PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

नेपालमा पनि पब्जी खेलमा प्रतिबन्ध, खुलाए पाँच लाख जरिवाना, 'विनर विनर, चिकेन डिनर'मा लाग्यो पूर्णविराम



वसन्तराज उप्रेती

नेपालमा पनि पब्जी खेलमा प्रतिबन्ध, खुलाए पाँच लाख जरिवाना, 'विनर विनर, चिकेन डिनर'मा लाग्यो पूर्णविराम

काठमाडौं: के तपाईं पब्जी खेल्दै हुनुहुन्छ? नेपाल दुरसंचार प्राधिकरणले बिहीबारबाट पब्जी खेलमा रोक लगाएको छ। पब्जी खेलले युवा वर्गमा मानसिक रुपमा अपराधिक क्रियाकलाप सिर्जना हुने भन्दै प्राधिकरणले रोक लगाएको हो।

त्यसैगरी इन्टरनेट सेवा प्रदायक कम्पनीले डिएनएस सर्भरमा पब्जी ब्लक नगरेमा पाँच लाख रुपैयाँ जरिवाना गराउनेसमेत प्रधिकरणले जनाएको छ।

बिहीबार जिल्ला अदालतको निर्देशनमा पब्जी खेलमा प्रतिबन्ध लगाउन प्राधिकरणले विभिन्न इन्टरनेट सेवा प्रदायकलाई पत्राचार गरिसकेको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले बताए।

'नेपाल प्रहरीले जिल्ला अदालतमा दिएको रिपोर्ट अनुसार अदालतले दिएको निर्देशन अनुसार प्राधिकरणले पब्जीमा प्रतिबन्ध लगाएको हो। यो खेलले आपराधिक गतिविधिमा युवा वर्गलाई प्रोत्साहित गर्ने लक्षण देखिएपछि प्रतिबन्ध लगाइएको हो,' खनालले भने।  

पब्जीले युवा मानसिकतामा नकारात्मक असर सिर्जना गर्ने देखिएपछि नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखाले केही समय अगाडि जिल्ला अदालतमा पब्जी प्रतिबन्ध गराउन स्वीकृति लिन निवेदन गरेको महाशाखाका एसपी केदार ढकालले बताए।

'पछिल्लो समयमा बाह्य मुलुकमा पब्जीकै कारण युवाहरुले आत्महत्या गरेको, मानसिक सन्तुलन गुमाएको, परिवारमै विध्वंस मच्चाएको लगायत विभिन्न सम्स्या आइरहेका छन्। नेपालमा पनि स्कुल लेभलकादेखि युवाहरुले यो खेल खेल्दै आएका छन्। हामीलाई स्कुल, कलेजलगायत विभिन्न निकायबाट यो खेल हटाउनै पर्ने उजुरी आएपछि जिल्ला अदालतमा रिपोर्ट हालेका हौँ,' एसपी ढकालले पहिलोपोस्टसँग भने।

इन्टरनेट सेवाप्रदायक कम्पनीले दुरसंचार प्राधिकरणको निर्देशनलाई पालना गर्दै डिएनएस सर्भरबाट पब्जी ब्लक गर्न शुरु गरिसकेको बताएका छन्।

अनलाइनमार्फत हातहतियार सहित फौज बनाएर एकअर्कामा सुटिङ गर्ने यो खेल 'कम्पिटिटिभ सर्भाइभल सुटर' का डिजाइनर ब्रेन्डेन ग्रेने हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell