PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

पूर्वराजा ज्ञानेन्द्र र सीके राउत : जनकपुरमा पनि सँगै, सिरहामा पनि सँगै



बीपी साह

पूर्वराजा ज्ञानेन्द्र र सीके राउत : जनकपुरमा पनि सँगै, सिरहामा पनि सँगै

सिरहा (लहान) : पहिलो मधेश आन्दोलनको उदगम स्थल सिरहा जिल्लाको लहानमा आज पूर्व राजा ज्ञानेन्द्र शाह र भर्खरै सरकारसँग ११ बूँदे सहमति गरेर राजनीतिक मूलधारमा आउन लागेका सीके राउत दुवैको कार्यक्रमको संयोग जुर्‍यो।  

सीके नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनले आजदेखि लहानमा राष्ट्रिय परिषद्को बैठक सुरु गरेको छ भने मधेश यात्रामा निस्केका पूर्वराजा ज्ञानेन्द्र शाहले खानासहितको विश्रामका लागि लहान नै रोजे। 

लहान मात्रै हैन विगत केही दिनदेखि पूर्वराजा र सीके प्रदेश नम्बर २ को राजधानी जनकपुरधाममा पनि करिब २ सय मिटरको दूरीमा बसोबास थियो। 

ज्ञानेन्द्रको बास होटल सीताशरणमा थियो भने सीकेको बास बलवा टोलको घरमा थियो। 

बिहान साढे ७ बजे सीके स्कोरपियो गाडीमा नेपाल प्रहरीका दुई जना सुरक्षा गार्डसहित घरबाट निस्किएका थिए। उनी करिब ९ बजेतिर लहानस्थित मारवाडी सेवा समितिमा पुगे, जहाँ स्वतन्त्र मधेश गठबन्धनको राष्ट्रिय परिषद्को बैठक बोलाइएको थियो। 

सुरुमा जनकपुरधाममा हुने भनिएको बैठक पछि लहानमा सारिएको थियो। 

पूर्वराजा भने पौने ११ बजे होटलबाट लहानका लागि निस्किए। करिब १२ बजेतिर उनी लहान पुगे।

त्यही बेला सीके गठबन्धनको राष्ट्रिय परिषद्को बैठक सुरु भयो। बैठक भोलि साँझसम्म चल्नेछ। 

पूर्वराजा ज्ञानेन्द्र र उनको सवारीमा सहभागीहरुले खाना खाएर आराम गर्न रोजेको होटलको नाम थियो दरबार। त्यहाँ खान खाएर केही बेर आराम गरे। उनको सवारी दिउँसो करिब ३ बजे सप्तरीको सखडास्थित छिन्नमस्ता मन्दिर दर्शनका लागि पुग्यो।

छिन्नमस्तामा पनि पूर्वराजालाई हेर्न भिड लागेको थियो। मन्दिर दर्शन गरेपछि पूर्वराजाको पाँच दिने तराई मधेस भ्रमण सकिएको छ। र, साँझ उनको सवारी दमकतिर लागेको छ।

यता, सीकेको राष्ट्रिय परिषद् कडा सुरक्षाकाबीच जारी छ। सदस्यहरुलाई नागरिकता लिएर आउन सूचना जारी गरिएको परिषद्को पहिलो दिनको बैठकमा सदस्यहरुले कुरा राख्दैछन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell