PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

सीके राउत के गर्दैछन् जनकपुरमा? यस्तो बनाउँदैछन् रणनीति



बीपी साह

सीके राउत के गर्दैछन् जनकपुरमा? यस्तो बनाउँदैछन् रणनीति

जनकपुरः बिहीबार साँझ साढे ७ बजे सेन्ट्रल जेल काठमाडौँबाट सादा पोसाकका प्रहरी नियन्त्रणमा सरकारी गाडीमै बालुवाटार पुगेका स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा.सीके राउतले सोही राति सरकारसँग ११ बुँदे सहमति गरेका थिए। शुक्रबार सहमति सार्वजनिक कार्यक्रम भयो, त्यसपछि पनि उनी सुरक्षाकर्मीकै निगरानीमा थिए।

शनिबार काठमाडौँमै बसेका डा.राउत आइतबार दिउँसो वीर अस्पतालमा स्वास्थ्य चेक जाँच गराई त्रिभुवन विमानस्थल हुँदै जनकपुर फर्केका थिए। जनकपुरमा उनको सुरक्षा दस्तासहित समर्थकहरूले स्वागत गरेका थिए।

उनको स्वागतमा स्वतन्त्र मधेश लेखिएको झन्डा र पम्प्लेट भेटिएको विषय अहिले चर्चामा छ। उनको फेसबुक र ट्वीटर अकाउण्टबाट जनमतसंग्रहका लागि सरकार सहमत भन्ने भनाइ पनि चर्चामै छ।

सहमतिका विषयमा विभिन्न कोणबाट व्याख्या भइरहेका बेला सिकेका आगामी रणनीतिप्रति नागरिकको चासो पनि ह्वात्तै बढेको छ।

 

गठबन्धन परिषद्को बैठकको तयारी

डा. राउतले स्वतन्त्र मधेश परिषद्को बैठक बोलाउने तयारी गरेका छन्। पछिल्लो पटक सिराहामा सम्पन्न बैठकपछि परिषद् बस्न सकेको छैन।

चैत ४ र ५ गते बैठकको मिति तय भएको छ।   

गठबन्धनका सहजकर्ता चन्दन सिंहले पहिलोपोस्टसँग भने,  'हाम्रो परिषद्को बैठकको तयारी हुँदैछ।'

 

यस्तो बन्दैछ रणनीति?

परिषद् बैठकमा आगामी रणनीति र सङ्गठनको संरचना तयार पार्ने विषयमा छलफल हुनेछ। सहजकर्ता सिंहले दिएको जानकारी अनुसार सरकारसँग भएको ११ बुँदे सम्झौता बमोजिम गठबन्धनले रणनीति बनाउनेछ।

प्राप्त जानकारी अनुसार गठबन्धनको परिषद् दुई तहको साङ्गठनिक संरचना बनाउने प्रस्ताव जानेछ। अहिलेको स्वतन्त्र मधेश परिषद् कायम राखेर अर्को राजनीतिक दल गठनको प्रस्ताव हुनेछ। उक्त दल सम्पूर्ण राजनीतिक कार्यक्रममा सक्रिय हुनेछ। स्थानीय तहको निर्वाचनदेखि सङ्घीय संसद्को निर्वाचनसम्म सहभागी हुन सक्छ भने वडातहसम्म कार्यालय स्थापना र सङ्गठन विस्तार गर्नेछ।

गठबन्धनका सबै नेता चुनावमा सहभागी नहुन पनि सक्नेछन्।

 

नेताहरूसँग वार्ता

सरकारसँग ११ बुँदे सहमति गर्नुअघि पनि गठबन्धनका संयोजक डा.राउतले राजपा र फोरमसहित विभिन्न राजनीतिक दलका नेताहरूलाई आफ्नो अभियानमा सहभागी हुन पत्राचार गर्दै आएका थिए। तर, त्यस बेला खासै प्रतिक्रिया आउने गरेको थिएन।

अहिले राजपा र फोरमका नेताहरू पनि डा.राउतले बनाउने पार्टीप्रति सकारात्मक रहेको सिंहले बताए। उनका अनुसार ती पार्टीका युवा नेताहरूसँग अनौपचारिक छलफल सुरु भएको छ।

 

हामी पनि प्रतिबन्धित हुन्थ्यौँ

नेपाल सरकारले विप्लवभन्दा हामीलाई ठुलो समस्या मानेको थियो। राजनीतिक सहमति नगरेको भए प्रतिबन्ध लाग्न सक्ने सिंहको भनाइ छ।

'हामीले ११ बुँदे सहमति नगरेको भए हाम्रो सङ्गठन पनि घोषित रूपमा प्रतिबन्धित हुने थियो' सहजकर्ता सिंहको भनाइ छ।

अहिलेको अवस्थामा आफूहरू खुलेर लोकतान्त्रिक शक्तिका रूपमा पार्टी गठन गर्न सक्ने र आफ्नो विचार राख्न सक्ने अवस्थामा पुगेको दाबी सिंहले गरे।

माओवादीले गरेको १२ बुँदे सम्झौता जस्तै यो सम्झौता महत्त्वपूर्ण रहेको दाबी गर्दै सिंहले भने, यसले राजनीतिक अवतरण गर्नुको साथै ठूलो क्षतिबाट सबैलाई जोगाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell