PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

पार्टी गठनपछि अब के रणनीतिमा छन् सीके राउत?



बीपी साह

पार्टी गठनपछि अब के रणनीतिमा छन् सीके राउत?
फोटो : राउतको फेसबुक

सिरहा (लहान) : सरकारसँग फागुन २४ गते भएको ११ बुँदे सहमति अनुसार सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनले ‘जनमत पार्टी’ गठन गरेको छ।

नेपालको संविधान बमोजिम गठबन्धनका संयोजक डा.सीके राउतको नेतृत्वमा ३५ सदस्यीय पार्टी गठन भएको हो। उक्त पार्टीले होलीलगत्तै अष्टदल चुनाव चिह्नका साथ निर्वाचन आयोगमा दर्ता गर्ने तयारी गरेको छ। 

आइतबार र सोमबार सिरहाको लहानस्थित मारवाडी सेवा सदनमा भएको गठबन्धनको राष्ट्रिय परिषद् बैठकले सरकारसँग भएको सम्झौता ऐतिहासिक एवं महत्वपूर्ण भएको भन्दै अक्षरसः पालना गर्ने निर्णय पनि गरेको छ। सोही बमोजिम पार्टी गठन गरी संगठन विस्तारको तयारी गरिएको छ।

मधेशका सबै जिल्लामा न्यूनतम ५–५ स्थानमा जनमत पार्टीले सभा गर्नेछ। त्यसपछि जनमत पार्टीले महासभा गर्ने तयारी गरेको छ। 

‘जनमत देऊ, अधिकार लिऊ’ नाराका साथ पार्टीले अभियान थाल्नेछ। सदस्यता वितरणदेखि पार्टी कार्यालय स्थापनाको योजना बनाइएको छ।

अन्य पार्टीहरुप्रतिको नीति

जनमत पार्टीले कुनै पनि पार्टीलाई शत्रु शक्तिको रुपमा लिएको छैन। जुनसुकै पार्टीबाट जोकोही पनि पार्टीमा प्रवेश गर्न पाउने छन्। 

जनमत पार्टीको विचारधारा मान्ने जसलाई पनि स्वागत गर्ने तयारी छ।

पार्टी विस्तारका क्रममा अन्य पार्टीका नेताहरुसँग छलफल तथा पार्टीहरुसँग सहकार्यका लागि समिति गठन गरिने भएको छ।

सबभन्दा बढी राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी फोरम नेपालबाट दोस्रा तहका नेताहरु जनमत पार्टीमा प्रवेश गर्ने दावी गठबन्धनका नेताले गरे। 

पार्टी दर्ता लगतै हुने सभाहरुको क्रममा उनीहरुलाई पार्टी प्रवेश गराउँदै जिम्मेवारी दिइनेछ।

चुनाव उपयोगको नीति

जनमत पार्टीले मधेशी जनताको अधिकारका लागि चुनावलाई उपयोग गर्ने नीतिको रुपमा लिएको छ। 

लोकतान्त्रिक पद्धतिबाट चुनावलाई उपयोग गर्ने नीति बनेको बताउँदै स्रोतले भन्यो,‘चुनावमा कुन रुपले सहभागी हुने भन्ने विषयमा निर्णय भइसकेको छैन।’


चुनावअघिसम्म १० लाख सदस्य बनाउने रणनीति पार्टीले लिएको छ। 

बल सरकारको कोर्टमा

स्वतन्त्र मधेश गठबन्धनले सरकारसँग भएको ११ बुँदे सहमतिको पालना गर्दै संविधान स्वीकार गरेर संविधानको दायरभित्र रहेर काम गर्ने निर्णयसमेत गरेको छ।

गठबन्धनको तर्फबाट सहमतिको कार्यान्वयन भएपनि सरकारको तर्फबाट सहमति कार्यन्वयनको प्रक्रियामा नगएको आरोप पार्टीले लगाएको छ।

‘हामीले हाम्रोतर्फबाट सहमति पालना गरेका छौं,’ जनमत पार्टीका केन्द्रीय सदस्य अब्दुल खान भन्छन्,‘बल अब सरकारको कोर्टमा छ। सरकारको तर्फबाट सहमतिको पालना होस्।’

राउत एक स्टेप पछाडि कि अगाडि?

जनमत पार्टीले नेपालको अहिलकै संविधान बमोजिम गतिविधि गर्ने भनेको छ। तर, मधेशकेन्द्रित राजपा र फोरमले संविधान संशोधनको माग गर्दै आएको छ।

नेपालको कुनै व्यवस्था नमान्ने बताउँदै आएका डा.राउतले संविधान स्वीकार गर्दै पार्टी गठन गर्नुलाई राष्ट्रिय राजनीतिको मूलधारमा आएको रुपमा हेरिएको छ।

तर, स्वतन्त्र मधेशको चर्को नारा लगाएर राजनीतिमा प्रवेश गरेका डा.राउतले स्वतन्त्र मधेशको एजेण्डा छोडेकै हो त? आफ्नो चर्को नारामा आकर्षित भएर आफ्नो पछि लागेकाहरुलाई उनले के भनेर थामथुम पारिरहेका छन् त?

यसको जवाफ उनका भावी गतिविधिहरुले देलान्। कार्यकर्ताहरु भने अहिले भन्दैछन्,‘डाक्टर साहब हार मान्नेवाला मान्छे होइन।’

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell