PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

स्वतन्त्र मधेस गठबन्धनमा ३५ सदस्यीय कार्यकारिणी समिति, पार्टीको नयाँ नाम 'जनमत पार्टी'



स्वतन्त्र मधेस गठबन्धनमा ३५ सदस्यीय कार्यकारिणी समिति, पार्टीको नयाँ नाम 'जनमत पार्टी'
फोटो: .facebook.com/drckraut

काठमाडौं: सीके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनको केन्द्रीय कार्यकारिणी समितिको बैठक पार्टीको नयाँ नाम पारित गर्दै सम्पन्न भएको छ। बैठकले पार्टीको नाम जनमत पार्टी राख्ने निर्णय गरेको छ।

स्वतन्त्र मधेस राज्यको माग राख्दै गठन भएको गठबन्धनले फागुन २४ गते सरकारसँग सहमति गर्दै विखण्डनकारी गतिविधि त्याग गर्ने घोषणा गरेको थियो। उसले सहमतिमा नेपालको संविधान स्वीकार गर्ने सहमति गरेको थियो।

बैठकले राउतको नेतृत्वमा जनमत पार्टीको ३५ सदस्यीय कार्यकारिणी समितिसमेत गठन गरेको छ।

सिरहा जिल्लाको लहान वडा नं-७ मा चैत्र ३-४ गते बसेको राष्ट्रिय परिषद्को बैठक (केन्द्रीय भेला)मा विभिन्न जिल्लाबाट आएका १५० भन्दा बढी प्रतिनिधिहरुको सहभागिता थियो।

बैठकले स्वतन्त्र मधेश गठबन्धनले चलाएको 'मधेश स्वराज आन्दोलन'लाई सरकारले स्वागत गरेको भन्दै सरकारसँग भएको ११ बुँदे सहमतिको स्वागतसमेत गरेको छ। बैठकले सहमतिलाई ऐतिहासिक उपलब्धी भएको निष्कर्षसमेत निकालेको छ।

बैठकले जनताको हक र अधिकारको लागि संघर्ष गर्न नेपालको संविधान भित्र रहेर पार्टी स्थापना गरी अगाडी बढ़ने निर्णय गरेको बैठक पछि जारी गरिएको वक्तव्यमा उल्लेख छ।

पार्टीको नाम जनमत पार्टी र पार्टीको झण्डा रातो सेतो र हरियो रंगको स्ट्रीप तथा बीचको सेतो स्ट्रीपमा रातो रंगको अष्टदल राख्ने निर्णय गरेको छ। बैठकले पार्टीको चुनाव चिह्न अष्टदल राख्ने निर्णय गरेको छ। बैठकले पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्ने निर्णयसमेत गरेको छ।

बैठकले सरकारसँग भएको सहमतिलाई कार्यान्वयन गर्नका लागि आफ्ना कार्यकर्तामाथि लगाइएका मुद्धाहरु फिर्ता गराउनका लागि पहल गर्नका लागि तीन सदस्यीय सहमति कार्यान्वयन कार्यदलसमेत बनाएको छ। कार्यदलको संयोजकमा चन्दन सिंह रहेका छन्।

'जनमत पार्टी को गठनसँगै जनमत जुटाउन जनता समक्ष जाने र जनमतबाटै संवैधानिक रुपमा नै जनताको समस्या, माग, हकहित र अधिकारको लागि अनवरत समर्पित र नि:स्वार्थ भावले संघर्षरत रहने प्रतिबद्धता भेलाले जाहेर गरेको छ,' वक्तव्यमा भनिएको छ।

 

केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरु

डा. सिके राउत राष्ट्रिय अध्यक्ष

केन्द्रिय सदस्यहरु

कैलाश महतो (महोत्तरी),

राज कुमार यादव (सिरहा),

अब्दुल खान (बर्दिया),

चन्दन सिंह (महोत्तरी),

 बबिता ईसर (सप्तरी),

कौशिला महतो (झापा),

परमेश्वर मुर्मु (मोरंग),

सीताराम पंडित (सुन्सरी),

सुरेन्द्र शर्मा (सप्तरी),

सतिला यादव (सिरहा),

इन्द्रजीत यादव (धनुषा),

संजय यादव (महोत्तरी),

नरेश कुशवाहा (सर्लाही),

वीरेन्द्र साह (रौतहट),

दिनेश यादव (बारा),

संजय साह (पर्सा),

ध्रुव गौड (नवलपरासी),

 भोपेन्द्र यादव (रुपन्देही),

हकिकुल्ला खान (कपिलवस्तु),

राधा यादव (दाङ),

इरफान अहमद शेष (बाँके),

महेन्द्र प्रसाद चौधरी (कैलाली),

दुर्गा चौहान (नवलपरासी)

र आशा मेहता (सुन्सरी)

बाँकी १० जना सदस्यहरु मध्ये महिला, दलित,जनजाति, अल्पसंख्यक सहितको प्रतिनिधित्व हुने गरी मनोनित गर्न सर्वसम्मतिले जिम्मेबारी पार्टीका राष्ट्रिय अध्यक्षलाई दिइएको छ।

भेलाले निर्वाचन आयोगमा दल दर्ता भए सँगै केन्द्रिय कार्यकारिणी समितिलाई विस्तार गर्ने गरी जिम्मेवारी अध्यक्ष राउतलाई दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell