PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

इन्डोनेसियामा बाढी, ६३ जनाको मृत्यु



इन्डोनेसियामा बाढी, ६३ जनाको मृत्यु
फोटो: nypost.com

जाकार्ता: इन्डोनेसियामा शनिबार राति आएको बाढी पहिरोमा परी कम्तीमा ६३ जनाको मृत्यु भएको छ। 

घटनामा परी अरु कैयौँ बेपत्ता भएका र खोजी कार्य जारी रहेकाले मृत्यु हुनेहरुको संख्या अझ बढ्न सक्ने अधिकारीहरुले बताएका छन्। 

देशको पपुआ प्रान्तमा पर्ने जयपुरा जिल्लामा घटना भएको खोजी तथा उद्धार कार्यालयका प्रान्तीय प्रवक्ताले आइतबार जानकारी दिएका छन्। 

अत्यधिक बर्षाका कारण जिल्लाका धेरै ठाउँमा प्राकृतिक प्रकोपका घटनाहरु भएको जनाइएको छ।

 
प्रकोपमा परी २१ जना गम्भीर घाइते भएका छन् भने अरु १८ जना सामान्य घाइते भएका प्रान्तीय प्रकोप व्यवस्थापन निकायको आपतकालिन इकाइका प्रमुख कोरी सिम्बोलोनले जानकारी दिए। 

“दर्जनौ अझै पनि बेपत्ता रहेका छन्, स्थानीय समयानुसार बेलुका छ बजे बाढी आएको थियो,” उनले भने। बाढीबाट प्रभावित भएकाहरुमध्ये तीन हजार जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको उनले बताए। 

बाढीले दर्जनौ घर, पुल, सडकलगायतका भौतिक संरचनामा पनि क्षति पुर्‍याएको सिम्बोलोनले जानकारी दिए। घटनाबाट प्रभावितहरुलाई खोजी तथा उद्धार र राहत वितरण कार्य भइरहेको सरकारी अधिकारीहरुले जनाएका छन्। रासस/सिन्ह्वा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell