PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

बाफलमा युवक हत्या आरोपमा पक्राउ परेकाको बयान, 'मेरो आँखै अगाडि मरे, मैले मर्न नदिने त?'



बाफलमा युवक हत्या आरोपमा पक्राउ परेकाको बयान, 'मेरो आँखै अगाडि मरे, मैले मर्न नदिने त?'

काठमाडौं: काठमाडौँको बाफल पुलमुनि गत मंगलबार एक युवकको शव फेला परेपछि उनको हत्याको आशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको  छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले मानसिक सन्तुलन ठीक नभएका एक युवकलाई नियन्त्रणमा लिएको हो।

गत मंगलबार बिहान करिब ८ बजे अन्दाजी  २५/२६ वर्षीय युवकको पेटमा सिसाको बोतलले प्रहार गरेको अवस्थामा शव फेला परेको थियो।
 
उक्त क्षेत्रमा मागेर खाने, मानसिक अवस्था ठीक नभएका युवकको शव केही समयदेखि भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको महानगरीय प्रहरी परिसर काठमाडौँका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए।

'मृतकको मानसिक अवस्था ठीक नभएको र केही समयदेखि सडकमा नै सुत्ने खाने गरेको देखिएको छ,' डिएसपी बोगटीले भने।

स्थानीयले प्रहरीलाई दिएको जानकारी अनुसार उनीसँग अर्का एक युवक पनि सँगै बस्ने गर्थे। कहिलेकाही झगडासमेत गर्ने गरेको स्थानीयले प्रहरीलाई बताएका थिए। स्थानीयको जानकारी अनुसार प्रहरीले ती युवकको खोजी गरेको थियो। प्रहरी नियन्त्रणमा रहेका ती युवकले आफ्नो आँखा अगाडि आफै मरेको बयान दिएको प्रहरीले जनाएको छ। 'उसको मानसिक अवस्था ठीक छैन। आँखा अगाडि मरेको हो मैले मर्न नदिने त भने। कुनै प्रमाण भेटिएको छैन,' बोगटीले भने।

शव र प्रहरीले नियन्त्रणमा लिएका दुवैको सनाखत हुन सकेको छैन। घटनाको अनुसन्धान गर्ने प्रहरीले तालिम प्राप्त कुकुर र चिकित्सकको टोली मगाए पनि अनुसन्धानमा उपलब्धि भने हात लाग्न सकेको छैन। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell