PahiloPost

Mar 24, 2019 | १० चैत्र २०७५

युके, आयरल्यान्ड र जर्मनीसँगै बोइङ ७३७ म्याक्स आफ्नो आकाशमा प्रतिबन्ध लगाउने देश ११ पुग्यो, नेपालले के गर्छ?


वसन्तराज उप्रेती

युके, आयरल्यान्ड र जर्मनीसँगै बोइङ ७३७ म्याक्स आफ्नो आकाशमा प्रतिबन्ध लगाउने देश ११ पुग्यो, नेपालले के गर्छ?

काठमाडौँ : पाँच महिना नहुँदै अमेरिकी कम्पनी बोइङको ७३७ म्याक्स ८ मोडलका दुई वटा विमान दुर्घटना भएपछि ११ वटा देशले आफ्नो आकाशमा यो मोडलको विमान उड्न प्रतिबन्ध लगाएको छ। 

पछिल्लो समय युके, जर्मनी, आयरल्यान्ड र सिंगापुरले यो विमान आफ्नो आकाशमा उड्न नपाउने गरी अस्थायी प्रतिबन्ध लगाएको हो। 

एक नेपालीसहित १५७ जनाको मृत्यु हुने गरी इथियोपियन एयरलाइन्सको विमान इथियोपियामा दुर्घटना भएपछि प्रतिबन्धको यो लहर चलेको हो।पाँच महिनाअघि पनि यही मोडलको थाइ लायन एयरको नयाँ विमान दुर्घटना भएको थियो।  

कुन कुन देश र एयरलाइन्सले उड्न रोक लगाए?

युके

युकेको नियामक निकायले बोइङ ७३७ म्याक्सलाई उड्न, अवतरण गर्न र आफ्नो एयरस्पेसमा ट्रान्जिट गर्न नदिन निर्देशन दिएको छ। 

आयरल्यान्ड

आयरल्यान्डले बोइङ ७३७ म्याक्सलाई आइरिस एयरस्पेसमा उड्न रोक लगाएको छ। 

जर्मनी 

जर्मनीले पनि आफ्नो आकाशमा बोइङ ७३७ म्याक्स उड्न रोक लगाएको छ। 

चीन 

चीनको नागरिक उड्डयन प्रशासनले सोमबार सबै डोमेस्टिक उडानबाट यो मोडलका विमान उडाउन रोक लगाएको थियो। त्यसपछि९७ वटा  यस्ता विमान उडाइरहेका ठूला तीन चिनियाँ एयरलाइन्सहरु चाइना एयरलाइन्स, चाइना इस्टर्न र चाइना सदर्नले सोमबारदेखि यो विमानको उडान बन्द गरे।

इन्डोनेसिया
इन्डोनेसियाको हवाई यातायात विभागले सोमबारदेखि ८ वटा यो मोडलका विमान ग्राउन्डेड गरेको छ। 

अस्ट्रेलिया
अस्ट्रेलियाको नागरिक उड्डयन सुरक्षा विभागले पनि अस्ट्रेलियामा आउने र अस्ट्रेलियामा उड्ने यो मोडलका सबै विमानमा रोक लगाएको छ। अस्ट्रेलियाका कुनै पनि एयरलाइन्ससँग यो मोडलको विमान नरहे पनि सिंगापुरको सिल्क एयर र फिजी एयरवेजले अस्ट्रेलियामा उडान गर्थ्यो। फिजी एयरवेजले भने यो मोडलको उडान जारी राख्ने बताएको छ।  

सिंगापुर
सिंगापुरको नागरिक उड्डयन विभागले सोमबार दिउँसो २ बजेदेखि आफ्नो एयरस्पेसमा यो मोडलको विमानमा रोक लगाउने निर्णय गरेको छ।

दक्षिण कोरिया

दक्षिण कोरियाली उड्डयन नियामक संस्थाले इस्टर जेटका दुई वटा यो मोडलका विमानको सञ्चालनमा रोक लगाएको छ। 

मंगोलिया

मंगोलियाको नियामक संस्थाले मंगोलियन एयरलाइन्सका ७३७ म्याक्स मोडलका विमानको सञ्चालनमा रोक लगाएको छ। 

मलेसिया

मलेसियाको नियामक संस्थाले बोइङ ७३७ म्याक्स ८ का सबै विमान उड्न, अवतरण गर्न ट्रान्जिटमा रहन रोक लगाएको छ। 

ओमान

ओमानको नियामक संस्थाले बोइङ ७३७ म्याक्स ८ का सबै विमान उड्न, अवतरण गर्न ट्रान्जिटमा रहन रोक लगाएको छ। 


इथियोपियन एयरलाइन्स
एक नेपालीसहित १५७ जनाको मृत्यु भएपछि यो मोडलको विमानलाई ग्राउन्डेड गर्ने पहिलो एयरलाइन्स दुर्घटना भएको विमान चलाउने इथियोपियन एयरलाइन्स रह्यो। गत अक्टोबरमा थाइ लायन एयरको यही मोडलको विमान दुर्घटना हुँदा १८९ जनाको मृत्यु भएको थियो। 

एयरोमेक्सिको
मेक्सिकोको यो एयरलाइन्सले पनि ८ वटा यस्तै मोडलका विमान उड्न रोक लगाएको छ। 

एयरोलिनियास अर्जेन्टिनास
यो अर्जेन्टिनी एयरलाइन्सले पनि पाँच वटा यो मोडलका विमानको व्यवसायिक सञ्चालन बन्द गरेको छ। 

केमन एयरवेज
यो एयरलाइन्सले सोमबारदेखि आफ्ना दुई वटा नयाँ यो मोडलका विमान नउडाउने बताएङ्को छ। 

कमएयर एयरवेज
यो दक्षिण अफ्रिकी एयरलाइन्सले नियामक निकाय र उत्पादक दुवैले केही नभने पनि यो मोडलका विमान नउडाउने बताएको छ। 

 

नेपालको उड्डयन प्राधिकरणले यसबारे के सोचेको छ त?

नेपालको हवाई उडानको नियामक संस्था नेपाल उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतम भन्छन्, ‘यो मोडलको जहाज कुनै पनि नेपाली वायु सेवा कम्पनीले सञ्चालनमा नल्याएको हुनाले यसबारे हामीले केही सोचेका छैनौँ।‘

नेपालमा उडान गर्ने ३० विदेशी एयरलाइन्स मध्ये चाइना सदर्न एयरलाइन्स, मालिन्दो एयर, जेट एयरवेज, कतार एयरवेज, टर्किस एयरलाइन्स, सिल्क एयर र थाइ लायन एयरसित यो मोडलको विमान छ। 

'कुनै पनि म्यानुफेक्चर कम्पनीको जहाज पटक-पटक दुर्घटनामा पर्दा आफ्नो हवाई सुरक्षाको विषयलाई मध्यनजर गर्दै यस्ता जहाजमार्फत् फ्लाइट अपरेसन गर्ने नगर्ने पहिलो जिम्मेवारी उनीहरुकै हुन्छ,'  गौतमले भने।

यी मध्ये सिल्क एयरले मात्रै यो मोडलको विमान नेपाली आकाशमा उडाउँथ्यो। 

सिंगापुरको नागरिक उड्डयन प्राधिकरणले आफ्नो एयरस्पेसमा आज दिउँसो २ बजेदेखि बोइङ ७३७ म्याक्स फेमिलीका सबै विमानहरुमाथि प्रतिबन्ध लगाउने घोषणा गरेपछि सिल्क एयरले अर्कै मोडल बोइङ ७३७-८०० एनजी विमान हिजो राति काठमाडौँ पठाएको थियो। सो विमान आज मध्याह्न १२ बजे सिंगापुरतर्फ उडिसकेको छ।

सिल्क एयरले आज बिहान ट्राभल एडभाइजरी जारी गर्दै ग्राहक र क्रुको सुरक्षालाई ध्यानमा राख्दै आजै बिहानदेखि सबै ६ वटा यो मोडलका विमान सिंगापुरमा नै ग्राउन्डेड गरेको बताएको छ। 

यसका कारण मंगलबार मार्च १३ का दिन उडान रद्द हुने सूचीमा काठमाडौँको उडान छैन। सिंगापुर-क्वालालम्पुर र क्वालालम्पुर-सिंगापुरका छ वटा उडान रद्द हुने सिल्क एयरले जनाएको छ।   

 

अझै यो विमान उडाइरहेका एयरलाइन्स

सिएनएनका अनुसार अमेरिकन एयरलाइन्सका २४, साउथवेस्ट एयरलाइन्सका ३४, नर्वेजियन एयरलाइन्सका १८, टियुआईका १५, फिजी एयरलाइन्सका दुई, आइसल्यान्ड एयरका तीन, फ्लाइ दुबईका ११, क्यानडाको वेस्टजेटका १३, ब्राजिलको जिओएलका सात वटा विमान अझै उडिरहेका छन्। 

नेपालका दुई छिमेकी देशमध्ये चीनले यो मोडलको विमानमा रोक लगाए पनि भारतको नियामक निकाय इन्डियन डाइरेक्टोरेट जनरल अफ सिभिल एभिएसनले भने रोक नलगाउने तर अन्तरिम सुरक्षा उपायको शृङ्खला अपनाउन भनेको छ। दुई वटा भारतीय एयरलाइन्सले यो मोडलका विमान उडाउँछन्। त्यसमध्ये स्पाइसजेटसँग सबैभन्दा बढी १२ वटा र जेट एयरवेजसित पाँच वटा यस्तो विमान छ। 



युके, आयरल्यान्ड र जर्मनीसँगै बोइङ ७३७ म्याक्स आफ्नो आकाशमा प्रतिबन्ध लगाउने देश ११ पुग्यो, नेपालले के गर्छ? को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट