PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

हिमानीका मामाको पहलमा उदयपुरमा पूर्वराजाको 'दरबार' : बिन्तीपत्र चढाउनेदेखि रेशम चौधरीलाई छुटाउनेसम्मको माग

हिमानीका मामाको पहलमा उदयपुरमा पूर्वराजाको 'दरबार' : बिन्तीपत्र चढाउनेदेखि रेशम चौधरीलाई छुटाउनेसम्मको माग

बीपी साह/पहिलोपोस्ट


उदयपुर (गाइघाट) : मधेश यात्राको क्रममा पूर्वराजा ज्ञानेन्द्र शाह उदयपुर जिल्लाको गाइघाट पुग्दा उनको 'दरबार' लाग्यो। जहाँ कयौंले बिन्ती पत्र चढाए भने कयौंले आफ्ना गुनासा र माग राखे।

मधेश यात्राको तेस्रो दिन जनकपुरधामबाट गाइघाटको राधाकृष्ण मन्दिर दर्शन गर्न पुगेका पूर्वराजा शाहको 'दरबार' मन्दिर छेउकै एक आश्रममा लागेको थियो, जहाँ आयोजकले व्यापारी, नेतादेखि विशिष्ट व्यक्तिहरुलाई राजासँग भेटाउने र वान टु वान कुराकानी गराउने कार्यक्रम राखेका थिए।

यसको नेतृत्व गरेका थिए पूर्व युवराज्ञी हिमानी शाहका मामा किशोरबहादुर सिंह लगायतले। मन्दिर दर्शनपछि सिंहसहितका सीमित नेताहरुसँग पूर्वराजा शाहको गोप्य छलफलसमेत भएको थियो।

त्यसपछि 'दरबार' लाग्यो। 

के भयो दरबारमा?

आयोजकले माइकमा अनाउन्स गरेर पहिलेदेखि नै नाम टिपाएर राखेका व्यक्तिहरुलाई बोलाएका थिए। सबभन्दा पहिले ओम शान्तिमा लागेकी दिदीहरु पुगेर पूर्वराजालाई सम्मान पत्र दिँदै कानमा केही कुरा भनिन्। ज्ञानेन्द्रले बुझेँ बुझेँ शैलीमा टाउको हल्लाइरहेको देखिन्थ्यो।

त्यसपछि गाइघाटको उद्योग वाणिज्य संघका व्यापारीहरु लाइनमा लागेका थिए। ती व्यापारीहरुले पूर्वराजा शाहलाई आफ्नो परिचय दिँदै गुनासाहरु राखेका थिए।

त्यसपछि पालो आयो नेताहरुको। उदयपुरको कटारीबाट समेत राप्रपाका केही नेताहरु सहभागी भएका थिए।

स्थानीय त्रियुगा नगरपालिकाकी पूर्व उपमेयर एवं राप्रपाकी नेतृ रामवती चौधरी थारुले पनि पूर्वराजा शाहको दरबारमा आफ्नो कुरा भन्ने मौका पाइन्।

उनले पूर्वराजाको कानमा सानो स्वरमा भन्दा नसुनेपछि अलिक ठूलो स्वरमा भनेकी थिइन्।

उनले जन्मकैदको फैसला सुनाइएका सांसद रेशम चौधरीलाई छुटाउन आग्रह गरिन्। उनको आग्रहपछि पूर्वराजा शाहले टाउको हल्लाएका थिए।

त्यसपछि अर्को माग पनि उनले गरिन्, अहिले सातवटा प्रदेश मात्र छ। त्यसबेला थारुवान प्रदेश दिने कुरा भएको थियो। खै त थारुवान प्रदेश? महाराज, थारुवान प्रदेश पनि बनाई दिनु पर्‍यो।

पूर्वराजा शाहले कुरा सुनेर टाउको हल्लाए। र, थारु विदा भइन्।

रामवती चौधरी जसले ज्ञानेन्द्रसित थारुवान प्रदेशको माग गरिन्

यो क्रम चलिरह्यो।

उदयपुरको कटारीबाट आएका एक नेताले बाटो बनाउन पूर्वराजासँग आग्रह गरिएको सुनियो।

केहीले पूर्वराजाको हातमा बन्द खाममा केही पत्रहरु पनि बुझाएका थिए। पत्रमा लेखिएको विषयमा कसैले बोल्न चाहेनन्।

तर, पहिलोपोस्ट टीमलाई पूर्वराजालाई बुझाउनुअघि हात परेको एक पत्रमा लेखिएको थियो, देशमा धार्मिक असहिष्णुता बढ्दै गएको छ।...देश विखण्डनतर्फ गोडिएको छ।..यी सबैलाई जोगाउन राजसंस्था मात्र आवश्यक छ। 


त्यस्तै, एउटा अर्को पत्रमा देशमा राजा केही वर्षभित्रै फर्किने विश्वास रहेको लेखिएको थियो। लामो चन्दनको टीका लगाएका र टुपी पालेका व्यक्तिले विभिन्न योगहरुको हिसाब किताब गरेर केही वर्षभित्रै राजा फर्किने कुरा लेखेका थिए।

तर, उनको नाम आयोजकले माइकबाट घोषणा गरेनन्। त्यसैले उनले त्यो पत्र पूर्वराजाको हातमा दिन पाएनन्। पहिलोपोस्टले पत्रको फोटो खिच्न खोज्दा उनले भने, तपाईले चोरेर आफ्नो नामले छपाउनु भयो भने मेरो घाटा लाग्छ। त्यसैले फोटो खिच्न दिन्नँ।

त्यसपछि उनले त्यो पत्र खाममा बन्द गरेर पूर्वराजाका सचिव सागर तिमिलसिनालाई जिम्मा लगाउन पूर्वराजाको सवारीमा सहभागी भएका सुरक्षाकर्मीलाई दिए।

मन्दिर परिसरमा सहभागी कयौंले पूर्वराजाका लागि बिन्ती पत्र लेखेका थिए। ती पत्रहरु पूर्वराजालाई दिन नसकेपछि शिव सेना नेपाल तथा पूर्वराजाको सचिवालयलाई जिम्मा लगाइएको थियो।

***

मधेश यात्राको तेस्रो दिन गाइघाट पुगेका पूर्वराजा शाहको स्वागतमा जिल्लाको विभिन्न क्षेत्रबाट उनलाई हेर्न आउनेको भिड थियो। जलजलेको एक विद्यालयका शिक्षकसहित विद्यार्थीहरु राजालाई हेर्न आएका थिए।

पूर्वराजाको अन्य जिल्लाको यात्राको भिडभन्दा उदयपुरमा अलिक फरक देखियो। गाइघाटमा कुनै पार्टीको झण्डा प्रयोग भएको थिएन। यहाँ नेपालको झण्डा मात्रै देखिएको थियो। तर, भिडमा अधिकांश राप्रपाका कार्यकर्ताहरु भएको स्थानीय नेताहरुले दाबी गरे।


यसैगरी, पूर्वराजा शाहले राधा कृष्णको मन्दिरमा पूजा गर्दा मन्दिरका पुजारीहरुले राजा आउ देश बचाउको नारा लगाएका थिए। मन्त्र जप गर्ने माइकबाटै राजाको पक्षमा नाराबाजी भएको थियो।
 



ट्रेन्डिङ पोस्ट

Ncell