PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

बसुन्धाराको बम प्रकरणः गैरकानुनी कम्पनीबाट युवा विदेश पठाउने धन्दा, कहीँ कतै दर्ता भेटिएन



पहिलोपोस्ट

बसुन्धाराको बम प्रकरणः गैरकानुनी कम्पनीबाट युवा विदेश पठाउने धन्दा, कहीँ कतै दर्ता भेटिएन
फाइल फोटो

काठमाडौँ: बसुन्धाराको ओसिस क्याफेसँगै जोडिएको घरमा सोमबार दिउँसो सकेट बम भेटियो। नेपाल प्रहरीको टोलीले बम डिस्पोज गर्न नसक्ने देखिएपछि नेपाली सेनाको टोली झिकाएर डिस्पोज समेत गरियो। समयमा नै जानकारी पाएकाले कुनै पनि घटना हुनबाट जोगियो।

प्रहरीले घरको तेस्रो तलाको कोठाभित्र सोफामुनि बम फेला परेको थियो। 'द वर्ल्ड कल्चर आर्ट एसोसिएसन अफ नेपाल’को  कार्यालयभित्र बम भेटिएपछि प्रहरीले कार्यालयका पाँच जनालाई नियन्त्रण लिएर अनुसन्धान गरिरहेको गरेको थियो। तर अहिलेसम्म बम कसले राख्यो र किन भन्ने खुल्न सकेको को छैन।

'हामी विभिन्न कोणबाट अनुसन्धान गरिरहेका छौँ। तर कसले र किन बम राखेको भन्ने खुलिसकेको छैन।' महानगरीय प्रहरी वृत्त महागञ्जका डिएसपी फडिन्द्र प्रसाईँले भने।

प्रहरीले 'द वर्ल्ड कल्चर आर्ट एसोसिएसन अफ नेपाल’को कार्यालयभित्र बम राखेको भेटिएकाले प्रहरीले कम्पनीका सञ्चालक प्रकाश सुवेदीसहित अन्य कर्मचारीलाई नियन्त्रणमा लिएको थियो।

नियन्त्रणमा लिइएकामध्ये चार जनालाई प्रहरीले छाडिसकेको छ। सुवेदीविरुद्ध भने मंगलबार अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको डिएसपी प्रसाईँले बताए।

 

कम्पनी गैरकानुनी

प्रहरीले बमको अनुसन्धान गर्दै जाँदा बम भेटिएको कम्पनी गैरकानुनी रूपमा सञ्चालन गरेको भेटिएको हो।

कम्पनी दर्ता समेत भएको छैन। पक्राउ परेका सुवेदीले कम्पनीमार्फत कोरिया कामदार पठाउने गरेको बयान दिएका छन्। बयानको आधारमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

'हामीले सबैतिर बुझ्यौँ कतै पनि कम्पनी दर्ता भएको छैन। कोरिया पठाउने कुनै अनुमति लिएको पनि देखिँदैन' डिएसपी प्रसाईँले भने।

कम्पनीले युवालाई कोरिया पठाउने भन्दै ठगी गरेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ। ठगिएका युवा अथवा कसैले रिसमा बम राखेको हुनसक्ने सम्भावना रहेको प्रहरीको अनुमान छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell