PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

नेपालमा ऊर्जा क्षेत्रमा लगानी गर्न चेक गणतन्त्रको चासो



पहिलोपोस्ट

नेपालमा ऊर्जा क्षेत्रमा लगानी गर्न चेक गणतन्त्रको चासो

काठमाडौं : युरोपेली मुलुक चेक गणतन्त्रले नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न इच्छा व्यक्त गरेको छ। आज ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनसँग भेट गर्दै नेपालका लागी चेक गणतन्त्रका राजदूत मिलन हेवोर्काले नेपालमा सौर्य ऊर्जा तथा जलविद्युतका क्षेत्रमा लगानी गर्ने चासो व्यक्त गरेका हुन्।

चेक राजदूतले नेपालमा एक सय मेगावाटसम्मको जलविद्युत परियोजनामा लगानी गर्न चेक कम्पनीहरु इच्छुक रहेको जानकारी दिएको उर्जामन्त्रीको सचिवालयले जनाएको छ। 

‘सौर्य ऊर्जा र जलविद्युतको क्षेत्रमा काम गर्न केहि चेक कम्पनीहरु इच्छुक छन्, नेपाल सरकारले त्यसको लागि हामीलाई वातावरण बनाई दिनु पर्यो, भन्ने लगानीकर्ताको माग छ। नेपालको उर्जा क्षेत्रमा हामी सहकार्य गर्न चाहन्छौँ,’ राजदूत हेवोर्काले भेटमा भने।

उनले सिंचाई, पानी र आधुनिक पम्पको क्षेत्रमा पनि सहकार्य गर्न सकिने बताएका थिए।

भेटमा चेक राजदूत हेवोर्काले चेक रिपब्लिक र नेपालबीच लामो समयदेखी मैत्रीपुर्ण सम्बन्ध रहेको भन्दै आगामी दिनमा समेत सम्बन्ध अझै सुमधुर हुने विश्वास व्यक्त गरेका छन्। उनले ‘वेस्ट म्यानेजम्याण्ट’ (फोहर व्यवस्थापन), स्मार्ट मिटर र स्मार्ट ग्रिडको क्षेत्रमा काम गर्न चेक कम्पनीहरु इच्छुक रहेको जानकारी गराएका थिए। 

भेटमा उर्जामन्त्री पुनले नेपाल र चेक रिपब्लिकको बीचमा धेरै समानता रहेको भन्दै आगामी दिनमा दुई देशबीच अन्तर्राष्ट्रिय फोरमहरुमा समेत सहकार्य बढाउँदै लैजाने बताएका थिए। 

उनले नेपालमा विदेशी लगानीका उपयुक्त वातावरण बनेको भन्दै चेक रिपब्लिकका लगानीकर्ताहरुलाई समेत नेपालमा लगानीका लागी आह्वान गरेका थिए। 


‘विदेशी लगानीलाई सहयोग पुग्ने गरी हामिले कानुन निर्माण गरेका छौं, अहिले लगानीका लागि उपयुक्त वातावरण छ,’ उनको भनाई थियो, ‘तपाईमार्फत चेकका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गर्न चाहन्छु।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell