PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

पूर्वराजाको मधेश डायरीः १०० को स्पिडको गाडी, भीडले मुस्कुराएका शाह र दर्शन नपाएपछि फूल फ्याँक्ने समर्थक

पूर्वराजाको मधेश डायरीः १०० को स्पिडको गाडी, भीडले मुस्कुराएका शाह र दर्शन नपाएपछि फूल फ्याँक्ने समर्थक

बीपी साह/पहिलोपोस्ट


जनकपुरधामः पूर्वराजा ज्ञानेन्द्र शाह बा ४ च ३८०७ नम्बरको हरियो रङ्गको गाडी आफैँ चलाउँछन्। त्यो पनि सामान्य स्पिडमा होइन १०० किलोमिटर प्रति घण्टा।

हाल मधेस यात्राको क्रममा रहेका पूर्वराजा शाहले पहिलो दिन यस्तै स्पिडमा गाडी चलाए।

बिहीबार दिउँसो १ बजे जनकपुरधामस्थित होटेल सीताशरणबाट सर्लाहीका लागि जानुपर्ने कार्यक्रम थियो। उनका समर्थकहरू १२ः३० बजेदेखि नै होटलको लिफ्ट अगाडि लाइनमा बसेका थिए।

हातमा फूल र माला बोकेका समर्थक लिफ्टको ढोका कुर्दै थिए। तोकिएको समयभन्दा सवा घण्टा ढिलो अर्थात् २ः१५ मा मात्र लिफ्टको ढोका खुल्यो र पूर्वराजा शाह निस्किए।

लिफ्टकै गेटमा रहेका शिवसेना नेपालका नेता तथा कार्यकर्ताले शाहलाई खुट्टामै ढोगे। अन्यले हात थापेका थिए। शाहले सबैको हात समाउँदै ल्याइएका फूल लिँदै अगाडि बढे।

लाइनको अन्तिममा केही पत्रकारहरू पनि थिए। अन्य समयमा पत्रकारहरूको प्रश्नको उत्तर नदिने शाहले अगाडि उभिएर प्रश्न सुने।

राजतन्त्रका विषयमा सोधिएको प्रश्नमा उनले भने 'जनताले जे चाहन्छन्।'

र, हालै सरकारसँग सिके राउतले गरेको ११ बुँदे सम्झौताको सन्दर्भमा भने मुसुक्क हाँस्दै केही नबोली उनी गाडी चढे। त्यसपछि सुरु भयो ज्ञानेन्द्रको पहिलो दिनको मधेश यात्रा।

०००००

होटलबाट ज्ञानेन्द्र शाहको सवारीको लाइन निस्कियो। लाइनमा ८ वटा गाडी थिए। सबैभन्दा अगाडि नेपाल प्रहरी त्यसपछि सशस्त्र प्रहरी। त्यसपछि शाहले चलाउने गाडी। शाहपछि नेपाली सेनाको गाडी र त्यसपछि शाहले चलाउने गाडी जस्तै देखिने अर्को गाडी थियो। जुन गाडी खाली थियो।

त्यसपछिका गाडीमा उनका सल्लाहकारहरू र त्यस लगत्तैको गाडीमा शिव सेना नेपालका नेता कार्यकर्ताहरू थिए। पछाडिको सानो गाडीमा कार्यकर्ता र केही पत्रकार। र, अन्तिममा दुईवटा मोटरसाइकलमा सवार चार जना थिए।

जनकपुरबाट निस्केको गाडीको ताँती महेन्द्रनगरमा गएर रोकियो। गाडी चलाइरहेका शाहले महेन्द्रनगरको सडक छेउमा उभिएका समर्थकहरूको अगाडि गाडी रोके र बाहिर निस्केर भेट्दै गए।

त्यहाँ पनि नारा लाग्यो राजा आउ देश बचाउ। करिब एक सय जना समर्थक त्यहाँ देखिए पनि शाह गाडीबाट ओर्लिँदा बजारका अन्य मान्छेहरूको पनि भीड लाग्यो।

त्यसपछि गाडी पुग्यो ढल्केबर। बिहीबार महेन्द्र राजमार्गमा सामान्य गाडी चलेका थिए। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बन्दको आह्वान गर्दा महेन्द्र राजमार्गमा लामो दुरीका सवारी छिटपुट चलेका थिए। सडक खाली थियो।

 

खाली सडकमा जब देखियो गाडीको स्पिड

शाहले ढल्केबरदेखि बर्दिबाससम्म बीचमा प्रतिघण्टा ८० र सोभन्दाबढीको स्पिडमा गाडी कुदाएका थिए।

पूर्वराजा शाहले स्पिडमा गाडी कुदाउँदा जनकपुरबाट सँगै हिँडेका दुईवटा मोटरसाइकलमा सवार युवा बीच बाटोमै छुटे। उनीहरू शाहको पछि हिँड्न सकेनन्।

लालबन्दी र नवलपुरको खाली सडकमा ज्ञानेन्द्र शाहले प्रतिघण्टा १०० र सोभन्दा बढीको स्पिडमा गाडी कुदाए।

मधेशको समथर भू–भागमा विप्लवको बन्दले सायद उनलाई गाडी कुदाउन सहज बनायो। जङ्गल क्षेत्रमा सडक छेउमा सशस्त्र प्रहरीले सुरक्षा दिँदै थिए।

शाहको सवारीको स्पिड बढ्दै थियो। सुरक्षाकर्मीले उनको सवारीभन्दा अगाडि कुनै गाडीलाई जान दिएनन्।

त्यस बेला लाग्यो विप्लवको त्रासले मधेशको सडकमा गाडी बन्द हुँदा पूर्वराजा शाहले सयभन्दा बढी स्पिडमा विना अवरोध गाडी कुदाए। हुन त पूर्वराजा शाहलाई नियालिरहेका केही व्यक्तिहरूलाई जनकपुरमा भेट्दा उनीहरूले पनि राष्ट्रवादी शक्तिको नाममा पूर्वराजा शाह र विप्लव समूहबीच निकटता हुन सक्ने सुनाएका थिए।

हाई स्पिडमा कुदिरहेको शाहको सवारी नवलपुरभन्दा वरैको जङ्गलमा रोकियो। कारण, उखु बोकेको तीनवटा ट्रयाक्टर लाम लागेर आउँदै थिए।

ती तीनवटा अवरोधलाई प्राध्यापक परमेश्वर कापडीले मधेशको तीनवटा शक्तिसँग जोडे। राजपा, फोरम र सिके राउतसँग।

उनी भन्छन्, ‘पूर्वराजाको स्पिड मधेशमा देखिएला तर यी तीनवटा अवरोधले उनलाई ब्रेक लगाइ दिनेछन्। ज्ञानेन्द्रले सोचेजस्तो सजिलो छैन मधेश।

 

समर्थकले सडकमै फ्याँके फूल

पूर्वराजाको सवारी सर्लाहीको नवलपुर पुग्यो। सडकको छेउमा समर्थक र राजालाई हेर्न आउनेहरुको भीड थियो। तर उनको सवारी रोकिएन।

पूर्वराजाको सवारी सिधै मलंगवातिर लाग्यो।

समर्थकले बोकेको फूल सडकमै फ्याँके। भीडबाट आवाज आयो ‘ए मन्त्रीजी खोइ त राजा रोकिएको?’

सायद त्यो भीडको नेतृत्व कुनै पूर्वमन्त्रीले गर्दै थिए।

पूर्वराजाको गाडी त्यहाँ नरोकिएपछि त्यो भीडमा नेता जस्तै देखिने करिब ८/९ जना भारतीय नम्बर प्लेटको १६१६ नम्बरको गाडीमा चढे। र, उनीहरू पनि पूर्वराजाको सवारीको पछि लागे।

 

भीडले खुसी देखिएका पूर्वराजा  

पूर्वराजालाई हेर्न मलंगवा आउनेहरुको ठूलै भीडभाड थियो। अधिकांश पूर्वराजालाई हेर्न नै आएका थिए। तर, राजा समर्थित दलका कतिपय स्थानीय नेताले यसलाई राजाप्रतिको क्रेजको संज्ञा दिए।

पूर्वराजालाई हेर्न आउने सयौँमध्ये एक थिए बुद्धिलाल महतो। उनको घर मलंगवा नै हो। उनले भने,‘बजारभर पूर्वराजाको पोस्टर पम्पलेट लागेको छ। सोहीबाट जानकारी पाएपछि हेर्न आएका छौँ।’

राजतन्त्र वा राजा फर्किनेमा कुनै चासो नभएका उनी राजालाई हेर्न मात्रै आएका थिए।

अर्का युवा थिए धीरजकुमार कुशवाहा। उनी मदनपटीबाट मलंगवा पूर्वराजालाई हेर्न आएका थिए। मलंगवामा जानकी पार्टी प्यालेसका अगाडि कुर्दै थिए।

२० वर्ष जति उमेरका देखिने मलंगवाकै धीरजकुमार यादवले भने राजा फर्केर कुनै फाइदा नहुने बताए। राजपरिवार क्रूर भएको उनको बुझाई रहेछ। पूर्वराजाले भगवतीको दर्शन गर्न आएको थाहा भएपछि आफू पनि हेर्न आएको उनले सुनाए।

त्यस्तै, अर्का थिए ५० वर्ष कटेका रामगोविन्द साह। उनी पनि पूर्वराजालाई हेर्न आएका थिए। तर, उनको चाहना थियो देशमा राजतन्त्र फर्कियोस्।

भेलही सर्लाहीका प्रेमनारायण साहले देशमा राजा आउनु पर्ने बताए। अहिलेका राजनीतिक दलप्रति असन्तुष्ट साहले भने, ‘पार्टीवाला आएर कुनै विकास भएन। अहिले जन्मदर्ता गर्न जाँदा पनि पैसा लाग्छ। कुनै पनि काम लिएर वडा कार्यालयमा जाँदा पाँच सय वा हजार रुपैयाँ लाग्छ। दलका नेताहरूले भ्रष्टाचार गर्दैछन्। राजा नै ठिक हो।’

७५ वर्ष कटिसकेका त्रिभुवननगरका शिवशंकर गुप्ता पनि राजा चाहिने बताउँछन्।

 

फरक फरक बुझाइ

मलंगवाको यात्रा सकेर शाह जनकपुर फर्किँदै गर्दा निकै खुसी देखिएका थिए। सायद मलंगवामा उनलाई हेर्न आउनेको भीड देखेर।

यस विषयमा प्राध्यापक कापडी भन्छन्, ‘मधेशका जनता सोझा छन्। नजिकमा कसैको झगडा हुन्छ भने हेर्न पुग्छन्। झन् मलंगवामा वा अन्य कुनै ठाउँमा पूर्वराजा पुगेको हेर्न त जाला नै। तर, पूर्वराजाले यसलाई आफ्नो शक्तिको रूपमा लिनु हुँदैन।’

कापडीका अनुसार पूर्वराजाको मधेश भ्रमणलाई आफ्नो लाभको विषय र जनताले हेर्न पाउने विषय बनाएका छन्।

‘पूर्वराजा पूजापाठको नाममा राजनीतिक गतिविधि गर्न खोजेको जगजाहेर छ। यो उनको भूल हुनेछ’, उनी भन्छन्, ‘जनता उनलाई हेर्न गएका हुन्। उनका गुण अवगुणलाई वा उनलाई पुनः सत्तामा ल्याउन होइन। एकपटक पाएको सत्ता चलाउन सकेनन् अब पाए पनि चलाउन सक्छन् जस्तो लाग्दैन। ज्ञानेन्द्र शाह जनतामा प्रिय छैनन्। प्रिय भएको भए सायद फर्किने सम्भावना हुन्थ्यो।’

तर, राप्रपा धनुषाका अध्यक्ष मनोज मल्लको बुझाई फरक छ।

उनी भन्छन्,‘राजा नहुँदा देशमा यस्तो राजनीतिक अस्थिरता पैदा भयो। भ्रष्टाचारमा डुब्यो। जनता डिप्रेशनमा जाँदैछन्। त्यस कारण जनताले नै अव राजालाई ल्याउनेछन्।’



ट्रेन्डिङ पोस्ट

Ncell