PahiloPost

Apr 20, 2019 | ७ बैशाख २०७६

नाटकमय वर्ष : ५ नाटक जसले सबैभन्दा बढी प्रभाव छाड्यो


स्वेच्छा राउत

नाटकमय वर्ष : ५ नाटक जसले सबैभन्दा बढी प्रभाव छाड्यो

गत फागुनमा नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव भयो। नेपाली भाषा, विदेशी भाषा र भाषाको प्रयोग नै नगरिएका विभिन्न ३० भन्दा बढी नाटक मञ्चन भए। अन्तर्राष्ट्रिय नाटक महोत्सवले देशभर छरिएर काम गरिरहेका थिएटर साथै निर्देशकहरुलाई जोड्यो। थिएटर, निर्देशक र कलाकारहरुसँग दर्शकलाई जोड्यो। र, नेपाली रङ्गमञ्चलाई पनि अन्य सात देशको रङ्गकर्मसँग नजिक बनायो।

काठमाडौं र मोफसलका थिएटरहरुले उठाउने विषय, कथा भन्ने शैली र नाटकमा गर्ने प्रयोगहरु विविध छन्। यी सबैलाई काठमाडौं, जनकपुर, पोखरा र बिराटनगरमा एकै ठाउँमा हेर्ने मौका बन्यो महोत्सव।

अन्तर्राष्ट्रिय नाटकहरुले नेपाली दर्शकलाई कथ्य र शैलीको हिसाबमा फरक स्वाद दियो।

महोत्सवले त नाटक दर्शकलाई फरक विषय, विधा र शैलीका नाटक हेर्ने मौका त दियो नै। त्यसबाहेक पनि काठमाडौंका फरक फरक थिएटरहरुमा एकभन्दा बढी नाटक मञ्चन भए। वर्षभरी मञ्चन भएकामध्ये पाँच उत्कृष्ट र चर्चित नाटकहरु बारे यहाँ केही जानकारी प्रस्तुत गरिएको छ।

शासकहरुको विवेकमाथि प्रश्न: नाटक अँधेरी नगरी चौपट राजा

वर्ष २०७५ को सुरुवात अर्थात् वैशाखमा मञ्चन भएको नाटक हो अँधेरी नगरी चौपट राजा। कुञ्ज थिएटरमा देखाइएको नाटक हिन्दी साहित्यकार भारतेंदु हरिश्चंद्रको लोकप्रिय नाटक नेपालीकरण गरिएको हो। हाँस्यास्पद प्रस्तुतिसहितको व्यङ्ग्यात्मक नाटकले शासकहरुको विवेकमाथि प्रश्न गर्छ। राज्य र जनताप्रति गैर जिम्मेवार र विवेक शून्य राजा, उनका भरौटेहरुको मुर्खता र आम जनताको निरिहपन र दिक्दारीलाई हँसाइ हँसाइ देखाएको थियो।

नाटकमा गरिएको प्रत्यक्ष सांगीतिक प्रयोग सम्झन लायक पक्ष हो। संगीतको पाटोमा संगीत सापकोटा, मोनिस निरौला र रोहित महर्जनले प्रशंसनीय काम गरेका छन्। कतिपटक त कलाकार र घटनाक्रमहरुले भन्दा संगीतले दर्शकको ध्यानाकर्षण गर्छ। 'भैंसी मर्यो है माया', 'झन् माथि सार्यो ' जस्ता गीत र 'कहीँ नभएको जात्रा थापा गाउँमा' लगायत नेपाली गीत र उखानको प्रयोग सान्दर्भिक लाग्छ। यीनै गीतहरुले नाटकको हास्य पक्षलाई बलियो पनि बनाउँछ।

नाटकलाई क्याप मोसन पिक्चर्स र कलाशी प्रोडक्सनले संयुक्त रुपमा प्रस्तुत गरेका थिए। नाटकको नेपाली अनुवाद र निर्देशन आशिष घिमिरे र संगीत सापकोटाले मिलेर गरेका हुन्।

नेपाली समाजलाई व्यङ्ग्य गर्दै 'सानो वृत्तमा कमिलाहरु'

विदेशी निर्देशकले नेपाली समाजलाई मञ्चमा उतारेका थिए नाटक 'सानो वृत्तमा कमिलाहरु'मार्फत्। नाटक शिल्पी थिएटरमा मञ्चन भएको थियो। नेदरल्यान्ड्सका लिमा रोड निर्देशित तथा परिकल्पना गरिएको नाटकले व्यस्तता र बेवास्ताबीच आफ्नो पहिचान र अस्तित्व खोज्ने भिडको कथा भन्यो।

विशेषत: नेपाली समाजको अस्तव्यस्तता, चेतनाको स्तर, मानवीय संवेदनाको पाटो, राजनीति, धर्म आदि विषयले निम्त्याएको र ती क्षेत्रमा निम्तिएको अवस्थालाई कलात्मक ढङ्गमा चित्रण गरिएको हो।

भाषाको कम प्रयोगमा भनिएको कथा हाम्रो स्थितिमाथिको व्यङ्ग्य थियो।

अष्ट्रियन रङ्गकर्मी पिटर ह्याङ्केको नाटक ‘दि आवर वि नो नथिङ अफ इच अदर’ नाटकको शैलीबाट प्रभावित भनिएको नाटकको मूल सेटिङ सडक हो। जहाँ फरक फरक पृष्ठभूमिका मान्छेहरु हिड्छन्, ठोकिन्छन्, जम्मा हुन्छन्। यहाँ कसैलाई पनि अरुको मतलव हुन पनि सक्छ नहुन पनि।

त्यही सडकमा देखिनेहरुको प्रवृत्ती, शैली, व्यवहार देखाइन्छ।

शिल्पी थिएटरमा देखाइएको दुवै नाटक 'बाथ टब' र 'सानो वृत्तमा कमिलाहरु'ले अन्त्यमा दर्शकका लागि नाटक विश्लेषणको ढोका खोलिदिएका छन्।

 

शारीरिक भाषामाथि थिएटर एक्सपेरिमेन्ट 'पाँच'

नेपाली रङ्गमञ्चमा सम्भवतः पहिलो फिजिकल नाटक हो 'पाँच'। नाटकमा पाँच कलाकार छन् जो एक शब्द पनि नबोली कथा भन्छन्। नाटकको एउटा दृश्यमा हरेक कलाकार कोही खुशी हुन्छन्, कोही दु:खी, कोही डराएजस्तो लाग्छ, कोही दिक्दार अनि कोही अन्यौल। उनीहरूले आफ्नो भाव बुझाउन कुनै शब्द वा भाषा खर्चँदैनन्। बस् आफ्नो शरीरसँग खेल्छन्।

पात्रहरुले भन्ने कथाले आशा निराशा, प्रेम घृणा, सुख दु:ख समेट्छ। राजनीतिक अस्थिरताले पारेको असर पनि यहाँ अटाउँछ। आफ्नो तरिकाले बाँच्न गाह्रो सामाजका मुद्दाहरू, यौन दुर्व्यवहार गर्ने र पीडामा पर्नेहरूको विषय पनि उठाउँछ। एउटाको काँध चढेर माथि पुग्नेहरू, अरुको समस्या ट्वाल्ल परेर हेर्नेहरूको कथा पनि भन्छ।

संवादविना कथा भन्ने नाटक हेर्ने दर्शकको बानी छैन। बोल्दै नबोली कथा भन्ने कलाकारको पनि बानी छैन। यस्तोमा बुझ्न बुझाउन गाह्रो हुन्छ भन्ने थाहा पाएरै फिजिकल थिएटर थालेका हुन् निर्देशक सुदाम सिकेले।

'पाँच' नाट्य महोत्सवमा पनि मञ्चन भयो।

रोचक के रह्यो भने भारत, इटाली लगायत अन्य देशबाट आएका नाटकहरु मध्ये पनि धेरै फिजिकल थिएटर थिए। शरीरको भाषाबाट कथा भन्ने यो शैलीमाथि गरेको थिएटर एक्स्पेरिमेन्टको आयु लामो हुने विश्वास लिएका छन् सुदाम सिकेले।

 

साइकोलोजिकल थ्रिलर बाथ टब

नाटक 'बाथ टब' सर्वाधिक चर्चा बटुलेको नाटकमध्ये एक हो। कुमार नगरकोटी लिखित अति यथार्थवादी यो नाटकलाई प्रयोगात्मक नाटकको थोरै मात्र प्रयास हुने नेपाली रङ्गमञ्चमा उठाइएको रिस्क मान्न सकिन्छ।

नाटकका पात्रहरु अनिद्रा, नि:शब्द जबरा र सिरियल किलरले आफ्ना संवादहरुमार्फत् आफू प्रतिकूल केही सुन्न नसक्ने समाजलाई चिहानका रुपमा व्याख्या गर्छ। सँगै हाम्रो सामाजिक दृष्टिकोणमाथि प्रश्न पनि गर्छ। मञ्चमा जे जति देखिन्छन्, त्यो भन्दा परसम्म सोच्न वाध्य पार्छ यो नाटकले। बाथ टबमा प्रयोग एक संवादले सोचाइ र देखाइभन्दा परको सीमा संकेत गर्छ,‘मानिस सपना र विपनाको दशगजामा उभिएको छ।’

साइकोलोजिकल थ्रिलरलाई घिमिरे युवराजले निर्देशन गरेका हुन्। नाटक शिल्पी थिएटरमा मञ्चन भएको थियो। यसको सेटमा गरिएको कलात्मक एवं विम्बात्मक प्रयोग, संगीतले नाटकलाई जिवन्तता दिन योगदान पुर्‍याएको छ।

 

कर्णाली चिनाउने 'गर्भ छिटा'

मुगुकी पम्पाको आमाको गर्भमा छँदै विवाह पक्का गरिदिएका हुन्छन् बुवाले। कुटुम्बलाई दिएको वचन काट्न नसक्दा उनको उमेरै नपुगी विवाह त हुन्छ तर आफ्नो श्रीमानसँग खुशी हुन भने सक्दिनन्।

परम्परागत मान्यता, बुवाको वचनका कारण निम्तने अस्वभाविक अवस्था, मानसिक तनाव आदि बारे नाटक ‘गर्भ छिटा’ बोल्छ।

खस नेपाली भाषामा तयार नाटकले काठमाडौंका दर्शक साथै रङ्गकर्मीलाई कर्णालीसँग नजिक हुन मद्दत पुर्‍याएको छ।

नाटकमा एउटी किशोरीले प्रेम गरेको व्यक्तिसँग विवाह गर्न पाउँदिन, प्रेममा सामाजिक मान्यता र जातीय विभेद तगारो बन्छ, आफ्नो इज्जतको बारेमा सोच्ने परिवार छोरीको पीडाको बारेमा सोच्दैन। त्यसैले नाटकले सामाजिक कुरिती र परम्परागत सोचले निम्त्याउने अप्ठ्याराहरु पनि प्रस्तुत गरेको छ।

कर्णालीको भाषा, मौलिक कला, संस्कृति, संगीत,वेशभूषामार्फत यो कथा भन्ने जमर्को गरेका हुन् निर्देशक हिरा बिजुली नेपाली र कर्णाली थिएटर टिमले। नाटक पहिलोपटक नाट्य महोत्सव अन्तर्गत थिएटरमा देखाइएको थियो। त्यस्तै चैतको पहिलो साता मण्डला थिएटरमा नियमित मञ्चन भयो।



नाटकमय वर्ष : ५ नाटक जसले सबैभन्दा बढी प्रभाव छाड्यो को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट