PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

पेट्रोलियम पाइपलाइनको 'डेडलक' हट्यो, वनका कारण रोकिएको ९ किलोमिटरभित्र पाइपलाइन राख्न थालियो



पहिलोपोस्ट

पेट्रोलियम पाइपलाइनको 'डेडलक' हट्यो, वनका कारण रोकिएको ९ किलोमिटरभित्र पाइपलाइन राख्न थालियो

काठमाडौँः वनको प्रक्रियाका कारण दुई महिनादेखि रोकिएको पेट्रोलियम पाइपलाइनको काम सुरु भएको छ। पर्सा राष्ट्रिय निकुञ्जबाट जंगल हुँदै पाइपलाइन लैजानु पर्ने भएपछि झन्डै ९ किलोमिटरको काम रोकिएको थियो।

मन्त्रिपरिषद्बाट रुख काट्ने स्वीकृति पाएसँगै टिम्बर कर्पोरेशन अफ नेपाल (टिसीएन) ले काम अघि बढाएको छ। कर्पोरेशनले काम अघि बढाएपछि पाइपलाइनको काम समेत सुरु भइसकेको नेपाल आयल निगम पेट्रोलियम पाइपलाइन परियोजनाका संयोजक भानुभक्त खनालले जानकारी दिए।

रुख काट्न नपर्ने क्षेत्रमा एक किलोमिटर पाइप विच्छ्याइसकिएको उनले जानकारी दिए।

‘वन क्षेत्रभित्र रुख काट्नु नपर्ने क्षेत्रमा पाइपलाइन राख्ने काम भइसकेको छ। अब सोमबारदेखि टिसीएनले रुख काट्न थाल्नेछ। हामी पाइप विच्छ्याउँदै जानेछौँ’ खनालले भने, 'हामीले डेढ महिनाभित्र वन क्षेत्रभित्रको ९ किलोमिटरमा पाइपलाइन विच्छ्याइसक्ने लक्ष्य लिएका छौँ।'

उनका अनुसार चैतभित्रै परीक्षण सक्ने लक्ष्य राखिए पनि वनको प्रक्रियाले ढिला भएको हो। ‘यो परियोजनाका लागि वन मन्त्रालयले समेत फास्ट-ट्रयाकमा काम गरेर सहयोग गरिदिएको हो। रुख काट्ने टेन्डर लगायतको प्रक्रिया पनि छिटो भएको हो’ खनाले भने, 'परियोजनामा सरकारका सबै निकायको सहयोग महत्त्वपूर्ण छ। स्थानीयको सहयोग अझै उत्साहजनक छ।’

नेपाल-भारत पेट्रोलियम पाइपलाइनको काम नेपाल र भारत दुबैले प्राथमिकता राखेकाले सोचेभन्दा बढी प्रगति भएको उनले बताए।

एक वर्षको अवधिमा यो आयोजनाको प्रगति अभूतपूर्व भएको खनालले दाबी गरे। उनका अनुसार डेडलाइन केही पछि सरे पनि जेठको अन्तिमसम्ममा पाइपलाइनमार्फत तेल आउनेछ।

‘अरू कुनै समस्या नआएमा हाम्रो दृढ संकल्प भनेको जेठको अन्तिमसम्ममा पाइपलाइनमार्फत तेल ल्याउने हो। त्यसका लागि भारतीय पक्षले पनि तीव्र गतिमा काम गरिरहेका छन्’ खनालले भने, 'हामीलाई इन्डियन आयल कर्पोरेशनले पटनाबाट पम्प गरेर तेल दिनेछ। मोतिहारीको डिपो बनेपछि त्यहीँ पाइप जोडेर तेल दिनेछ।’

उनका अनुसार पाइपलाइनका लागि आवश्यक ट्यांक समेत तयार भइसकेको छ।

‘दुईवटा ट्यांक हामीलाई आइओसीले दिइसकेको छ। अर्को दुईवटा ट्यांक समेत केही दिनभित्रै दिनेछ’, उनले भने, 'पाइपलाइनबाट तेल स्टोरेजका लागि १६ हजार किलोलिटरका ट्यांक तयार भइसक्नेछ।’

 

प्रगति अभूतपूर्व

नेपाल-भारत पेट्रोलियम पाइपलाइन निर्माणको चर्चा दुई दशक भयो। दुई वर्षअघि नेपाल र भारतबीच पाइपलाइन निर्माणको सम्झौता भयो। १२ महिनाको अवधिमा परियोजनामा अभूतपूर्व प्रगति देखिएको छ।

सम्झौता भएर दुबै देशको मन्त्रिपरिषदबाट अनुमोदन भएपछि गत मार्चमा पाइपलाइन निर्माण सुरु भयो। दश महिनामा नेपालतर्फको २७ किलोमिटर क्षेत्रमा पाइपलाइन विच्छाइएको थियो। भारततर्फ मोतिहारीसम्म ३३ किलोमिटर पाइप विच्छ्याइसकिएको छ। नेपालमा निर्माण भइरहेका ठूला परियोजनामध्ये पाइपलाइन परियोजना मात्रै छिटो प्रगति भएको परियोजना हो।

 

कसरी भयो उत्साहजनक?

अरू परियोजना वर्षौँ पूरा नभए पनि यो परियोजनाको प्रगति उल्लेख्य छ। नाकाबन्दीपछि इन्डियन आयल कर्पोरेशन (आइओसी) को नकारात्मक छवि सुधारले पनि परियोजनाले गति लिएको छ।

परियोजना निर्माणका लागि निगमले पनि प्रभावकारी भूमिका खेलेको छ। यो परियोजना समयमै पूरा गर्न निगमका नायव कार्यकारी निर्देशक सुशील भट्टराई, परियोजना संयोजक खनाल, अमलेखगञ्ज डिपो प्रमुख प्रदीप यादवले महत्त्वपूर्ण भूमिका खेले। प्रतिस्पर्धामा भर्खरै नियुक्त भएका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले समेत यसलाई प्रभावकारी  रुपमा अघि बढाउन सरकारी संयन्त्रमा क्रियाशील भएर लागे।

सम्झौतामा पाइपलाइन निर्माणमा लाग्ने खर्चमध्ये भारु दुई अर्ब भारतले र बाँकी भारु ७५ करोड नेपालले ब्योहोर्ने उल्लेख छ। परियोजना अन्तर्गत अत्याधुनिक प्रयोगशाला, ठूलो भण्डारण क्षमताको ट्यांकी र स्वचालित इन्धन 'लोडिङ' प्रणालीको जडान हुनेछ।

परियोजना पूरा भएपछि निगमलाई बिना रोकटोक पेट्रोलियम पदार्थ आपूर्ति हुन्छ। निगमका अनुसार परियोजनापछि नेपाल भित्र्याउन ट्यांकरले खपत गर्ने इन्धनबाट प्रतिदिन २९ लाख २० हजार खर्च कटौती हुनेछ। त्यसै गरी निगमको ७१ करोड वार्षिक ढुवानी खर्च बचत हुन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell