PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

'चट्ट रुमाल क्या मालुम'को रिमेकमा बाबुरामलाई आपत्ति,केशव भन्छन् 'मेरो सम्पत्ति रिेमेक बनाउन अनुमति लिनुपर्छ भन्ने लाग्दैन'



पहिलोपोस्ट

'चट्ट रुमाल क्या मालुम'को रिमेकमा बाबुरामलाई आपत्ति,केशव भन्छन् 'मेरो सम्पत्ति रिेमेक बनाउन अनुमति लिनुपर्छ भन्ने लाग्दैन'

काठमाडौं:  फिल्म ‘आफ्नो मान्छे’को चर्चित गीत ‘चट्ट रुमाल क्या मालुम’को रिमेक हालै सार्वजनिक भयो। प्रदर्शनको तयारीमा रहेको फिल्म ‘यात्रा अ म्यूजिकल भ्लग’मा गीतको रिमेक समावेश छ। यतिखेर यही गीत विवादमा तानिएको छ। गीतका लेखक बाबुराम दाहालले रिमेक बनाउन निर्माण टिमले आफूसँग अनुमति नलिएको भन्दै गुनासो गरेपछि गीत विवादमा तानिएको हो। उनले उक्त गीतबाट कुनै रोयल्टिसमेत नपाएको बताएका छन्।

केहीसमय अघि फिल्म टिमले काठमाडौंमा गीतका स्रष्टलाई सम्मान गर्दै रिमेक सार्वजनिक गरेका थिए। कार्यक्रममा ओर्जिनल गीतका संगीतकार एवं गायक शम्भुजित बास्कोटा, नृत्य निर्देशक राजु शाह, स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठको सम्मान उनकी पत्नी एवं कलाकार श्वेता खड्कालाई दिइएको थियो।

तर, कार्यक्रममा गीतका रचनाकार बाबुराम उपस्थित थिएनन्। 'अनुमति लिनुपर्ने थियो' भन्दै उनले कार्यक्रममा नजाने निर्णय सुनाए।

गीतको रिमेकबारे भने फिल्मको सम्पादनताका नै कोरियोग्राफर र सिनिमेटोग्राफरबाट उनले सुनिसकेका थिए। गीत सार्वजनिक कार्यक्रममा उनीहरुले नै बाबुरामलाई बोलाएका पनि थिए।

गीत सार्वजनिक भएपछि बाबुरामले युट्युबमा गीत सुने। उनले गीतमा पहिलाको त्यो मिठास पाएनन्। शम्भुजित र साधना सरगमले गाएको गीतको रिमेकलाई मेलिना राई र धमेन्द्र सेवानले गाएका छन्। उनलाई पुरानो गीतमा प्रयोग गरिएको सिग्नेचर ट्युनहरु मिस भयो।

सुनाउँछन् ‘मसँग नसोधी गीतको रिमेक बनाइयो। फिल्मका लागि मैले केशव भट्टराईलाई गीत दिएको थिएँ। तर यो फिल्ममा प्रयोग गर्न भने उहाँले मलाई सोध्नु पनि भएन, जानकारी पनि भएन।'

युट्युब कमेन्टमा पनि दर्शकले गीतलाई खासै रुचाएको पाइँदैन। एरेन्जमेन्टका हिसाबले पहिलाको गीतमा भएको ‘ओहो’ जस्ता सिग्नेचर पिस नभएको बाबुराम बताउँछन्।

'शब्द काटिएको त छैन। मीठो म्यूजिकको ट्युन छैन त्यसैले रिमेक खल्लो सुनिन्छ। नाचौं नाचौं लाग्दैन' उनले सुनाए।  

गीत नराम्रो बन्दा उनलाई चित्त पनि दुखेको छ। 'रिमेक बनाउँदा अनुमति लिनुपर्छ भन्ने हो। त्यसमा मेरो आपत्ति हो। गीत राम्रो/नराम्रो बन्यो भन्ने कुरा बनाउने मान्छेलाई जान्छ। तर, हामीलाई सोधेको भए केही सल्लाह त दिन्थ्यौं नि' सुनाए।

रिमेकबारे भने शम्भुजितसँग निर्माण टिमले मौखिक छलफल नै  गरेका कुरा पनि उनले पछि मात्रै सुने।

अहिले उनी निर्माण टिमसँग यसबारे थप छलफल गर्ने तयारीमा छन्। २०६९ सालमा १९ वर्षको हुँदा बाबुरामले यो गीत लेखेका थिए। त्यतिखेर गीतले लाखौं कमाउँदा पनि उनले रोयल्टी पाएनन्।

'त्यतिखेर ४० लाख त निर्मातालाई अडियो सेलबाट पैसा दिएको छ गीतले। मैले त्यतिखेर गीतबाट रोयल्टी पाइन। निर्माताबाट जे पाएँ त्यतिमै सिमित भयो। तर, अब रिमेकबाट पनि केही नपाउने छाँटकाट देखियो।'

संगीतकार शम्भुजितले भने रिमेक गीत सार्वजनिक कार्यक्रममै सुने। उनलाई पनि रिमेक मन परेन। सुनाए ‘मलाई ठिक लागेन। चित्त बुझेन। मलाई गीतको क्वालिटी मन परेन। पहिलाको गीतमा भएको पंचहरु र लचकता केहि आएन रिमेकमा।'

९० प्रतिशत दर्शकले रिमेकमा आफ्नो आवाज खोजेको उनी बताउँछन्। रिमेकमा उनकै आवाज पनि सुन्न सकिने तर्क राख्छन् बास्कोटा। 'निर्माण पक्षलाई हामीले भनेका छौं। सायद मेरै आवाजमा यो गीतलाई फेरि आउँछ कि। पुरानै गीत राख्नुहुन्छ कि निर्माण टिमसँग कुरा हुँदैछ।'

उनले बलिउडमा रिमेकको ट्रेन्ड निकै राम्रो रहेको बताए। रिमेक गीत नयाँ पुस्तालाई टार्गेट गरेर बनाउनुपर्ने बताउँछन्। उनले भने 'रिमेक गर्दा पहिलाको भन्दा माथिल्लो स्तरमा उठेर आयो भने नयाँ पस्ताले पनि सुन्छन् भन्ने हुन्छ। बलिउडमा यसलाई निकै पछ्याइएको छ।'

त्यस्तै 'यात्रा अ म्यूजिकल'का प्रस्तुतकर्ता केशव भने आफूले रिमेकका लागि शम्भुजितसँग कुरा भइसकेको बताउँछन्। साथै, रिमेकबारे कुरा गर्न खोज्दा बाबुराम सम्पर्कबाट टाँढा रहेको बताउँछन् केशव।

'शम्भुजितसँग बसेर नै करेक्सन गरेर बनाएको हो गीत। जतिबेला मैले बाबुरामलाई कल गरें, मेसेज गरें तर रेसपोन्स आएन। गीत रिलिजपछि आपत्ति जनाउनुभो,' उनले सुनाए 'मैले अरुको गीत नै चोरेर बनाएको होइन नि त। सोध्नुपर्ने मेरो दायित्व थियो।'

यसै गीतमा बनेको अन्य रिमेक गीत पनि युट्युबमा प्रशस्तै रहेको केशवले बताए। भन्छन् ''आफ्नो मान्छे' भन्ने फिल्म मेरो हो। मेरो सम्पत्ति हो, मेरो सम्पत्ति रिमेक गर्न कसैसँग अनुमति लिनुपर्छ भन्ने मलाई लाग्दैन।'

त्यस्तै गीतको विवाद चलिरँदा गायिका मेलिना राईले पनि आफूलाई पनि गीतप्रति असन्तुष्टि जनाउँदै स्टेटससमेत कोरिन्। उनले स्टेटसमा गीतको रियल रेकर्डिङ नराखेर पुरानै राखेको स्टेटसमा लेखेकी थिइन्।

यसबारे भने केशव भन्छन् 'स्टूडियोमा पाँच घण्टा बसेर यो गीत रेकर्ड गरिएको थियो। त्यतिखेर मेलिनालाई गीत मनपरेको थियो। अहिले किन त्यस्तो कुरा गर्नुभयो।'

 

 

 

 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell