PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

सात करङ भाँची चिया व्यापारीको हत्या: महिना बित्दा पनि पत्ता लागेन हत्यारा, प्रहरीले जालझेल गरेको परिवारको आरोप



पी बी खड्का

सात करङ भाँची चिया व्यापारीको हत्या: महिना बित्दा पनि पत्ता लागेन हत्यारा, प्रहरीले जालझेल गरेको परिवारको आरोप
चिया व्यापारी चन्द्रप्रसाद आचार्य

सुर्खेतः सुर्खेतको वीरेन्द्रनगर–६ बुद्धपथ नजिकै गत फागुन १८ गते राति रक्ताम्य अवस्थामा एक शव फेला पर्‍यो। राति १०:३० बजे प्रहरीले शव फेला पार्‍यो। शव थियो वीरेन्द्रनगर–१ स्थित स्थानीय चिया व्यापारी चन्द्रप्रसाद आचार्यको। आचार्यलाई कोही कसैले हत्या गरेको स्वयं प्रहरीले बताएको छ। प्रहरीले शव फेला पारी आवश्यक अनुसन्धान थालेको मंगलबार ३९ दिन पुगिसकेको छ। तर, प्रहरीले अहिलेसम्म दोषीलाई कानुनी कठघरामा उभ्याउन सकेको छैन।

यता, पीडित पक्ष भने न्यायका लागि हारगुहार गरिरहेका छन्। प्रहरीले अहिलेसम्म प्रभावकारी अनुसन्धान गर्न नसकेको आरोप पीडित परिवारको छ। ‘घटना भएको आज ३९ औँ दिन पुग्यो,’ मृतकका छोरी संगीता आचार्यले भनिन्, ‘यति लामो समय वित्दा पनि हामीलाई न्यायको अनुभूति गराउन सकेको छैन। घटनामा प्रहरीकै जालझेल भएको जस्तो देखियो,’ फेरि थपिन्,‘स्वयं प्रहरी प्रशासनले पनि हत्या गरेको हुन सक्ने भनिसकेको छ।’

अहिलेसम्म प्रहरीले घटनाका दोषीलाई पत्ता लगाउन नसकेको भन्दै संगीताले प्रहरीकै मिलेमतोमा घटनालाई गुपचुप बनाउन खोजिएको आरोप लगाइन्।

‘यस्तो गम्भीर घटना हुँदा पनि प्रहरी प्रशासन गम्भीर नहुँदा पीडितमाथि झन पीडा थपिएको छ,’ उनले भनिन्, ‘घटना किन, कसरी र कसले गर्‍यो भन्ने विषयमा ३९ दिन बितिसक्दा पनि प्रहरीले अनुसन्धान गरिरहेका छौं भन्दै आलटाल गरेको छ। घटनाको वास्तविकता नखुल्नुमा अपराधमा संलग्न व्यक्तिले योजनावद्ध तरिकाले हत्या गरी कानुनभन्दा माथिको हैसियत राखी प्रशासन र पीडित परिवार समक्ष घटना गुमनाम गर्न खोजिएको छ।’

शरीरमा गहिरो चोट भएपनि शव भेटिएको ठाउँमा रगत नदेखिएकाले नियोजित रुपमा हत्या गरे पछि त्यो स्थानमा शव ल्याएको हुनसक्ने संगीताको दाबी छ।

‘टाउकाको पछाडि भागमा गहिरो चोट थियो। तर, शव भेटिएको ठाउँमा रगत नै देखिएन। लाग्छ हत्या गरिसकेपछि त्यो ठाउँमा ल्याएर फालेको हुनसक्छ,’ उनले भनिन्,‘पोष्टमार्टम रिपोर्टमा सात वटा करङ भाँचिएको छ।’

प्रहरीले घटनास्थलमा भेटिएका केही प्रमाण ल्याब टेष्टका लागि काठमाडौं पठाएको छ। ल्याव टेष्ट रिपोर्ट आइसके पनि प्रहरीले भने नआएको भन्दै टारेको पीडित परिवारको गुनासो छ।

यता, जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी एवं प्रवक्ता प्रदीपबहादुर क्षेत्रीले सुक्ष्म अनुसन्धान गरिरहेको दाबी गरे। पीडित परिवारले लगाएको आरोप हुनै नसक्ने भन्दै आफूहरु छानविनलाई प्रभावकारी बनाउन लागि परेको बताए। ‘घटनालाई गम्भीर रुपमा लिएका छौँ,’ उनले भने,‘सुक्ष्म अनुसन्धानकै क्रममा २० भन्दा बढीलाई सोधपुछ गरिसकेका छौँ।’

घटनाको अनुसन्धान गर्न थप प्रहरीको सिआइबी टोलीसमेत लागेको बताए।

‘घटनाको अनुसन्धान गर्ने वित्तिकै रिजल्ट आउँदैन। केही समय लाग्छ। हाम्रो सिआइबीको टोली पनि लागि परेको छ,’ उनले भने, ‘प्रहरीसँग हत्या भएका ठोस प्रमाण नहुँदा ढिलाई भएको हो। छिट्टै घटनामा संलग्न दोषीलाई कानुनी कठघरामा ल्याउन अनुसन्धान प्रभावकारी बनाइरहेका छौँ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell