PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

निर्वाचनको संघारमा मोदीको ट्वीट रणनीति, राहुलदेखि आलियासम्मलाई मतदाता शिक्षामा लाग्न आह्वान



निर्वाचनको संघारमा मोदीको ट्वीट रणनीति, राहुलदेखि आलियासम्मलाई मतदाता शिक्षामा लाग्न आह्वान

भारतमा अप्रिल ११ देखि लोकसभा निर्वाचन हुँदैछ। सात चरणमा हुने निर्वाचन मे १९ मा सकिनेछ।

यसपटकको निर्वाचनमा करिब ९ करोड मतदाता सहभागी हुने अनुमान गरिएको छ। ती मध्ये धेरै जनाले पहिलोपटक निर्वाचनमा मतदान गर्दैछन्।

निर्वाचन मिति घोषणा भएकै दिन भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नयाँ मतदाताहरुलाई आफ्नो मताधिकार प्रयोग गर्न आह्वान गरेका थिए।

 

 

यसैबीच मोदीले आज पुन: नयाँ मतदाताहरुलाई केही महिनापछि हुने निर्वाचनमा सहभागी हुन आह्वान गरेका छन्।

तर उनको यसपटकको आह्वान विशेष रह्यो।

उनले आफ्ना राजनीतिक प्रतिस्पर्धीदेखि बलिउड कलाकार, संचारकर्मी, क्रिकेटर लगायतलाई छुट्टाछुट्टै ट्वीटरमा मेन्सन गर्दै मतदाताहरुलाई मतदान केन्द्रसम्म ल्याउन भूमिका खेल्न आग्रह गरेका छन्। 

मोदीले भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीका साथै विपक्षी नेताहरु ममता बनर्जी, शरद पवार, मायावती, अखिलेश यादव, तेजश्वी यादव, एमके स्टालिन लगायतलाई मेन्सन गर्दै आगामी लोकसभा निर्वाचनमा धेरै संख्यामा मतदाताहरुलाई सहभागी गराउने प्रयास गर्न आग्रह गरेका छन्। उनले धेरै मतदाता सहभागी भए त्यसले प्रजातन्त्रलाई राम्रो बनाउने तर्क गरेका थिए।

 

अर्को ट्वीटमा उनले विभिन्न प्रान्तका मुख्य मन्त्रीहरुलाई मेन्सन गर्दै आगामी निर्वाचनमा धेरै भन्दा धेरै मतदाता सहभागी हुने वातावरण बनाउन आग्रह गरेका छन्।

मोदीले राजनीतिक दल र तीनका नेताहरुलाई मात्रै मेन्सन गर्दै मतदातालाई जागरुक बनाउन भनेनन्। उनले बलिउड स्टारहरुलाई समेत यस अभियानमा सहभागी हुन आह्वान गरे।

अमिताभ बच्चन, शाहरुख खान, करन जोहोरलाई ट्वीट गर्दै मोदीले धेरै संख्यामा मतदातालाई निर्वाचनमा आकर्षित गर्न काम गर्न आग्रह गरे। यसो गर्नुको मुख्य कारण आफ्नो प्रजातन्त्र प्रतिको माया रहेको उनले बताए।

 

 

यस्तै, अक्षय कुमार, आयुषमान खुराना, भूमि पेदनेकरलाई मेन्सन गर्दै मोदीले  एक मत पनि महत्वपूर्ण हुन्छ भन्दै यसबारे जनचेतना जोगाउनु पर्छ भनेर उल्लेख गरेका छन्।

गायिका लता मंगेश्कर र ए आर रहेमानलाई ट्वीट गर्दै मोदीले जनताको आवाज सम्बोधन गर्ने उपयुक्त माध्यम निर्वाचन भएको उल्लेख गरेका छन्।

मोदीले दीपिका पादुकोण,आलिया भट्ट र अनुश्का शर्मालाई भने धेरैले सम्मान गर्ने फिल्मकर्मीहरुले मतदानकाबारे जनचेतना फैलाए त्यसले सकारात्मक सन्देश जाने उल्लेख गरेका छन्।

 

 

यस्तै मोदीले भारतीय क्रिकेटरहरु अनिल कुम्भले, भिभिएस लक्ष्मण र विरेन्द्र सेहवागलाई मेन्सन गर्दै फेरि युवाहरुलाई प्रेरणा दिने बेला आएको उल्लेख गरेका छन्।

मोदीले प्रजातन्त्रमा संचार क्षेत्रको महत्वपूर्ण भूमिका हुने भन्दै संचारकर्मीहरुलाई मेन्सन गर्दै मतदाताहरुलाई शिक्षा दिन आग्रह गरेका छन्।

 

मोदीको ट्वीटको रिप्लाई दिँदै उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री अखिलेश यादवले महागठबन्धनलाई अपिल गरेकोमा धन्यवाद दिए र सबैलाई मतदानमा सहभागी हुन आग्रह समेत गरे।

मोदीले मेन्सन गरेका बलिउड स्टारहरुले रिप्लाई दिँदै मतदाता शिक्षा जगाउने कुरामा सहयोग गर्ने प्रतिक्रिया दिएका छन्।

मोदीको निर्वाचनको मिति घोषणा भएसँगै यस प्रकारका ट्वीट गर्नुलाई धेरैले चुनावी रणनीतिको संज्ञा दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell