PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

ताहाचल पुलमुनि मध्यरातमा भरियाको हानाहानः एकको मृत्यु, अर्को घाइते, मृतकको हुन सकेन सनाखत



ताहाचल पुलमुनि मध्यरातमा भरियाको हानाहानः एकको मृत्यु, अर्को घाइते, मृतकको हुन सकेन सनाखत
प्रतीकात्मक फोटो

काठमाडौं: तरकारी बोक्ने भरियाबीच हानाहान हुँदा एक जना पुरुषको मृत्यु भएको छ।

आइतबार बिहान करिब सात बजेतिर उपचारको क्रममा वीर अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए।

'दुई जनाको झगडा भएपछि घाइते भएर उपचारको लागि ल्याइएको थियो। बिहान एक जनाको मृत्यु भयो। एक जनाको उपचार भइरहेको छ।'

मृतक अन्दाजी ४५ वर्षीय देखिए पनि उनको पहिचान भने खुल्न सकेको छैन। उनीहरु कालिमाटी तरकारी बजारमा दिनभर भरिया भएर तरकारी बोक्ने र राति नजिकैको ताहाचलस्थित टंकेश्वर पुलमुनि बस्दै आएको खुलेको छ।

आइतबार बिहान करिब २ बजेतिर प्रहरीले एक जनालाई घाइते अवस्थामा फेला पारेर अस्पताल पुर्‍याएको थियो। त्यसको केही घन्टामा नै अर्को भरियासमेत घाइते भएको जानकारी आएपछि प्रहरीले अस्पतालमा पुर्‍याएको डिएसपी बोगटीले बताए।

दोस्रो पटक अस्पताल पुर्‍याएको भरियाको भने मृत्यु भएको हो। शरीरमा इँटा प्रहार गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको डिएसपी बोगटीले बताए। घटनाको कारण भने खुल्न सकेको छैन।

गत मंगलबार पनि काठमाडौंको बाफल पुलमुनि करिब ८ बजे अन्दाजी २५/२६ वर्षीय युवकको पेटमा सिसाको बोतलले प्रहार गरेको अवस्थामा शव फेला परेको थियो।

केही समयदेखि उक्त क्षेत्रमा मागेर खाने, मानसिक अवस्था ठीक नभएका युवकको शव भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको थियो। अहिलेसम्म पनि मृतकको सनाखत हुन सकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell