PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

सरकारलाई आन्दोलनरत डाक्टरले दिए ७२ घण्टे अल्टिमेटम



सरकारलाई आन्दोलनरत डाक्टरले दिए ७२ घण्टे अल्टिमेटम

काठमाडौं : नेपाल चिकित्सक संघले समायोजनका सम्बन्धमा उत्पन्न समस्याको समाधानका लागि ७२ घण्टे अल्टिमेटम दिएको छ।  संघले आज विज्ञप्ति जारी गर्दै वार्ता र संवादबाट समस्या समाधानका लागि अल्टिमेटम दिएको जनाएको छ।

संघले विज्ञप्ति जारी गर्दै भनेको छ, 'नेपाल चिकित्सक संघले चिकित्सकहरुको समायोजनका सम्बन्धमा विस्तृत छलफल गरी विशेष रणनीति तर्जुमा गर्नका लागि काठमाडौं उपत्यकाभित्रका सरकारी अस्पताल, गैरसरकारी अस्पताल, निजी स्वास्थ्य संस्था, मेडिकल कलेज, विभिन्न विशेषज्ञ समाजका प्रतिनिधिज्यूहरु लगायतका चिकित्सापेशासँग सम्लग्न सम्पूर्ण स्वास्थ्य संस्थाहरुका प्रतिनिधिहरुबीच आज मिति २०७५ चैत्र २८ गते बिहीबार दिउसो २:०० बजे बसेको बृहत बैठकले संघको कार्यकारिणी समितिलाई दिएको म्यान्डेट अनुरुप आजैको मितिले ७२ घण्टाभित्र नेपाल सरकारले वार्ता र संवादको माध्यमबाट उत्पन्न समस्याको समाधान निकाल्न नेपाल चिकित्सक संघ जोडदार माग गर्दछ।'

समायोजनका सम्बन्धमा उत्पन्न समस्याको उचित समाधान वार्ता र संवादबाट गर्नु पर्नेमा नेपाल सरकारका जिम्मेवार व्यक्तिहरुले सार्वजनिक रुपमा चिकित्सा पेशालाई नै मानमर्दन गर्ने गरी अस्वाभाविक अभिव्यक्ति दिने, शान्तिपूर्ण विरोध प्रदर्शनमा उत्रेका चिकित्सकहरुलाई नै प्रहरी लगाई धरपकड गर्ने जस्ता क्रियाकलापलाई प्रश्रय दिएकोले चिकित्सकहरुलाई चिढाउने र सरकारी सेवाप्रति वितृष्णा पैदा गर्ने कार्य गरेको नेपाल चिकित्सक संघको ठहरसमेत गरेको छ। 

चिकित्सकहरुको माग र संवेदनशिलतालाई बेवास्ता गर्दै चिकित्सकहरुको मान मर्यादालाई अवमूल्यन गरिएको खण्डमा नेपाल चिकित्सक संघ सशक्त विरोधका कार्यक्रमहरु देशभर संचालन गर्न बाध्य हुने चेतावती संघले दिएको छ। संघबाट घोषणा गरिने आन्दोलनका कार्यक्रमहरुबाट स्वास्थ्य क्षेत्रमा उत्पन्न हुने कुनै पनि परिस्थितिको जिम्मेवार नेपाल सरकार नै हुने संघले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell