PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

नोट, पासपोर्ट, लाइसेन्स छाप्ने सेक्युरिटी प्रेस र अन्तरिक्षमा स्याटेलाइट राख्‍न फ्रान्ससँग सहमति



पहिलोपोस्ट

नोट, पासपोर्ट, लाइसेन्स छाप्ने सेक्युरिटी प्रेस र अन्तरिक्षमा स्याटेलाइट राख्‍न फ्रान्ससँग सहमति
फाइल फोटो

काठमाडौं : सरकारले सेक्युरिटी प्रिन्टिङ सम्बन्धी फ्रान्ससँग सहमति गरेको छ। सञ्चार मन्त्री गोकुल बास्कोटाको हालै भएको फ्रान्स भ्रमणका क्रममा यस्तो सहमति भएको हो।

नेपालमा सेक्युरिटी प्रिन्टिङ नहुँदा नोट, राहदानी, ड्राइभिङ लाइसेन्स छपाइको काम विदेशमा हुँदै आएको थियो। 

‘नेपालमा सेक्युरिट प्रिन्टिङ स्थापनाका लागि प्राविधिक तथा आर्थिक सहायताका लागि फ्रान्ससँग सहमति भएको छ,’ मन्त्री बास्कोटाले आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘सहमति पत्रमा मैले र त्यहाँका विदेश उपमन्त्रीले हस्ताक्षर गरेका छौँ।’

त्यस्तै सेक्युरिटी प्रिन्टिङ स्थापनाका लागि नेपाल र फ्रान्सबीच एमओयुमा सम्बन्धित निकायका अधिकारीले हस्ताक्षर गरेको उनले जानकारी दिए। 
यसैगरी फ्रान्ससँग नेपालको आफ्नै स्याटेलाइट  अन्तरिक्षमा राख्नका लागि समेत सहमति भएको उनले जानकारी दिए। 

यसैबीच नेपाल र फ्रान्सबीच कुटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वर्षगाँठ मनाइदै छ। यसबीच दुई देशबीच उच्चस्तरीय भ्रमणको आदान प्रदानको विषयमासमेत छलफल भएको मन्त्री बास्कोटाले जानकारी दिए। 

सन् १९८३ फ्रान्सका तत्कालीन राष्ट्रपति फ्रान्सिस मिट्राण्डले नेपालको औपचारिक भ्रमण गरेका थिए भने नेपालको तर्फबाट तत्कालीन राजा वीरेन्द्रले १९९४ मा औपचारिक भ्रमण गरेका थिए। त्यसयता दुई देशबीच उच्चस्तरीय भ्रमण आदान प्रदान भएको छैन।

नेपाल र फ्रान्सबीच कुटनीतिक सम्बन्ध स्थापित भएको ७० वर्ष आगामी अप्रिलमा २० मा पूरा हुँदै छ। बेलायत, अमेरिका र भारतपछि नेपालको दौत्य सम्बन्ध स्थापना गरेको चौथो मुलुक हो फ्रान्स।

फ्रान्समा युरोप ममिला तथा परराष्ट्र मन्त्रालयका महासचिव मोरिस गुर्दो मोन्तानको गत पुसको अन्तिम साता भएको नेपाल भ्रमणका क्रममा २०१९ लाई उच्चस्तरीय भ्रमण वर्षको रुपमा लिने गरी छलफल भएको थियो। 

२०५६ सालमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको फ्रान्स भ्रमण तय भएको थियो। तर उनी भ्रमणमा जानु अगाडि नै राजीनामा दिन बाध्य भएका थिए। त्यसपछि त्यहाँ प्रधानमन्त्री स्तरको भ्रमण हुन सकेको छैन। त्यसअघि बेलायत भ्रमणमा गएका तत्कालीन श्री ३ जंगबहादुर राणा फ्रान्स पुगेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell