PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

सांसदसँग ५० लाख रुपैयाँ फिरौतीको माग, नदिए घरबाट निस्किनासाथ मार्ने धम्की!



सविन ढकाल

सांसदसँग ५० लाख रुपैयाँ फिरौतीको माग, नदिए घरबाट निस्किनासाथ मार्ने धम्की!
प्रतीकात्मक फोटो

काठमाडौं : सांसदलाई नै फिरौती मागेर धम्की आउँछ भने, त्यसले कस्तो अवस्था सिर्जना गर्ला? सन्दर्भ हो प्रतिनिधिसभाका सांसद राजेन्द्र लिङ्देनको।

केही दिन अघि सांसद लिङ्देनको मोबाइलमा फोन आयो। अनि म्यासेज पनि। म्यासेजमा ५० लाख रुपैयाँ माग गरिएको थियो। नदिएमा उनलाई मार्ने धम्की पनि।

'केही साता भयो। मोबाइलमा मलाई धम्की र फिरौती माग भएको,' झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसद लिङ्देनले पहिलोपोस्टसँग भने। प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीका एकमात्र सांसद लिङ्देन फिरौती मागसहितको सन्देशबाट अचम्ममा पर्नु अस्वभाविक थिएन।

'मसँग त्यति पैसा हुने कुरै भएन,' लिङ्देनले भने, 'सांसदलाई नै धम्की दिने हिम्मत सानोतिनोको त नहोला। यत्रो ठूलो रिस्क मोल्नेको पक्कै ठूलो कनेक्सन हुनुपर्छ।'

सांसद लिङ्देनलाई फिरौती रकम नदिए घर बाहिरबाट निस्कने बित्तिकै मार्नेसम्मको धम्की दिइएको थियो। उनले आफूमाथिको धम्कीबारे ट्विटसमेत गरेका छन्, तर अमूर्त रुपमा। 

उनले केही प्रश्नहरु ट्विटमार्फत् सोधेका छन् : 

  • के कसैले पचास लाखको लोभमा ममाथि गोली चलाउन सक्ला?
  • के मलाई गोली हनाउन पचास लाख खर्च गर्ने कोही होलान् त? 
  • के कसैले गोली ठोक्ला कि भनेर राजेन्द्र लिङदेन बाटो छोडेर हिँड्छ भनेर कसैले सोचेको होला?
  • के निर्धारित मिति भन्दा एकैक्षण पर बाँच्ने ताकत कसैसँग होला?

चैत २५ गते ट्विटरमा उनले यति प्रश्न राख्ने हिम्मत त्यतिखेरमात्र जुटाए जतिखेर प्रहरीले उनलाई धम्क्याउने व्यक्तिलाई नियन्त्रणमा लियो। त्यसो त सांसद लिङ्देनले मोबाइलमा फिरौती रकम माग गर्दै धम्की आएको लिखित उजुरी प्रहरीकहाँ दिएका थिएनन्। तर, प्रहरीका उच्च अधिकारीलाई भने एसएमएस र फोनबारे जानकारी गराएका थिए। 'उहाँको उजुरी आएको छैन। तर, हामीले अनुसन्धान गरिरहेका छौं,' प्रहरीको उच्चस्रोतले पहिलोपोस्टसँग भन्यो। 

प्रहरीले सांसद लिङ्देनलाई धम्की दिने एक युवकलाई नियन्त्रणमा लिएको छ। त्यसको खबर पाएलगत्तै उनले ट्विट गरेर प्रश्न गरे : के कसैले पचास लाखको लोभमा ममाथि गोली चलाउन सक्ला?

लामो खोजीपछि प्रहरीले झापाका तिलकदास पराजुलीलाई नियन्त्रणमा लिएको हो। प्रहरी स्रोतले दिएको जानकारी अनुसार घटनामा अन्य मानिसको पनि संलग्नता हुनसक्ने देखिएकाले थप खोजी जारी छ। 

नियन्त्रणमा लिइएका पराजुलीले सांसद लिङ्देनमात्र होइन, अन्य व्यक्तिहरुलाई पनि धम्क्याउँदै रकम असुल्ने प्रयास गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा नै देखिएको छ। 

यस्तो थियो लिङ्देनको ट्विट:



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell