PahiloPost

Jun 18, 2019 | ३ असार २०७६


'त्यो सुन्तले ओठ...'ले बम्बई यात्रामा लगाएको ब्रेक


रीना मोक्तान

'त्यो सुन्तले ओठ...'ले बम्बई यात्रामा लगाएको ब्रेक

भारतको पुनेमा रहेको 'फिल्म एन्ड टेलिभिजन इन्स्टिच्यूट'बाट तीन वर्ष फिल्म, फिल्म इडिटिङ र साउण्डमा इन्जिनियरिङ गरेर तपनाथ शुक्ल सन् १९७५ मा नेपाल फर्के।

शिक्षा मन्त्रालय अन्तर्गतको कोलोम्बो प्लानको छात्रवृति पाएर सन् १९७२ मा उनी पुने पुगेका थिए। बलिउडका अहिलेका नाम चलेका कलाकार उनीसँगै पढ्थे त्यहाँ।

अभिनेता शक्ति कपुर, मिथ्थुन चक्रवती, नसिरुद्दीन शाह, ओम कपुर उनीसँगै पढेका कलाकारहरु हुन। उनीहरु फिल्म पढ्ने, तपनाथ प्राविधिक विषयमा रुचि राख्थे।

भारतमा अध्ययन गरेका उनी नेपालमै केही गर्ने सोच बनाएर आएका थिए।

काठमाडौंमा उनले काम गर्ने दुईवटा मात्र संस्था थिए, रेडियो नेपाल वा तत्कालिन शाही चलचित्र संस्थान।

२५ वर्षीय तपनाथलाई दुई फरक प्रस्ताव आयो पहिलो रेडियो नेपालमा ४७५ लिएर काम गर्ने र दोस्रो शाही चलचित्र संस्थानमा ६०० रुपैयाँ पारिश्रमिक। १२५ रुपैयाँ बढी प्राप्त गर्ने भएकाले उनले शाही चलचित्र संस्थान रोजे।

त्यतिखेर संस्थानको उप-महाप्रबन्धक थिए कलाकार नीर शाह। त्यहाँ काम गर्ने क्रममा उनी नीरका निकट साथी भए। त्यहाँ उनले सिनियर साउण्ड इन्जिनियरका रुपमा १९७५ देखि १९८५ सम्म काम गरे।

नीरले नै उनलाई फिल्म 'बासुदेव'मा ध्वनिको काम गर्ने मौका दिएका हुन्। त्यसपछि उनले लगातार 'सिन्दुर', 'कान्छी', 'जीवनरेखा', 'कुमारी' लगायत फिल्ममा काम गरे।

त्यतिखेर संस्थानले पहिलो रंगीन फिल्म 'कुमारी' बनायो। त्यसमा पनि उनले ध्वनिको काम गरे। प्राइभेट सेक्टरका 'कान्छी' र 'बदलिँदो आकाश'मा पनि उनको विकल्प अरु थिएनन्।

 

पहिलोपटक नेपालमै रेकर्ड भयो गीत

तपनाथले ध्वनिको काममा लामो समय अनुभव बटुलेका छन्। त्यतिखेर नेपालमा फिल्मका गीत रेकर्ड हुँदैन थियो। गीत रेकर्ड गराउन बम्बई जानुपर्ने अवस्था थियो। गायक, गायिका र संगीतकारहरु बम्बई पुगेर गीत रेकर्ड गर्थे।

सम्झन्छन् 'संगीत निर्देशक, गायक, गायिका बम्बईमा गीत रेकर्डिङ गरेर ल्याउँथे। त्यो सब गर्न निकै महंगो थियो।'  

त्यतिखेर संस्थानको प्रमुख साउण्ड रेकर्डिस्ट थिए शुक्ल। गीतका लागि बम्बई धाउनुपर्ने अवस्थालाई देखेर शुक्लले स्टूडियोमा गीत रेकर्ड गराउने सोचे। त्यसै अनुरुप स्टूडियोमा साउण्ड फिक्सिङ गर्ने लगाए। 

फिल्म 'बदलिँदो आकाश'का गीत नेपालमै रेकर्ड गराउन सफल भए शुक्ल। बालाजुस्थित संस्थानको स्टूडियोमा पहिलोपटक फिल्मको गीत रेकर्ड भएको थियो।

'भारतकै क्वालिटीमा नेपालमा पनि गीत रेकर्डिङ गर्न सकिन्छ भनेर मैले र प्रदीप उपाध्याय मिलेर निर्माण टिमलाई कन्भिन्स गर्‍यौं', उनी सम्झन्छन् 'जे जति उपकरण उपलब्ध थियो, त्यसैको आधारमा हामीले रेकर्डिङ गरेका हौं। भारतमा ठूलो मिक्सर हुन्थ्यो, हामीसँग त्यसको दाँजोमा सानो थियो।'

रेकर्डिङ भएका गीत सुनेर नारायण गोपाललगायत अन्य गायक/गायिका सुरुमा त दंग परेका थिए।

फिल्मकर्मीका लागि खुशीको कुरा थियो त्यो। किनकि लामो यात्रा र धेरै खर्च गरेर बम्बई जानुपर्ने अवस्था बाँकी रहेन।

आफूहरुको प्रयासका कारण रेकर्ड सम्भव भएको दाबी गर्छन् शुक्ल। सुनाए, ' फिल्मको पाँचवटै गीत हामीले रेकर्ड गरेका थियौं। रेकर्डिङका लागि सामान पुग्दैन थियो। हामीले आँट गर्‍यौं। अनि सम्भव भयो। नत्र त सबैलाई बम्बई धाउनु पर्थ्यो।'

त्यतिखेर एकै पटक संगीत र गीत रेकर्ड गरिन्थ्यो। अहिले त संगीत पहिल्यै रेकर्ड गरिएको हुन्छ।

स्टूडियोको एकातिर ५० जनाको समुहले तबला, ढोलक, सितार, भ्वाइलेनलगायत विभिन्न बाजा बजाउनेहरुको समूह हुन्थ्यो। अर्कातर्फ बुथ नजिकै उभिएका गायक, गायिका हुन्थे।

गायक, गायिकाले हेडफोन लगाएका हुन्थे। संगीतकारले बजाएको धुन हेडफोनबाट सुनेर गीत गाउँथे गायक/गायिका। साउण्ड रेकर्डिस्ट शुक्ल सबैलाई निर्देशन दिन्थे एकै लय गीत मिलाउन। पुराना दिनहरु सम्झदै सुनाउँदा दंग थिए उनी।

त्यही संगीतमा गायकले स्वर दिन्थे। शुक्ल संगीत र स्वर मिक्सिङ गर्थे, टेप रेकर्डमा गीत रेकर्ड हुन्थ्यो।

त्यतिखेर एउटा गीत रेकर्ड गराउन ४ दिन लाग्ने गरेको शुक्ल बताउँछन्।

शुक्ल सम्झन्छन्, 'पटकपटकको रिहर्सलपछि ओके हुन्थ्यो। त्यसपछि बल्ल गीत रेकर्डिङ सुरु हुन्थ्यो। कसैले गल्ती गरे फेरि रेकर्ड गर्नुपर्थ्यो। ४/५ दिन लाग्थ्यो गीत रेकर्ड गर्न।'

स्टूडियोमा पनि छालाले बनेका बाजाहरुलाई एउटा माइक्रोफोन, १५ ओटा भ्वाइलेनलाई एउटा माइक्रोफोन त्यस्तै गितारलाई एउटा माइक्रोफोन दिएर उनी साउण्ड मिक्सिङ गर्न बस्थे।

प्रविधिले फड्को मारेसँगै भएका परिवर्तन र आएको सहजताको तारिफ गर्छन् उनी। 'अहिले त्यसरी एकैपटक गीत रेकर्ड गर्नुपर्दैन। अहिले त मादल आयो, रेकर्डिङ गर्‍यो। गितार आयो, रेकर्डिङ गर्‍यो। अहिले त सबै संगीत रेकर्ड भएपछि त्यो संगीतमा गायकले गीत गाउन पाउँछ। अहिले प्रविधिले सजिलो बनाएको छ।'

उनले गायक नारायण गोपाल, तारा थापा, तारादेवीका गीतलाई रेकर्ड गराएका थिए।

युट्युबमा भेटिने बदलिँदो आकाशको 'सुन्तले बोली'बोलको गीतमा अहिलेका गीतमा समावेश संगीतसँग खासै केही परिवर्तन छैन। गीत एकैपटक रेकर्ड गरेकोजस्त लाग्दैन।

'यो सुन्तले ओठ बदामी आँखा

मलाई सुम्प परेली भाका

अंकुशे हेराई अल्झाउने बोली

दिने हो कि होइन मुटू ज्यान भोलि'

बालाजुमा नगेन्द्र थापाको शब्द, गोपाल योञ्जानको संगीतमा प्रकाश श्रेष्ठ र तारा थापाको स्वर रहेको गीत रेकर्ड गर्दा शुक्लाको छाती खुसीले भरिएको थियो।

शुक्लले फिल्मका संवाद, पार्श्व ध्वनिमा पनि अनुभव बटुलेका छन्।

आफूले रेकर्ड गराएको गीतहरुमा उनी 'बद्लिँदो आकाश'को 'कान्छी ‌ओइ कान्छी' बोलको गीत सुन्न मनपराउँछन्।

टेलिभिजनतिरको स्टूडियो प्रोडक्सन सम्हाल्न थालेपछि उनले फिल्ममा ध्वनिको काम गर्न छोडिदिए। ६८ वर्षीय शुक्ल अहिले भने सिनेमा हल त्यति जाँदैनन्।

टेलिभिजनमार्फत पत्रकारितामा ३३ वर्ष पूरा उनी हाल उनी रत्न राज्य क्याम्पस, काठमाडौं सिटी कलेज र सेफर्ड कलेजमा पत्रकारिता अध्यापन गराउँछन् पनि।



'त्यो सुन्तले ओठ...'ले बम्बई यात्रामा लगाएको ब्रेक को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट