको एउटा उच्च रुप हो।‘

स्वतन्त्र मधेस गठबन्धनसित शुक्रबार राजनीतिक सहमतिको घोषणा लगत्तै सीके राउतले सरकार जनमत संग्रहको लागि तयार भएको प्रचार गर्दै आएको छ।

तर प्रधानमन्त्रीले कार्यक्रममा भने, ‘पृथकतावादी धारणा राखिरहेको समूहलाई राष्ट्रिय राजनीतिक धारामा ल्याउन जुन सहमति गरेको छ,  त्यस सहमतिमा जनमत संग्रह भन्ने शब्द छैन। किन छैन भने जनमत संग्रहको शब्द र प्रसंग नै यससँग जोडिँदैन।‘

११ बूँदे सहमतिको बूँदा नम्बर २ मा ‘नेपालको संविधानमा प्रयुक्त जनतामा निहित सार्वभौम अधिकारको प्रयोग गर्दै तराई-मधेस लगायत देशका कतिपय स्थानमा रहेका असन्तुष्टिहरुलाई जनअभिमतमा आधारित लोकतान्त्रिक विधिबाट समाधान गर्न सहमत भएका छौं’ उल्लेख छ।

‘जनअभिमतमा आधारित लोकतान्त्रिक विधि’ शब्दलाई राउतले राज्य जनमत संग्रहका लागि सहमत भएको प्रचार गर्दैछन्।

प्रधानमन्त्री कै सामु शुक्रबार राष्ट्रिय सभा गृहमा आयोजित सहमति घोषणा कार्यक्रममा राउतले भनेका थिए, ‘हाम्रो माग नै के थियो भने अब कि बार एक ही माग जनमत संग्रहका। राज्यपक्षले जनतामा निहीत रहेको त्यो सम्प्रभुता र सार्वभौमिकतालाई स्वीकार गर्दै यही वार्ताको प्वाइन्ट नम्बर २ मा उहाँहरुले स्वीकार गर्दै हामीलाई राजनीतिक स्पेस दिनुभएको छ कि जे चाहिन्छ त्यो जनमतबाटै जनताले लिए हुन्छ।‘

प्रधानमन्त्रीले सो कार्यक्रममा यसबारे केही नबताए पनि आजको कार्यक्रममा भने, ‘राष्ट्रको अस्तित्वमा, राष्ट्रिय एकतामा, जनताको सार्वभौमसत्ताको प्रश्नमा, राष्ट्रको सार्वभौमसत्ताको प्रश्नमा अथवा स्वाधीनताको प्रश्नमा जनमत संग्रह हुँदैन।’ 

नेपालको संविधानको धारा २७५ मा जनमत संग्रह सम्बन्धी व्यवस्था छ।  ‘राष्ट्रिय महत्वको कुनै विषयमा जनमत संग्रहबाट निर्णय गर्न आवश्यक छ भनी संघीय संसदमा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको दुई तिहाइ सदस्यको बहुमतबाट निर्णय भएमा त्यस्तो विषयमा जनमत संग्रहबाट निर्णय लिन सकिने’ व्यवस्था संविधानमा छ।

प्रधानमन्त्री ओलीले पृथकतावादी समूह सानो भएपनि त्यो विशाक्त हुने भएकोले त्यसलाई नियन्त्रण गर्नु सरकारको दायित्व भएको स्पष्ट पारे। ‘पृथकतावाद सानो भए पनि त्यो घातक हुन्छ। त्यसैले यसलाई सरकारले महत्व दिएर नै निस्तेज पारेको हो,’ प्रधानमन्त्री ओलीले भने, ‘राष्ट्रिय अखण्डताका विषयमा जनमत संग्रह हुनै सक्दैन। यस विषयमा कसैले चिन्ता नगरे हुन्छ।‘

प्रधानमन्त्री ओलीले पृथकतावादको अन्त्य हुंदा एकथरी मान्छे मुरमुरिएको देखेर आफू आश्चर्यमा परेको बताए। ‘नेपालबाट पृथकतावादी गतिविधि निस्तेज हुँदा एकथरी मान्छेहरु पानी बिनाको माछा जस्तै भुटभुटिएका छन्,’ प्रधानमन्त्री ओलीले भने।



६ विषय सुनाउँदै प्रधानमन्त्रीले भने जनमत संग्रह हुन पनि सक्छ, यो अलोकतान्त्रिक विषय हैन (भिडियो) को लागी १ प्रतिक्रिया(हरु)

Narayan Manandhar [ 2019-03-12 08:07:51 ]
There is no doubt that the Oli Government should be credited for negotiating with CK Raut. However, the problem with KP Sharma Oli is his big foul mouth. Definitely, people get confused when he use the opportunity to taunt RaJaPa for withdrawing its support to the government and charging Bipalav as a "group of looters". Given his unwanted, undisciplined, unsolicited comments, he is not going to be a good politician.

   हालसम्म ० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट