PahiloPost

May 22, 2019 | ८ जेठ २०७६


सीके राउतसँगको सहमति खारेज गर्न विवेकशील साझाको माग, 'विखण्डनकारी नारा लाउनु निन्दनीय'


सीके राउतसँगको सहमति खारेज गर्न विवेकशील साझाको माग, 'विखण्डनकारी नारा लाउनु निन्दनीय'

काठमाडौं: सरकार र सीके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनबीच भएको ११ बुँदे सहमतिप्रति विवेकशील साझा पार्टीले ध्यानाकर्षण भएको जनाएको छ। 

विवेकशील साझाले विखण्डनकारी, देशद्रोही र हिंसात्मक कुनै पनि समूहलाई राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउने सरकारको प्रयासको  सधैँ स्वागत गरे पनि राउतले सार्वभौम अखण्ड नेपालप्रति जनाएको प्रतिवद्धता केवल जेलबाट मुक्त हुन दिइएको चालवाजीपूर्ण धोकाको रूपमा प्रयोग भएको भन्दै निन्दासमेत गरेको छ। 

'सहमतिको मसी पनि सुक्न नपाउँदै गत आइतबार जनकपुरमा राउत समुहले गरेको गतिविधि नेपालको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता र राष्ट्रिय एकताको बर्खिलापमा छ। त्यसको विवेकशील साझा घोर भत्सर्ना गर्दछ र त्यस्ता गतिविधि गर्नेहरूप्रति कडाभन्दा कडा कानूनी कारवाहीको माग गर्दछ,' पार्टीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

विवेकशील साझाले ११ बुँदे सहमतिमा प्रधानमन्त्री स्वयंको बहकाउपूर्ण अनावश्यक संलग्नता, पर्याप्त गृहकार्यको अभाव र सहमतिमा प्रयोग गरिएको आपत्तिजनक भाषाशैलीले सरकारको चरम लापरवाही र गैरजिम्मेवारीपन उजागर भएको आरोपसमेत लगाएको छ। 

उसले सहमति खारेजीको मागसमेत गरेको छ। 'सहमतिको लगत्तै सहमतिको ठाडै उलंघन गरेर राउत समूहले देखाएको रवैया र उनीसँग भएको सहमतिले सिर्जना गरेको व्यापक अन्यौलका कारण सो सहमति खारेज गर्न विवेकशील साझा पार्टी नेपाल सरकारसँग जोडदार माग गर्दछ,' वक्तव्यमा भनिएको छ 'अन्यथा यसले निम्त्याउन सक्ने जटिलताको जिम्मेवारी स्वयं सरकारले लिनु पर्ने कुरामा समेत हामी सरकारलाई सचेत गराउन चाहन्छौं।'

संयोजक रवीन्द्र मिश्रले विखण्डनकारी नारा लाउनु निन्दनिय भएको उल्लेख गर्दै राउत सच्चिनपर्ने बताएका छन्। आफ्नो ट्वीटरमा  मिश्रले लेखेका छन्, 'मेरो धारणाबारे अन्यौल भएका साथीलाई फेरी भनौँ: सीके राउतले सहमतिको १ नं बुँदामैँ अभिवाज्य नेपाल स्विकार्नु स्वागतयोग्य थियो। तर २ दिनपछि नै सहमतिलाई जेलबाट छुट्ने जुक्ति बनाएको देखिनु र उनका समर्थकले उनकै उपस्थितिमा विखण्डनकारी नारा लाउनु निन्दनिय थियो। राउत सच्चिउन्,  कामना गरौँ।'

 



सीके राउतसँगको सहमति खारेज गर्न विवेकशील साझाको माग, 'विखण्डनकारी नारा लाउनु निन्दनीय' को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट