PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

विप्लवसँग वार्ताको माग गर्दै बालुवाटार पुगेकालाई प्रधानमन्त्रीको प्रश्न:  जहाँजहाँ धेरै पैसा छ, त्यही बम हान्नेसँग के-को वार्ता?



विप्लवसँग वार्ताको माग गर्दै बालुवाटार पुगेकालाई प्रधानमन्त्रीको प्रश्न:  जहाँजहाँ धेरै पैसा छ, त्यही बम हान्नेसँग के-को वार्ता?
फोटो: PMO

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसा र  बिस्फोटबाट आतंक मच्चाएर लुटपाट गर्ने समुहसँग सरकारले वार्ता नगर्ने बताएका छन्।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले चन्दा तथा आतंक बढाउँदै लगेको भन्दै सुरक्षाको माग गर्दै बालुवाटार पुगेका वैदेशिक रोजगार व्यावसायी संघको टोलीसँग यस्तो बताएका हुन्।

फागुन २४ गते संघका अध्यक्ष रोहन गुरुङको घरमा बम हानेको बिषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गर्न संघको टोली बालुवाटार पुगेको थियो।

बालुवाटरमा पुगेको टोलीले विप्लव समूहको चन्दा तथा आतंक रोक्न आग्रह गरेका थिए। भेटमा प्रधानमन्त्री ओलीले बम पड्काउने र पैसा असुल्नेहरुसँग वार्ता गर्नुको औचित्य नभएको बताएका हुन्।

‘कतिपयले वार्ता गर्नुपर्‍यो भन्छन् तर के का लागि वार्ता गर्ने?’ उनले प्रश्न गरे, ‘उनीहरुले गरेका क्रियाकलाप राजनीतिक हुन्? बम पड्काउने, आतंकित पार्ने ,पैसा असुल्ने कुरा राजनीति हुनै सक्दैन। जहाँजहाँ धेरै पैसा छ भन्ने लाग्छ त्यही बम हान्नेहरुसँग के को वार्ता?’

प्रधानमन्त्री ओलीले विप्लव समूहलाई कानुनबमोजिम नियन्त्रणमा लिने दाबी गरे।

उनले विप्लव समूहलाई गिरोहको संज्ञा दिँदै कम्यूनिष्टका नाममा घिनलाग्दो काम गरिरहेको बताए। ‘कम्यूनिष्टले त यूवाहरुलाई कर्मठ र कर्मशिल हुन सिकाउँछ। सही बाटोमा हिडाँउन र उत्पादनमा लाग्न सिकाउँछ,’ उनले भने, ‘यहाँ त कम्युनिष्टको नाममा युवालाई लुट्न सिकाइरहेका छन्। यो हुन सक्ने कुरा होइन।’

प्रधानमन्त्री ओलीले अध्यक्ष गुरुङको घरमा भएको बिस्फोट प्रति दुःख व्यक्त गर्दै घटनाको बारेमा सरकारले छानविन गर्ने प्रतिवद्धता व्यक्त गरे।

वैदेशिक रोजगार व्यवसायहीहरुले विष्पोटबाट भएको क्षतिपूर्ती दिनसमेत सरकारसँग माग गरेका छन्। व्यवसायीहरुको टोलीले विस्फोटको जिम्मा लिने नेकपासँग वार्ता गरी समस्या समाधान गर्न अनुरोधसमेत गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell