PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

बिहेको मुखैमा ट्विस्ट ल्याउने एउटा अनौठो प्रेम : युवती अन्यौलमा, युवक जेलमा!



सविन ढकाल

बिहेको मुखैमा ट्विस्ट ल्याउने एउटा अनौठो प्रेम : युवती अन्यौलमा, युवक जेलमा!
प्रतीकात्मक तस्बिर

काठमाडौं : यस पटक भने अस्मिता राजी भइन्। उनीसँग उम्कन कुनै बाटो थिएन। त्यसो त उनले केशवलाई समेत मन पराउन थालिसकेकी थिइन्। 

एक वर्षसम्म आफूलाई नै कुरेर बसेपछि अस्मिताको मनमा केशवप्रति थप माया र विश्वास समेत पलाइसकेको थियो।

केशव भट्ट र अस्मिता भट्टराई (नाम परिवर्तन) दुवै खुशी थिए। खुशीको कारण थियो नजिकिँदै गरेको उनीहरूको बिहे। एक वर्षसम्मको चिनजान र प्रेम सम्बन्धलाई उनीहरू लगनगाँठोले बाँध्दै थिए।

परराष्ट्र मन्त्रालयमा शाखा अधिकृत रहेका भट्टको एक वर्ष अगाडि अस्मितासँग भेट भएको हो। केशवले एकवर्ष अगाडि नै उनीसँग विवाहको प्रस्ताव राखेका थिए। तर, पढाइ नसकी र काम नगरेसम्म विवाह नगर्ने अस्मिताले बताएकी थिइन्। त्यसपछि विवाहको कुरा टुङ्गिएको थियो।

विवाह नभए पनि उनीहरू सम्पर्कमा नै रहिरहे। एक वर्षपछि यी दुईको भेट हुँदा अस्मिताले पढाइ पूरा गरिसकेकी थिइन्। अनि अस्पतालमा जागिरे पनि। 

अन्तत: २०७६ वैशाख २५ गतेको लागि विवाहको तय भयो। 

सम्पन्न परिवारका भट्ट हेर्दा खाइलाग्दा थिए। त्यसमाथि सरकारी जागिरे। बुबा पनि नेपाल प्रहरीको एसपी। उनी युएन मिसनमा थिए। बहिनी पनि पाइलट अध्यानको लागि अमेरिकामा थिइन्। अस्मितासँग  समय समयमा अमेरिकामा पाइलट पढ्दै गरेकी केशवकी बहिनीसँग पनि फेसबुकमा सम्पर्क भइरहेको थियो। 

अस्मिताको परिवार पनि सम्पन्न नै थियो। विवाहको मिति नजिकिएसँगै अस्मिता र केशवको भेटघाट बाक्लिनेक्रम बढ्यो। केही समयपछि नै केशव अमेरिकन राजदूतावासमा सरुवा हुने कुराले भने अस्मिताको मनमा चस्का पस्यो। तर, केशवले अस्मितालाई पनि अमेरिका नै लैजाने आश्वासन दिएपछि उनको मुहारमा एकाएक अनौठो चमक आउँथ्यो। 

यहाँसम्म त ठीकै थियो। तर, त्यही ठीक अवस्थामा एकाएक घटनामा ट्विस्ट आयो। कीर्तिपुर बस्ने २६ वर्षीय केशव एकाएक प्रहरीको फन्दामा परे। महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले नियन्त्रणमा लिएको थियो केशवलाई। केशवलाई प्रहरीको हिरासतसम्म पुर्‍याउनेमा

अरू कोही होइन, अस्मिता नै थिइन्। उनीमाथिको आरोप थियो - ठगी।

बिहे गर्न तीन साता बाँकी हुँदा प्रेमीलाई प्रहरीको हिरासतमा किन पुर्‍याइन् त? 

घटनामा आएको ट्विस्ट बुझ्न केही साता अघि पुग्नुपर्छ। केशव र अस्मिताको भेट भयो, केही साता अघिमात्र। भेटमा केशवले आफूलाई समस्या परेको सुनाए। भेटमा उनले अमेरिकामा रहेकी बहिनीलाई चार लाख रुपैयाँ तत्काल चाहिएको सुनाए। 

अस्मितासँग चार लाख रुपैयाँ थिएन। उनीसँग ४० हजार रुपैयाँमात्र भएको बताइन्। समस्या भएकाले ४० हजार भए पनि हुने भन्दै केशवले त्यो रकम लिए। यही नै थियो शंकाको सुत्रपात गराउने अवस्था। हुनेखाने र सम्पन्न परिवार, त्यसमाथि सरकारी अनि बाबु प्रहरीको एसपी। त्यसमाथि युएन मिसनमा गएका। यति सानो पैसाले कसरी समस्यामा पार्‍यो ? 

यही शंकाले अस्मितालाई थप निन्दोचर्चो गराउन वाध्य बनायो। आफ्नै दिदीसँग सल्लाह गरेर उनले केशवले ४० हजार रुपैयाँ लिएर जानु र ४ लाख रुपैयाँले सम्पन्न परिवार समस्यामा कसरी पर्‍यो खोज्न थालिन्। आश्चर्य चकित हुनेगरी उनी प्रहरीकहाँ पुग्नुपर्ने तथ्य फेला पर्‍यो। 
आखिर अस्मिताको हातमा के प्रमाण फेला पर्‍यो जसले उनलाई केशवविरुद्ध प्रहरीमा उजुरी दिन वाध्य बनायो?

अस्मितालाई 'भाउजू' भन्दै अमेरिकाबाट फेसबुकमा म्यासेज गर्ने पाइलट बहिनी नक्कली रहेको खुल्यो। फेसबुकमा पाकिस्तानकी एक युवतीको फोटो राखेर म्यासेज गरेको उनले पत्ता लगाइन्। अझ केशवले बुबा भनेर जसको फेसबुक आइडी दिएका थिए, ती पनि नक्कली नै रहेछन्। त्यसैले उनलाई ठगिमा फस्दै गएको क्लु मिल्यो। अनि पुगिन् प्रहरीकहाँ। 

उनकै उजुरीका आधारमा डोटीको केआई सिंह गाउँपालिका ६ घर भएका २६ वर्षीय केशवराज भट्टलाई मङ्गलबार प्रहरीले पक्राउ गर्‍यो।

महानगरीय अपराध महाशाखाका एसपी केदार ढकालका अनुसार अभियुक्तले यस्तैगरी फेक अकाउन्टकै आडमा ठगी धन्दा चलाउँदै आएको प्रारम्भिक अनुसन्धानमा नै खुलेको छ। उच्च खानदानको देखाउन फेक अकाउन्ट र फोटोहरु राखेर उनले ठग्दै आएका रहेछन्। 

त्यतिमात्र होइन, बिहे गर्ने भन्दै युवतीहरुलाई जालमा पार्ने केशवको डोटीमै बिहे भइसकेको र ४ वर्षीया छोरीसमेत रहेको अनुसन्धानमा खुलेको छ। ठगीको यो धन्दामा केशवले प्रहरी एसपीकै फोटोको दुरुपयोग गरेको पाइएको छ। साथै केशव सरकारी सेवामा संलग्न नै नरहेको पनि खुलेको छ। 

बिहेको मुखैमा ट्विस्ट भएको यो घटनालाई प्रहरीले विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा अनुसन्धान अगाडि बढाएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell