PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

मोरङबाट विप्लवका दुई नेता पक्राउ: प्रहरीले सार्वजनिक गर्न चाहेन वास्तविकता



अनन्तराज न्यौपाने

मोरङबाट विप्लवका दुई नेता पक्राउ: प्रहरीले सार्वजनिक गर्न चाहेन वास्तविकता

विराटनगर: हिंसात्मक गतिविधिमा सक्रिय रहेको भन्दै सरकारले प्रतिबन्ध लगाएको नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई नेता मोरङबाट पक्राउ परेका छन्।

पूर्वको उत्तरी र दक्षिण भेगको ग्रामीण वस्तीहरूमा बसेर उक्त समूहले विभिन्न गतिविधि तथा बैठक सञ्चालन गरिरहेको सूचनाका आधारमा केही दिनदेखि सक्रिय प्रहरीले आइतबार साँझ मोरङको कानेपोखरीबाट दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा पार्टीका कार्यवाहक कोशी ब्युरो संयोजक ओखलढुंगा घर भएका घनश्याम श्रेष्ठ (पुष्कर) र काभ्रे घर भएका कोशी व्युरो सदस्य आकाश शर्मा छन्। शंकास्पद गतिवधि गरिरहेको सूचनाका आधारमा पुगेको प्रहरीले उनीहरूलाई कानेपोखरी गाउँपालिका–४ नारायणचौकबाट पक्राउ गरेको हो।

श्रेष्ठ तत्कालिन नेकपा माओवादीका ब्युरो सदस्य थिए। उनी काठमाडौंस्थित मिर्मिरे एफएमका पूर्वअध्यक्ष समेत हुन्। माओवादी जनयुद्धका समयमा मोरङमै सक्रिय रहेका श्रेष्ठ पछिल्लो समयमा काठमाडौंमा थिए। विप्लब नेतृत्वको नेकपामा आबद्ध भएपछि उनी पुनः पूर्व आएका हुन्।

दुबै नेतालाई पक्राउ गरी प्रहरीले राति नै इलाका प्रहरी कार्यालय पथरी पुर्‍याएको सुरक्षा स्रोतले जनाएको छ। त्यसपछि भने उनीहरूलाई कहाँ लगिएको छ भन्ने खुलेको छैन। यद्यपि विराटनगमै प्रदेश प्रहरी कार्यालय वा दंगा नियन्त्रण गणमा राखिएको हुनसक्ने स्रोतले जनाएको छ।

आफ्ना दुई नेताहरू पक्राउ परेको विप्लब नेतृत्वको नेकपाले पनि पुष्टि गरेको छ। पार्टीको कोशी ब्युरो सदस्य प्रज्वल श्रेष्ठले दुबै जनालाई पक्राउ गरी प्रहरीले बेपत्ता बनाएको बताए। पक्राउ परेकालाई चरम यातना दिएको पनि उनको दाबी छ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक मनोजकुमार केसीले उनीहरू पक्राउ परेको जानकारी नभएको जिकिर गरे। कोही पक्राउ परेको भए पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने उनले बताए। विप्लब समूहका नेताहरू पक्राउ परेपछि उनीहरूमार्फत् अन्य नेतासम्म पुग्न उनीहरूलाई सार्वजनिक नगरिएको सुरक्षा स्रोतले जनाएको छ।

सरकारले विप्लब समूहलाई प्रतिबन्ध लगाएपछि केही दिन अगाडि मोरङ प्रहरीले विप्लब नै आएको सूचना पाएको थियो। त्यस सूचनाका आधारमा उनलाई पक्राउ गर्न केही दिन अगाडि डिएसपी नेतृत्वमा प्रहरी टोली उत्तरी मोरङको सर्च अभियानमा गएको थियो। मोरङको केराबारी, लेटाङ्ग, जाते, याङ्गशिलाको गाउँमा प्रहरी पुगे पनि कसैलाई पक्राउ गर्न सकेको थिएन।
सरकारले प्रतिबन्ध लगाएसँगै विप्लव समूहका अधिकांश नेता तथा कार्यकर्ता भूमिगत भएका छन्। 

उनीहरूले प्रयोग गर्ने मोबाइलको सिम पनि परिवर्तन गरेको सुरक्षा स्रोतले जनाएको छ। प्रहरीले सूचना सङ्कलन, निगरानी र कारबाहीको काम गोप्य राख्न प्रदेश प्रहरी कार्यालय अन्तर्गतको विशेष ब्युरोलाई पनि सक्रिय बनाएको छ।

शुक्रबार राति प्रहरीले पार्टीको मध्य केन्द्रीय कमान्ड इन्चार्ज हेमन्तप्रकाश ओली (सुदर्शन)सहित ९ जनालाई काभ्रेबाट पक्राउ गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell