PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

क्राइस्टचर्च नरसंहारका अभियुक्त अदालतमा, न्यूजिल्याण्डका सबै मस्जिदहरु बन्द



क्राइस्टचर्च नरसंहारका अभियुक्त अदालतमा, न्यूजिल्याण्डका सबै मस्जिदहरु बन्द
फोटो : REUTERS

क्राइस्टचर्च : न्यूजिल्याण्डको क्राइस्टचर्च शहरमा रहेको मस्जिदमा आक्रमण गरी ४९ जनाको हत्या गरेको अभियोगमा पक्राउ गरेका २८ वर्षे बर्टन टर्रान्टलाई अदालतमा उपस्थित गराइएको छ। गोलीकाण्डमा करिब ४८ जना घाइते भएको बताइएको छ।

न्यूजिल्याण्डको जेलमा लगाइने सेतो सर्टमा अदालतमा उपस्थित भएका टर्रान्टले अदालत परिसरमै मुस्कुराउँदै 'श्वेत सर्वोच्चता' प्रस्तुत गरेको डेली मेलले उल्लेख गरेको छ।

टर्रान्टले फेसबुक लाइभ गर्दै अल नूर मस्जिदमा भित्र गएर गोली चलाएका थिए। पछि उनले लिन उड मस्जिद गएर समेत गोली चलाएको बताइएको छ। फेसबुकले आफ्नो सर्भरबाट सो भिडियो हटाएको जनाएको थियो।

सम्बन्धित समाचार: न्यूजिल्याण्डका दुई मस्जिदमा आक्रमण, कसले गर्‍यो नरसंहारको लाइभ स्ट्रिमिङ ?

मृत्यु हुने सबैको परिचय खुलेको छैन। यद्यपि मृत्यु हुनेमा भारत,बंगलादेश,इन्डोनेसियाका नागरिक समेत रहेको दाबी गरिएको छ।

गोलीकाण्डपछि सुरक्षालाई ध्यान दिँदै न्यूजिल्याण्डका सबै मस्जिदहरु बन्द गरिएको छ। केही दिनपछि मस्जिद खोलिने बताइएको छ।

अस्ट्रेलियाका टर्रान्टलाई हाल  'वान काउन्ट मर्डर' को अभियोग लगाइएको र अनुसन्धान पछि थप अभियोग लगाउने तयारी भइरहेको बताइएको छ। उनले जमानतका लागि निवेदन भने दिन पाउने छैनन्।

टर्रान्टलाई अदालतमा उपस्थित गराउँदा सुरक्षा व्यवस्थाकडा पारिएको थियो भने सर्वसाधरणलाई प्रवेश गर्न दिइएको थिएन।  न्यायाधिशले अदालतमा उपस्थित गराइएका अभियुक्तको तस्विरमा अनुहार 'ब्लर' गर्न आदेश दिएका थिए।

न्यूजिल्याण्डका प्रधानमन्त्री जसिन्डा अर्देनका अनुसार टर्रान्टसँग पाँचवटा हतियार रहेको थियो। उनले हतियार बोक्न अनुमति पत्र समेत लिएका थिए।

प्रधानमन्त्री जसिन्डाले घटनालाई नरसंहारको संज्ञा दिँदै देशकै कालो दिन भनेकी छिन्। यो घटनाले अब देशको कानूनमा परिवर्तन ल्याउनु पर्ने अवस्था आएको उनले बताइन्।

पक्राउ परेका अरु दुई जनाको अपराधिक रेकर्ड नभेटिएको र अनुसन्धान भइरहेको बताइएको छ। उनीहरुलाई पनि समाजमा वैमनस्यता फैलाउने कार्यमा अभिप्रेरित गरेको आरोप लगाइएको छ। उनीहरुलाई अदालतमा उपस्थित गराइएन।

पहिला तीन जनालाई पक्राउ गरिएको भनिएको थियो। पछि पक्राउ परेका मध्ये एक हतियारधारी व्यक्तिले प्रहरीलाई नै सहयोग गर्न खोजिरहेको खुलेपछि उनलाई रिहा गरिएको थियो।

अदालतले टर्रान्टलाई प्रहरी हिरासतमा पठाएको छ र अप्रिल ५ मा अर्को सुनुवाई हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell