PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

न्यूजिल्याण्डका दुई मस्जिदमा आक्रमण, कसले गर्‍यो नरसंहारको लाइभ स्ट्रिमिङ ?



न्यूजिल्याण्डका दुई मस्जिदमा आक्रमण, कसले गर्‍यो नरसंहारको लाइभ स्ट्रिमिङ ?

न्यूजिल्याण्डको क्राइस्टचर्च शहरमा रहेको दुई मस्जिदमा शुक्रबारको प्रार्थना सभा चलिरहेको अवस्थामा आक्रमणहुँदा मृत्यु हुनेको संख्या ४९ पुगेको छ।

धेरै ‌संख्यामा मानिसहरु घाइते भएको र उनीहरुको अस्पतालमा उपचार भइरहेको बताइएको छ।

प्रहरीले घटनामा संलग्न भएको आरोपमा चार जनालाई पक्राउ गरेको बताएको छ।

यता, डेली मेलले ट्वीटरमा बर्टन टर्रान्ट नाम गरेका अस्ट्रेलियाका २८ वर्षे युवकले मस्जिदमा गोली चलाएको बताएको छ। उनी आप्रवासी हुनसक्ने अनुमान गरिएको छ।

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले पनि आक्रमणकारी एक अस्ट्रेलियन भएको बताएको बीबीसीले उल्लेख गरेको छ। तर उनले नाम भने नखुलाएको बताइएको छ।

टर्रान्टले मस्जिदमा प्रार्थना भइरहेको अवस्थामा फेसबुकबाट लाइभ गर्दै गोली चलाएका हुन्।

फेसबुकले हाल त्यो भिडियो आफ्नो सर्भरबाट हटाएको बताएको छ। यद्यपी आक्रमणकारीले लाइभ स्ट्रिमिङ गरेको भिडियो 'सेन्सर' गरेर केही संचार माध्यमहरुले प्रकाशित गरेका छन्।

आक्रमण गर्न जाँदा उनले सैनिकले लगाउने खालको पोशाक लगाएको र मस्जिदसम्म यात्रा गर्दा 'लोक गीत'हरु सुनिरहेको मेलले जनाएको छ।

उनको गाडीमा ६ वटा राइफल रहेको र त्यसमध्ये एउटा लिएर उनी सिधै मस्जिद तिर लागेको र गोली चलाएको भिडियोमा देखिएको छ।

उनले गोलीबाट बचेर छटपटाइरहेका व्यक्तिहरुमाथि पुन: गोली चलाएको र मस्जिद भित्र सबै जना मरेको निश्चित गरेपछि बाहिर आएर फेरि गोली चलाएको बुझिएको छ।

उनले प्रयोग गरेका हतियारहरुमा पहिला नरसंहार गरेका व्यक्ति र स्थानको नाम लेखिएको पाइएको छ।

१७ मिनेटको लाइभ स्ट्रिमिङमा उसले १०० पटक भन्दा बढी गोली प्रहार गरेको देखिएको उल्लेख गरेको छ। टर्रान्टले 'सेमिअटोमेटिक सटगन' प्रयोग गर्दै मस्जिद भित्र प्रवेश गरेर गोली चलाएका थिए। उनको हेल्मेटमा 'लेस्टस गेट डिस पार्टी स्टार्टेड' लेखिएको र उनले गाडी र फेसबुकमा समेत सोही कुरा दोहोर्‍याइरहेका थिए।

आक्रमण पूर्व यस घटनालाई टर्रान्टले 'आतंकवादी आक्रमण' भन्दै ७३ पानाको मेनिफेस्टो ट्वीटरमा पोस्ट गरेको मेलको दाबी छ।

टर्रान्टले ट्वीटरमा राखेको मेनिफेस्टोमा आफू अन्ड्रेस ब्रेरिभिकबाट प्रभावित भएको उल्लेख गरेका थिए। ब्रेरिभिकले सन् २०११ मा  नर्वेको ‍ओसलोमा ७७ जनाको हत्या गरेका थिए।

उनले आफूले यो आक्रमण दुई वर्षदेखि योजना बनाइरहेको र आफू कुनै संस्थासँग आबद्ध नभएको उल्लेख गरेको बताइएको छ।

उनले आफूले गरेको कार्यमा कुनै पश्चाताप नरहेको समेत बताएका छन्। 

टर्रान्टले  आफूलाई मुस्लिमहरु मन नपर्ने भन्दै इस्लाम धर्ममा रुपान्तरण गरेकाहरुप्रति आफू घृणा गर्ने उल्लेख गरेका थिए। उनले धर्म रुपान्तरण गर्नेहरुलाई 'ब्लड ट्रेटर' को संज्ञा दिएको बताइएको छ।

हाल उनको ट्वीटर अकाउन्ट सस्पेन्ड गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell