काठमाडौं: भारतमा आम निर्वाचन नजिकिँदै गर्दा सामाजिक सञ्जालमा अनेक प्रचारका उपाय अपनाउन थालिएको छ।
भारतको सत्तारुढ दल भारतीय जनता पार्टीले शनिबार सामाजिक सञ्जाल ट्वीटरमा ‘मे भी चौकीदार’ अभियान शुरु गरेको छ। योसँगै भाजपाका नेताहरुले आफ्नो ट्वीटरमा नामको अगाडि चौकीदार थप्न थालेका छन्।
भारतमा यतिबेला #MainBhiChowkidar र #ChowkidarPhirSe ट्वीटरमा ट्रेण्डिङ भइरहेको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले 'मे भी चौकीदार हुँ' भन्ने गीत ट्वीटरमा सेयर गर्दै अभियान शुरु गरेका हुन्। उनले आफ्नो नाम चौकीदार नरेन्द्र मोदी राखेका छन्।
त्यस्तै भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहले पनि नामको अगाडि चौकीदार थपेका छन्। त्यस्तै मन्त्रीहरु पियुस गोयल्स, रवीसंकर प्रसाद, जेपी नाडा, जयन्त सिन्हा र धर्मेन्द्र प्रधानले नामको अगाडि चौकीदार थपेका छन्।
भाजपाका नेताहरुले यतिवेला ट्वीटरमा नामको अगाडि चौकीदार थपिरहेका छन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफू देशको चौकीदार भएको भनेसँगै देशको चौकीदारको साथमा आफू पनि रहेको भन्दै भाजपाका नेता कार्यकर्ताहरुले यतिबेला मे भी चौकीदार र चौकीदार फिरसे अभियान चलाएका छन्।
उता कांग्रेस समर्थकहरुले चौकीदार चोर है अभियान चलाएका छन्। कांग्रेस नेता सलमान निजामिले आफ्नो नामको अगाडि नै 'चौकीदार चोर है' थपेका छन्।