PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

केही खेल २०७५ सालमै सुरु, उद्घाटन र समापन २०७६ सालमा, यस्ता छन् आठौँ राष्ट्रिय खेलकुदका आठ हाइलाइट्स



पहिलोपोस्ट

केही खेल २०७५ सालमै सुरु, उद्घाटन र समापन २०७६ सालमा, यस्ता छन् आठौँ राष्ट्रिय खेलकुदका आठ हाइलाइट्स

काठमाडौँ:  नेपाली खेल क्षेत्रकै कुम्भ मेला मानिएको बृहत् राष्ट्रिय खेलकुदको आठौँ संस्करण औपचारिक रूपमा नयाँ वर्षमा उद्घाटन हुँदैछ। तर, केही खेल भने यसै वर्ष चैत अन्तिम साता सुरु हुनेछन्।

प्रदेश नम्बर ५ मा विभिन्न पाँच जिल्लामा हुने आठौँ राष्ट्रिय खेलकुदको उद्घाटन २०७६ साल वैशाख ५ गते राष्ट्रपतिले नेपालगन्ज रंगशामा  गर्नेछन्।

संघीय संरचनामा गएपछि सहभागी टिमको संख्या पनि बढेको छ। यसअघि पाँच विकास क्षेत्र रहेकोमा अहिले सात प्रदेश छन्। प्रदेशसँगै तीन विभागीय टोलीले पनि सहभागिता जनाउनेछन्।

यस्तै पहिलोपटक गैरआवासीय नेपाली खेलाडीको टोली पनि सहभागी हुँदैछ।

औपचारिक उद्घाटन अर्को वर्ष हुने भए पनि चैत २९ गते बुधबारबाट केही खेल सुरु हुँदैछन्। जसअन्तर्गत प्याराग्लाइडिङ गण्डकी प्रदेशको कास्कीमा सुरु हुनेछ। यस्तै स्क्वासका खेल प्रदेश ३ को ललितपुरमा सुरु हुनेछ। पुरुष हक्की बाँकेको नेपालगन्जस्थित मंगल उमाविको मैदानमा हुनेछ।

 

यी हुन् ८ हाइलाइट्स

१‍. दुई वर्ष ४ महिनापछि राष्ट्रिय खेलकुद हुँदै

२०३८ सालमा हरेक दुई-दुई वर्षमा आयोजना गर्नेगरी सुरु भएको बृहत् राष्ट्रिय खेलकुदको दोस्रो संस्करण दुई वर्षपछि २०४० सालमा भएको थियो। तर त्यसपछि भने यस प्रतियोगिताको आयोजना दुई वर्षको अन्तरमा हुन सकेको थिएन।

कहिले त ५ वर्षको अन्तरालमा समेत हुने गरेको राष्ट्रिय खेलकुदको आठौँ संस्करण भने दुई वर्षपछि नै हुन लागेको हो।

२०७३ साल पुसमा पूर्वाञ्चलमा सातौँ राष्ट्रिय खेलकुद सम्पन्न भएपछि आठौँ २०७५ साल मंसिरमा नेपालगन्जमा गर्नेगरी मिति तय गरिएको थियो। तर तोकिएको समयभन्दा केही समय पर धकेलिए पनि २०७५ सालबाटै खेल सुरु हुँदैछन्।

राष्ट्रिय खेलकुदको ३५ वर्षे इतिहासमा भर्खर आठौँ पटक राष्ट्रिय खेल हुन लागेको हो।

सुरुवाती तीन संस्करण २ वर्षको अन्तरालमा भएका थिए। तर त्यसपछि भने निरन्तर हुन सकेन। चौथो संस्करण हुन १३ वर्ष कुर्नुपर्‍यो। २०५५ मा चौथो संस्करण भएको ११ वर्षपछि २०६५ मा पाँचौँ भयो भने त्यसको ३ वर्षपछि छैटौँ खेलकुद भयो। त्यसको पाँच वर्षपछि मात्र २०७३ सालमा सातौँ भएको थियो।

नेपागन्जमा यसअघि चौथो राष्ट्रिय खेलकुद भएको थियो।

 

२. ७५ मा सुरु ७६ मा अन्त्य

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार विष्टले आठौँ राष्ट्रिय खेलकुद जसरी पनि २०७५ सालमै सक्ने लक्ष्य राखेका थिए। तर भौतिक पूर्वाधार र बजेटका कारण तोकिएको समयमा हुन सकेन। 

केही खेल चैत २७ गतेबाट सुरु हुनेछन्। यद्यपि औपचारिक उद्घाटन भने २०७६ वैशाख ५ गतेमात्र हुनेछ।

०७५ सालमै गर्ने भनेर सम्पूर्ण तयारी भएका कारण राखेपले केही खेल ७५ मै सुरु गर्ने र आठौँ राष्ट्रिय खेलकुद २०७५/७६ को रूपमा रहने सदस्य सचिव विष्टले बताएका थिए।

 

३. सुरु हुन सकेन तोकिएको मितिमा

तोकिएकै मितिमा खेलकुद प्रतियोगिता हुन नसक्ने पुरानै परम्परा हो। भौतिक पूर्वाधार, बजेट अभाव नै त्यसको मुख्य कारण बन्ने गरेको देखिँदै आएको छ। यसपटक पनि आठौँ राष्ट्रिय खेलकुद तोकिएको मितिमा भने भएन। २०७३ साल पुसपछि २०७५ साल मंसिरमा आठौँ  राष्ट्रिय खेलकुद गर्ने घोषणा भएको थियो।

तर पूर्वाधार समयमै नबनेका कारण समयमा हुन सकेन। मंसिर ८ गते नेपागन्ज रंगशालमा उद्घाटन गर्ने भनिए पनि त्यो पनि सम्भव भएन। त्यसपछि माघ र फागुनमा गर्नेगरी मिति तय भएको थियो। फेरि हुन सकेन।

 

४. खेल संख्या 

आठौँ राष्ट्रिय खेलकुदमा कुल ३५ खेल समावेश छन्। राष्ट्रिय खेलकुदमा एकै पटक यति धेरै खेल हुन लागेको यो पहिलोपटक हो।

छैटौँ राष्ट्रिय खेलकुदमा ३१ खेल समावेश थिए। सातौँमा खोखा, सेपाताक्रो, ट्रायथलन र फेन्सिङलाई समावेश गरिएको थियो। त्यतिखेर सेपाताक्रो, ट्रायथलन र फेन्सिङले पहिलोपटक बृहत् खेलकुदमा इन्ट्री पाएका थिए। 

आठौँमा समावेश खेलहरु

१. फुटबल  २. एथलेटिक्स ३. बक्सिङ  ४. भारोत्तोलन ५. टेबल टेनिस ६. क्रिकेट  ७. लन टेनिस ८. पौडी ९. सुटिङ १०. भलिबल ११. स्क्वास १२. तेक्वान्दो १३. जुडो १४. आर्चरी १५. कवड्डी १६. खो खो १७. उसु १८. बास्केटबल १९. ब्याडमिन्टन २०. साइक्लिङ २१. कराते २२. कुस्ती २३. फेन्सिङ २४. ट्रायथलन २५. प्याराग्लाइडिङ २६. गल्फ २७. ह्याण्डवल (म-पु)   २८. बुद्धिचाल २९. सफ्टटेनिस  ३०. आई.टि.एफ.तेक्वान्दो ३१. सेपाकताक्रो ३२. जिम्न्याष्टिक ३३. शारीरिक सुगठन ३४. फुलकन्ट्याक्ट कराते ३५. हक्की

 

५. खेल स्थल

आठौँ राष्ट्रिय खेलकुद प्रदेश नम्बर ५ का पाँच जिल्लामा हुँदैछ। औपचारिक उद्घाटन र समापन नेपागन्ज रंगशालमा हुनेछ।

प्रदेश ५ का जिल्लामा खेल हुने भनिए पनि केही खेल स्थान अभावका कारण अन्य प्रदेशमा हुनेछ।

प्याराग्लाइडिङ र ट्रायथलन कास्कीमा, गल्फ काठमाडौँ र स्क्वास ललितपुरमा हुनेछ। सातौँमा पनि स्क्वास ललितपुरमा, फेन्सिङ काठमाडौँमा र लनटेनिस कास्कीमा भएका थिए। 

 

कुन जिल्लामा कति खेल?

बाँकेमा सबैभन्दा धेरै १८ खेल हुनेछन्। यस्तै दाङमा ८, बर्दियामा ५, रुपन्देहीमा ४ र कपिलवस्तुमा १ खेल सञ्चालन हुनेछन्। प्रदेश ५ बाहिरका जिल्ला कास्कीमा २ तथा काठमाडौँ र ललितपुरमा १-१ खेल हुनेछन्।

 

६. खेलाडी संख्या 

आठौँ राष्ट्रिय खेलकुदमा कुल ५ हजार २११ खेलाडी सहभागी हुँदैछन्। यसमा पुरुषतर्फ २ हजार ८२५ र महिलातर्फ २ हजार ३८६ खेलाडी छन्।

आठौँका लागि जिल्ला छनोटमा ३१ हजार ८ सय ४५ खेलाडीले नाम दर्ता गराएको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ।

 

७. पदक संख्या

एकैपटक ३५ खेल आयोजना हुन लागेकोले आठौँ राष्ट्रिय खेलकुदमा पदककको संख्या पनि बढी छ। ५ हजारभन्दा बढी खेलाडीले ३ सयभन्दा बढी स्वर्णका लागि खेल्दैछन्। यसपटक कुल ३७२ स्वर्ण, ३७२ रजत र ५६३ कास्य पदक वितरण गरिनेछ। टिम गेम पनि भएकाले व्यवस्था गर्नुपर्ने पदक संख्या अझै बढी छ। सबै गरेर ७९३ स्वर्ण त्यति नै रजत र  एक हजार १०२ वटा कास्य गरी कुल २ हजार ६८८ पदक व्यवस्था गर्नुपर्ने राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ।

 

८. मस्कट र लोगो

आठौँ राष्ट्रिय खेलकुदका लागि छावालाई मस्कट बनाइएको छ। यस्तै लोगो गोलाकार छ।

लोगोमा रहेको चन्द्र सूर्य अंकित झण्डाले सिङ्गो नेपालको प्रतिनिधित्व गरेको छ। शान्तिको परेवाले आपसी भाइचाराको सन्देश दिनेगरी ८ वटा पात आफ्नो चुच्चोमा बोकेको छ। शान्तिका अग्रदूत गौतम वुद्धका दुई आँखाले सबैमा शान्ति र स्थिरताको कामना गरिएको छ भने लोगोमा राखिएको गेटले बर्दिया राष्ट्रिय निकुञ्जको प्रतिनिधित्व गरेको छ। परेवाका सप्तरंगी ७ प्वाँखले संघीय नेपालको सातवटा प्रदेशलाई इंगित गरेको छ।

मस्कट (हात्तीको छावा) लाई स्पोर्टी डिजाइन गरिएको छ। लोगो र मस्कट सन्तोष विष्टले डिजाइन गरेका हुन्।

 

सहभागी टिम

प्रदेश नम्बर १

प्रदेश नम्बर २

प्रदेश नम्बर ३

गण्डकी प्रदेश

प्रदेश नम्बर ५

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नेपाल प्रहरी

सशस्त्र प्रहरी 

नेपाली सेना

एनआरएनए

 

अहिलेसम्म भएका बृहत् राष्ट्रिय खेलकुद

प्रथम राष्ट्रिय खेलकुद प्रतियोगिता २०३८ काठमाडौँ

दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता २०४० पोखरा

तेस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता २०४२ वीरगन्ज

चौथो राष्ट्रिय खेलकुद प्रतियोगिता २०५५ नेपागन्ज

पाँचौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०६५ काठमाडौँ

छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०६८ सुदूरपश्चिमाञ्चल

सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७३ पूर्वाञ्चल



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell