PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

धुलिखेलबाट तारमा झुन्डिँदै पाँचखाल : दुई नगर जोड्ने यस्तो छ 'जीप लाइन'



स्वेच्छा राउत

धुलिखेलबाट तारमा झुन्डिँदै पाँचखाल : दुई नगर जोड्ने यस्तो छ 'जीप लाइन'

काठमाडौं : खासाबाट आयातित सामान काठमाडौंसम्म ढुवानी गर्थे केदार थापा। २०७१ अघिसम्म गज्जब चलेको व्यवसाय २०७२ सालको वैशाखमा गएको भूकम्पपछि प्रभावित भयो। तातोपानी नाकास्थित नेपाल चीन जोड्ने मितेरी पुल ठप्प। सडक भत्कियो, पहिरो र बाढीको चपेटामा पर्‍यो। आयात, निर्यात पनि बन्द। ल्याउँदै गरेको सामान पनि नाकामै रह्यो।

केदार थापा भने खाली बस्न चाहेनन्। तुरुन्त नयाँ व्यवसायको योजनामा लागे। जसका लागि क्यानडामा रहेका भाइ बद्री थापाले ‘एड्भेन्चर स्पोर्टस् जिपलाइन’ बारे सुनाए। उनलाई भाइको सुझावले उत्साही बनायो। किनकि उनी पनि सहासी खेलमा रुची राख्थे। उनले १६ वर्षको उमेरमै द लास्ट रिसोर्टमा सुपरभाइजरको रुपमा काम गरिसकेका थिए। बन्जी, र्‍याफ्टिङ लगायत खेललाई नजिकबाट नियालेका थिए।

‘जिपलाइन केही फरक अनि छुट्टै रोमाञ्चता हुन्छ जस्तो लाग्यो’ केदारले सुनाए, 'सुरु गर्नैपर्छ भन्ने भयो।’

उनले आफ्नो योजना भुपेश श्रेष्ठलाई सुनाए। काठमाडौंका २७ वर्षीय श्रेष्ठ खासाबाट लुगा आयात गर्थे। भूकम्पपछि उनको व्यवसाय पनि प्रभावित भयो। वर्ष दिनपछि केरुङबाट सामान ल्याउन सुरु त भयो तर तातोपानी नाकाजस्तो सहज भएन। १० दिनमा आइपुग्ने सामानका लागि महिनादिन पर्खन पर्ने भयो। विविध अप्ठ्याराहरु बीच उनी पनि नयाँ केही गर्ने योजनामा थिए। अनि बन्यो जिपलाइनको योजना।

'साहसिक सँगै पर्यटन केन्द्रित यो खेल सञ्चालनको लागि तयार भएँ। त्यसपछि मिलेर तयारीमा जुट्यौं,’ उनले भने।

वर्ल्ड वाइड एड्भेन्चर प्रालिको नाममा दुईजना मिलेर जिपलाइन सुरु गर्ने तय भयो। त्यसका लागि पहिलको काम लोकेसन हन्ट। तातोपानी आवतजावत गरिराख्ने उनीहरुलाई द लास्ट रिसोर्टमा हुने साहसी खेलहरुमध्ये बन्जी, स्विङको लोकेसनले आकर्षित गरेको थियो। सकेसम्म त्यस्तै ठाउँको खोज्न थाले। त्यसैबीच आँखामा पर्‍यो धुलिखेलको थाक्लेडाँडा। धुलिखेलमै जिपलाइन सञ्चालनमा ल्याउन सके दुईवटा फाइदा हुने देखे। एक काठमाडौंबाट नजिक र अर्को धुलिखेल आफैँमा पर्यटकीय नगरी। थाक्ले डाँडाको उचो बिन्दुबाट ल्यान्डिङका लागि उचित ठाउँ देखे खावा।



‘धुलिखेलको थाक्लेडाँडाबाट झुण्डिएर पाँचखालको खावामा पुगिने। कस्तो गज्जब,’ केदारले सुनाए। 

अन्तत दुवै स्थानमा जग्गा धनीसँग सहमति भयो, पन्ध्र वर्षसम्म वार्षिक भाडा तिर्नेगरी। गत साउनबाट नै निर्माण कार्य सुरु भयो। माघसम्ममा दुई महिना प्रशिक्षण गर्नेगरी तयार भयो। यही चैतको अन्त्यसम्ममा जिपलाइनको औपचारिक सुरुवात हुँदैछ। आफूहरुले पर्यटन वर्ष २०२० लक्षित सेवा सुरु गरेको केदार श्रेष्ठको दाबी छ। भने, ’पर्यटन नगरी धुलिखेलको प्रचार प्रसारमा हाम्रो प्रोजेक्टको योगदान रहने आशा छ।’ 

जिप लाइनको दूरी एघार सय मिटर छ। समुद्रसतहदेखि तेह्र सय मिटर उचाइबाट टेक अफ हुन्छ। ‘भर्टिकल ड्रप’ दुई सय ४० फिट हुँदै ल्यान्डिङ बाह्र सय मिटरको सतहमा हुन्छ।

जिपलाइन सञ्चालनका लागि वातावरण तथा वन मन्त्रालय, पर्यटन बोर्ड, पर्यटन मन्त्रालय एवं सम्बन्धित वडा कार्यालयहरुमा अनुमति लिएका छन् उनीहरुले।



नेपालमा पहिलो पटक सुपरम्यान र दुईजनाले एकसाथ गर्न मिल्ने (टेन्डम) जिपलाइन सुरु भयो यही प्रोजेक्टबाट।  यी दुई नयाँ सेवासँगै क्लासिक जिपलाइन पनि चल्दैछ। 

युरोपियन र अमेरिकी राष्ट्रिय सुरक्षा मापदण्डमा आधारित  अष्ट्रिया र भारतीय प्रविधिमा निर्माण गरिएको जिपलाइनमा नेपाल र भारतका जिप मास्टर छन्। हालसम्म ४ करोड ७५ लाख लगानी भएको जिपलाइनसँगै चिलड्रेन एडभेन्चर क्याम्प र रेस्टुरेन्ट निर्माणको अन्तिम चरणमा छ। यी सबै तयार हुँदा करिब ७ करोडको लगानी हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell