PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

ती दुई फोन नम्बर: सांसद लिङ्देनलाई ज्यान जोगाउन सतर्क गराउनेदेखि मार्ने धम्कीसम्म



सविन ढकाल

ती दुई फोन नम्बर: सांसद लिङ्देनलाई ज्यान जोगाउन सतर्क गराउनेदेखि मार्ने धम्कीसम्म

काठमाडौँ: 'राजेन्द्र सर मलाई कल गर्नु न। एमर्जेन्सी छ। तपाईंको नम्बर बिजीमात्र भन्छ। तपाईं ह्वाट्स्एप खोल्नु ल। केही एमर्जेन्सी छ। कुरा सुन्दै म आत्तिए। यो साथीको नम्बर हेर्नुहोला।'

चैत ७ गते ५ बजेर २५ मिनेटमा ९८४३९४७२९४ नम्बरको फोनबाट एक युवकले सुनाए। लगत्तै फोन काटियो।

कल गर्ने को थिए? अझै खुल्न सकेको छैन। तर रिसिभ भएको मोबाइल बोक्ने व्यक्ति भने सांसद राजेन्द्र लिङ्देन थिए।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री तथा झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसद राजेन्द्र लिङ्देन। सांसद लिङ्देनलाई त्यो कल सामान्य लाग्यो। तत्कालै ह्वाट्स्एप हेर्ने चेष्टा पनि गरेनन्।

फोनबाट केही समयमा म्यासेज आयो। उक्त म्यासेजमा मोबाइल नम्बर पठाइएको रहेछ। फोन नम्बर थियो ९८१३५४४९२९।

'त्यही साँझ ह्वाट्स्एप खोलेर हेरें,' सांसद लिङ्देलले बुधबार पत्रकार सम्मेलनमा सुनाए।

'त्यहाँ मैले पाँच जना मान्छे होटलमा कुरा गरेको भेटें। तिनीहरुले तपाईंलाई मार्ने कुरा गरिरहेका छन्। तिनीहरुले लेनदेनको कुरा पनि गरिरहेका छन्। सुन्दै डर लाग्यो भनेका थिए। म भोलि विदेश जाँदैछु,' फोन गर्ने युवकले नै सांसदलाई यस्तो जानकारी दिएका थिए।

चैत ८ गते ९ बजेर ५३ मिनेटमा ९८१३५४४९२९ नम्बरबाट म्यासेज आयो। 'तेरा आद्मी मुझ को तुझे मार्ने के लिए ५० लाख रुपैये दे कर काठमाडौं बुलाया। मगर तुतो अच्छा आद्मी है। मगर ए आद्मी हाम्को पैसे देचुका है मै क्या करु। तुम पैसा देदे फिर मे उस आदमी के बारेमा बताउँगा,' अडियो आउँछ। अडियोमा दुईपटक मार्ने मौका पनि मिलेको खुलाउँछन्।

यता पहिले फोन गर्ने युवक पनि सांसदसँग सम्पर्कमै हुन्छन्। 'हेलो सर तपाईंलाई मार्न चाहन्छन्। तीन जना भारतीय थिए। दुई जना नेपाली। पेस्तोल पनि थियो। दुई जना नेपालीले २० लाख दियो। बाँकी ३० लाख छ भनेको थियो। मान्छे मार्नुपर्‍यो। पैसा टेन्सन नलिनु। तपाईको पार्टीको मान्छे पनि मिलेको छ। नेपालमा राम्रो मान्छेलाई टिक्न नदिने रहेछन्,' शुरुमा फोन गरेको युवकले सांसदलाई यसरी विस्तृत जानकारी दिइरहेको हुन्छ।

'मैले केही कुरा गरिनँ। इग्नोर गरिरहें। उसले उतैबाट मैले आइतबारसम्म रोकेको बताएको थियो। तँलाई मार्न कुनै समस्या नै छैन। तँ धेरै चलाखी नगर पो भन्दै हिन्दीमा धम्क्यायो,' लिङ्देनले बताए।

तैपनि सांसद लिङ्देलले कुनै रेस्पोन्स नगरेको बताउँछन्। यसरी लगातार मार्ने र फिरौती मागेको धम्की आएपछि उनले पार्टी अध्यक्ष कमल थापालाई जानकारी गराउँछन्।

सांसदलाई आएको धम्की प्रधानमन्त्री केपी शर्मा ओलीदेखि प्रहरी हेडक्वाटरसम्म पुग्छ। 'मलाई आएको धम्कीबारे प्रधानमन्त्रीलाईसमेत जानकारी गराएको थिएँ,' सांसद लिङ्देलले भने।

प्रहरी प्रधान कार्यालयले घटनाको अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)लाई दिन्छ। गोप्य रुपमा प्रहरीले अनुसन्धान शुरु गर्छ। त्यसपछि फिरौती माग्नेको ट्युनमा परिवर्तन आउँछ।

'मैले प्रहरीमा सम्पर्क गरिरहें। उसले त्यो जानकारी पायो होला। त्यसपछि उसको भनाइमा परिवर्तन आयो। सांसद लिङ्देलले सुनाए,'तँ राम्रो मान्छे रहेछस्। मैले यस्तो काम गरे भने अल्हाह माफ गर्दैन। म यो काम गर्दिनँ। तर जसले मलाई लगाएको हो उसले छोड्दैन।'

दोस्रो युवक सांसद लिङ्देनलाई म्यासेज गर्दै आफू भारत गएको जानकारी गराउँछन्। प्रहरीले अनुसन्धान शुरु गरेको दुई सातापछि दुई युवकलाई पक्राउ गर्न सफल हुन्छ। झापाका तिलकदास पराजुली र हुम्लाका एक युवक पक्राउ पर्छन्।

फोन गरिएको नम्बर हुम्लाको मानिसको नाममा निकालिएको छ। बसपार्कबाट निकालेको देखियो। उसले दर्जनौं सिम निकालेको देखियो। उसले नचिनेको व्यक्तिलाई खाजा खुवाएको भरमा सिम निकालिदिएको प्रहरी अनुसन्धानमा देखिएको छ। ती युवकले पराजुलीलाई आफ्नै नागरिकताबाट सिम झिकेर दिएको खुलेको हो।

सांसद लिङ्देनलाई फोन गरेको नम्बरबाट झापाको अन्य केही मानिससँग पनि सम्पर्क भएको देखिन्छ। झापामा सम्पर्क भएका मानिस सांसद लिङ्देनसँग राम्रो चिनजान भएको खुल्छ। सांसद लिङ्देन यो घटना फिरौतीको लागि भन्दा पनि राजनीतिक कनेक्सन हुन सक्ने दाबी गर्छन्।

सम्वन्धित समाचार

सांसदसँग ५० लाख रुपैयाँ फिरौतीको माग, नदिए घरबाट निस्किनासाथ मार्ने धम्की!



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell