PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

बयान नसकिएकाले दिल्लीराज विष्ट प्रहरी नियन्त्रणमै



एम बम

बयान नसकिएकाले दिल्लीराज विष्ट प्रहरी नियन्त्रणमै

कैलाली : अदालतमा बयान नसकिएकाले पूर्व एसपी दिल्लीराज विष्ट आज प्रहरी नियन्त्रणमा नै रहने भएका छन्। विष्ट आजैमात्र कञ्चनपुर जिल्ला अदालतमा उपस्थित भएका हुन्। 

महेन्द्रनगरकी १३ वर्षीया निर्मला पन्तको हत्या प्रकरणको प्रमाण नष्ट र नक्कली अभियुक्त खडा गरेको आरोप लागेका तत्कालीन जिल्ला प्रहरी प्रमुख विष्टसँग साँझ पौने ५ बजेसम्म बयान लिइएको थियो। 

बिहान ११ बजेबाट सुरु भएको बयान नसकिएपछि उनलाई प्रहरी नियन्त्रणमा नै राख्न जिल्ला अदालतले निर्देशन दिएको श्रेस्तेदार हरिकृष्ण अवस्थीले बताए। आदेशपछि विष्टलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर  लगिएको छ।

घटनामा विभिन्न आरोप लागेका अन्य ६ जना प्रहरीलाई भने अदालतले धरौटीमा रिहा गर्ने आदेश दिइसकेको छ।

अदालतले इन्स्पेक्टर एकीन्द्रबहादुर खड्का र डिएसपी ज्ञानबहादुर सेतीलाइ ९ लाख रुपैयाँ, इन्स्पेक्टर जगदीशप्रसाद भट्टलाई ४ लाख, सोको (सिन अफ क्राइम) अफिसर सई हरसिंह धामीलाई ३ लाख ५० हजार,  स्थायी प्रहरी पोस्ट सालघारीका इन्चार्ज सई रामसिंह धामीलाई ३ लाख, जवान चाँदनी साउदलाई २ लाख ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

गत पुस ३ गते निर्मलाकी आमा दुर्गादेवी पन्त र प्रहरीले मुख्य अभियुक्त भनेर सार्वजनिक गरेका दिलीपसिंह विष्टका दाजु खड्कसिंह विष्टले ८ जना प्रहरी विरुद्ध जाहेरी दिएका थिए। उनीहरूले प्रहरीले घटनामा लापरबाही गरेको र प्रमाण नष्ट गरेको दाबी गरेका थिए। 

घटनाको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान व्युरो काठमाडौंबाट खटिएका डिएसपी अङ्गुर जिसी भने अहिलेसम्म अदालतमा उपस्थित भएका छैनन्। 

एसपी विष्ट र घटना भएको वडा प्रहरी कार्यालयका तत्कालीन प्रमुख इन्स्पेक्टर जगदीशप्रसाद भट्टलाई प्रहरीले सेवाबाट हटाइसकेको छ। बाँकी प्रहरी निलम्बनमा छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell