PahiloPost

Apr 23, 2019 | १० बैशाख २०७६

देजमो बन्दसत्र : संघर्षका कार्यक्रम स्पष्ट पार्न प्रतिनिधिहरुको माग


देजमो बन्दसत्र : संघर्षका कार्यक्रम स्पष्ट पार्न प्रतिनिधिहरुको माग

काठमाडौं: नेकपा (क्रान्तिकारी माओवादी) निकट देशभक्त जनगणतान्त्रिक मोर्चा (देजमो)नेपालको राष्ट्रिय सम्मेलन अन्तर्गत बन्दसत्रमा अध्यक्ष सीपी गजुरेलले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल चलिरहेको छ।

बन्दसत्रमा अध्यक्ष गजुरेलले हिजो राजनीतिक प्रतिवेदन पेश गरेका थिए। त्यस्तै देजमोका सचिव परी थापाले मोर्चाको विधान पेश गरेका थिए। विधानमाथि हिजो देखि सात समूह बनाएर छलफल सुरु भएको थियो।

आज विहानैदेखि समूहका नेताहरुले समूहगत छलफलपछि आफ्नो समूहको सूझावसहितको रिर्पोटिङ गरिरहेका छन्।

समूहका नेताहरुले अहिलेको राजनीतिक तथा समसामयिक विषयमा प्रतिवेदन स्पष्ट हुन नसकेको भन्दै स्पष्ट पार्नुपर्ने माग गरेका छन्। उनीहरुले पार्टीभित्र र बाहिरको अन्तरविरोधका बारेमा प्रतिवेदन बोल्न नसकेको भन्दै अन्तरविरोधलाई पनि प्रतिवेदनमा समावेश गर्न माग गरेको सम्मेलनका एक प्रतिनिधिले पहिलोपोस्टलाई जानकारी दिए।

त्यस्तै संगठनले गर्नुपर्ने संघर्षका कार्यक्रमहरु पनि प्रतिवेदनमा ठोस रुपमा समावेश हुन नसकेको भन्दै संघर्षलाई ठोस रुपमा प्रतिवेदनमा समावेश गर्न माग गरेका छन्।

‘प्रतिवेदनले संघर्षलाई जोड दिए पनि संघर्षका कार्यक्रमहरु कस्ता हुने कतिसम्म हुने भन्ने विषयमा प्रतिनिधिहरुले स्पष्ट रुपमा प्रतिवेदनमा उल्लेख हुनुपर्ने माग गरेका छन्,’ ती प्रतिनिधिले भने।

प्रतिवेदनमा संघर्षका कार्यक्रमसहित आगामी रणनीतिबारे चर्चा गरिएको भए पनि कार्यक्रमहरुलाई मूर्त रुप दिनुपर्ने माग उठेको उनले जानकारी दिए। ‘सहभागी प्रतिनिधिहरु कडा संघर्षका कार्यक्रम लिएर अगाडि बढ्न माग गरेका छन्,’ ती प्रतिनिधिले भने, ‘जनवादी गणतन्त्रलाई लक्षित गरी आधार तयार गर्ने गरी तत्कालिन संघर्षका कार्यक्रम तय गर्नुपर्ने आवाज उठेको छ।’

देजमोले क्रान्तिकारी माओवादीको फौजी रणनीति अनुरुप संघर्षका कार्यक्रमलाई अगाडि बढाउने बताइएको छ। क्रान्तिकारी माओवादीले २०७२ सालको संविधान र लोकतान्त्रिक गणतन्त्र खारेज गरी जनवादी गणतन्त्र र जनवादी संविधान ल्याउनुपर्ने माग गर्दै आएको छ।

जनवादी संविधान बनाउनुपर्ने भन्दै क्रान्तिकारी माओवादीले २०७० सालको दोस्रो संविधानसभाको निर्वाचन बहिस्कार गरेको थियो। क्रान्तिकारी माओवादीले साढे दुई वर्ष अगाडि मोर्चा गठन गरेको थियो। मोर्चा गत २०७४ सालमा सम्पन्न स्थानीय तह तथा प्रदेश र संघीय निर्वाचनमा सहभागि भएको थियो। क्रान्तिकारी माओवादी निर्वाचनमा आयोगमा दर्ता नभए पनि मोर्चा भने निर्वाचन आयोगमा दर्ता भएको छ।

आइतबार उद्घाटन भएको सम्मेलन उद्घाटनका क्रममा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ले देजमोलाई संघर्षका कार्यक्रम तय गर्दै अगाडि बढ्न निर्देशन दिएका थिए।

उद्घाटन सत्रमा किरणले आवश्यक परे हतियार उठाउनसमेत तयार रहने निर्देशन दिएका थिए।



देजमो बन्दसत्र : संघर्षका कार्यक्रम स्पष्ट पार्न प्रतिनिधिहरुको माग को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट