PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

पाहाँचह्रेको जात्रामा तीनै तीनको संयोग:  तेस्रो दिन तीन रंगका टोपी लगाउनेले जुधाए तीन देउताको खट

पाहाँचह्रेको जात्रामा तीनै तीनको संयोग: तेस्रो दिन तीन रंगका टोपी लगाउनेले जुधाए तीन देउताको खट


काठमाडौँको व्यस्त बजार असनमा शनिबार बेग्लै रौनक थियो। पाहाँ चह्रेको अन्तिम दिन दिउँसो देवीको खट जुधाउने जात्रा हुँदै थियो।

रातो, नीलो र पहेँलो गरी तीन वटा र‌ंगका टोपी र टिसर्ट लगाएकाहरु असनको मुख्य चोकमा भेला भएका थिए।

पाँहाचह्रेको तेस्रो दिन द्य ल्वाकिगु जात्रा मनाइएको हो। अजिमा दिदी बहिनीः लुमधि अजिमा, कङ्ग अजिमा र तेबहाल अजिमालाई खट जात्रा गरी असन पुर्‍याएर जात्रा गरिएको हो। 

त्यसक्रममा तीनै खट जुधाएर एकअर्कालाई आदर र सम्मान प्रकट गरिएको थियो। यस्तै तीनै खटबाट चिलाख साटासाट गरिएको थियो। 

जात्राका क्रममा असनका घरघरबाट चटामरी फाल्ने चलन पनि छ। चटामरी पाउनेलाई लाभ हुने जनविश्वास छ।

के हो पाहाँ चह्रे जात्रा?

हरेक वर्ष घोडाजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म काठमाडौँ उपत्यकावासीहरु पाहाँ चह्रे मनाउने गर्छन्। स्थानीय नेवार समुदायको यो दशैँपछिको ठूलो पर्व हो। 

कसैले यसलाई पासा चह्रे पनि भन्ने गर्छन्। नेवार भाषामा पाहाँको अर्थ पाहुना हो भने पासाको अर्थ साथी हो। चह्रे चन्द्रमासको क्यालेन्डर अनुसार चौधौँ दिनलाई भनिन्छ।

पर्वको पहिलो दिन बिहान विभिन्न शक्तिपीठहरुमा पूजा गरिन्छ भने  साँझ भष्मासुरको डरले लुकेर बसेका महादेवलाई पूजा गरिन्छ। लुकु महाद्यः भन्दै महादेवको एउटा आकृतिलाई जमिनमुनि लुकाएर पूजा गरिन्छ। घरघरमा खाल्डोमा राखिएका महादेवलाई लसुन, मुलाको पहेँलो र सेतो फूल राखेर पूजा गरिन्छ।

त्यसैगरी  कंकेश्वरीदेवी लगायतका विभिन्न शक्तिपीठ देवदेवीका मूर्तिको खटजात्रा गर्ने परम्परा रहिआएको छ।

पाहाँचह्रे पर्वको दोस्रो दिन दुई वर्षसम्मका बालबालिकालाई मरःजा खुवाउने गरिन्छ । ८४ ब्यञ्जनसहतिको उक्त परिकार खुवाउँदा बालबालिका निरोगी हुने र भूतप्रेतले नसताउने जनविश्वास रहेको छ ।

जात्राको अन्तिम दिन दिउँसो असनमा देवीको खट जुधाउने जात्रा हुन्छ। रातो, नीलो र पहेँलो गरी तीन वटा रङ्गका टोपी र टिसर्ट लगाएकाहरु असनको मुख्य चोकमा भेला हुन्छन्।



ट्रेन्डिङ पोस्ट

Ncell