PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

क्राइम सिन २०७५ : निर्मला पन्त प्रकरणले सबैजसो केस ओझेलमा, नसुल्झेको गुथ्थी यथावत



सविन ढकाल

क्राइम सिन २०७५ : निर्मला पन्त प्रकरणले सबैजसो केस ओझेलमा, नसुल्झेको गुथ्थी यथावत

गत वैशाख ६ गते साँझ एउटा समाचार बन्यो। राजीव गुरुङ उर्फ दीपक मनाङ्गे स्वयम्भुको तीनधारबाट पक्राउ परे। गुन्डा नाइके भनेर चिनिएका गुरुङ पक्राउ पर्नु सामान्य नै हुन्थ्यो अन्य समयमा। मनाङ्गे र प्रहरी बीच चोर पुलिसको खेल झै थियो।

३३ किलो सुन प्रकरणमा प्रहरीदेखि व्यापारीसम्म पक्राउको समाचार भइरहेका समयमा मनाङ्गे पक्राउ समाचार बेग्लै फ्लेबरको थियो। सनम शाक्य हत्या र ३३ किलो सुन प्रकरण २०७४ मा चर्चित घटना बनेको थियो। तर, घटनाका मुख्य पात्र भने २०७५ सालमा नै पक्राउ परे। अदालतबाट केही छुटे त केही अझै कारागारमा नै छन्।

२०७५ सालको सबैभन्दा प्राथमिकतामा परेको अपराध समाचार थियो। तर, यसपटक भने उनी पक्राउ पर्नुको अर्थ अर्कै थियो। गुन्डा नाइके मनाङ्गे प्रदेश ४ को मनाङबाट प्रदेशसभा 'ख'मा निर्वाचित स्वतन्त्र सांसद् बनिसकेका थिए। तर, सपथ भने खान पाएका थिएनन्। २०६१ सालमा चक्रे मिलनलाई खुकुरी प्रहार गरेको अभियोगमा राजीव गुरुङ भनिने दीपक मनाङ्गेसहितलाई सरकारले ज्यान मार्ने उद्योगमा मुद्दा चलाएको थियो।

मनाङ्गेले धेरै जेल जिवन काट्नु परेन। पुसको ६ गते उनी छुटे। रिहा भएछि उनले माघ १४ गते सांसदको सपथ खाए। अहिले उनी माननीय भएका छन्। २०७५ सालमा दुई दशकदेखि गुन्डा नाइकेको ट्याक भिरेका मनाङ्गे सांसदमा रुपान्तरित भए। २०७५ साल मनाङ्गेका लागि फलदायी नै बन्यो।

लुटका निर्माता नक्कली नोट लुटमा!

जेठ २ गते साँझ महानगरीय प्रहरी परिसरबाट खटिएको टोलीले २ करोड ६० लाख ६३ हजार नक्कली रुपैयाँ बरामद गर्‍यो। प्रहरीले पत्रकार सम्मेलनमा नक्कली नोट प्रकरणमा चलचित्र लुटका निर्माता माधव वाग्ले संलग्न भएको सार्वजनिक गरेपछि खैलाबैला नै मच्चियो।

चलचित्र निर्माता वाग्लेको कोठाबाट मात्रै २ करोड ५२ लाख रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ। उनीसगै अरु ६ जनालाई नक्कली रुपैयाँसहित पक्राउ गरेको थियो। पक्राउ पर्नेमा निर्माता वाग्लेसँगै महेन्द्र बोगटी, सुजित तामाङ, दिकेश नापित र प्रकाश सुवेदी थिए।

वाग्ले उच्च अदालत पाटनको आदेशमा २५ लाख रुपैयाँ घरौटी बुझाएर छुटिसकेका छन्। मुद्दा भने चलिनै रहेको छ। त्यसपछि पनि राजधानीमा फाटफुट नक्कली नोट फेला नपरेका भने होइनन्। प्रहरीले कारखाना नै बनाएर नक्कली नोट छाप्ने समूहलाई नियन्त्रणमा लियो।

३३ किलो सुन प्रकरणका हिरो 'गोरे'

२०७४ सालमा देखि चर्चामा रहेको ३३ किलो सुन प्रकरण २०७५ सालमा पनि सुपरडुपर नै रह्यो। घटना जोडिएका धेरैजसो पात्र २०७५ सालमा नै समातिए। यो सूचीमा प्रहरीका पूर्व डिआइजी गोविन्द निरौला, बाहलवाला एसएसपी दिवेश लोहनीदेखि चुडामणि उप्रेति 'गोरे' सम्म अटाउँछन्।

गृह मन्त्रालयले गठन गरेको छानविन समितिले सनम शाक्यको हत्यादेखि भारतमा लुकेर बस्दै आएका गोरेलाई जेठ ८ गते सार्वजनिक गर्न सफल हुन्छ। भारतको सिक्किमबाट गोरेलाई प्रहरीले नियन्त्रणमा लिएको हुन्छ। यो समयमा सुन प्रकरणमा प्रहरी समातिए, निलम्वनमा परे, जिल्ला अदालत मोरङको आदेशमा केही महिना कारागारमा समेत बस्न पुगे। २०७५ सालमा नै केहि प्रहरी उच्च अदालत मोरङको आदेशमा रिहा भएर काममा फर्किसेका पनि छन्। तर, ३३ किलो सुन कहाँ गयो? के प्रहरीको सुन प्रकरणमा संलग्न थिए वा फसाइयो भन्ने पाटो अझै अन्योल नै छ। तर, अहिले ३३ किलो सुन प्रकरण सेलाएको छ।

यस बीचमा एपेक्स बैक ठगी, नक्कली सुन देखाएर ठगी, चोरीका घटना नआएका भने होइनन्। जुन समाचार सामान्य नै बनिरहे।

विवादास्पद भक्तपुर इन्काउन्टर

साउन २० गते काँडाघारीबाट ११ वर्षीय निशान खड्का अपहरणमा परे। २० गते रातभर प्रहरीले बच्चा तथा अपहरणकारीको खोजी गर्‍यो तर हात केही लागेन। हराएका बालक अपहरणमा परेको र ४० लाख रुपैयाँ फिरौती माग भएको जानकारी परिवारले प्रहरीलाई दिएको थियो।

महानगरीय प्रहरी परिसर काठमाडौंमा प्रमुखमा एसएसपी विश्वराज पोखरेल र महानगरीय अपराध महाशाखामा एसएसपी धीरजप्रताप सिंहले जिम्मेवारी सम्हालेका थिए। दुवै कार्यालयले अनुसन्धान गरेको थियो।

भोलिपल्ट दिउँसो १२ बजेर ३० मिनेटमा भक्तपुरको थिमि नगरपालिका वडा नम्बर ९ स्थित श्याम लवटको निर्माणधीन घरमा बालक फेला परे। तर, सकुशल होइन मृत अवस्थामा।

प्रहरीका अनुसार बालकको हत्यापछि अपहरणकारी भनिएका २३ वर्षीय अजय तामाङ र २२ वर्षीय गोपाल तामाङलाई खोज्ने क्रममा जम्काभेट भयो। सूर्यविनायक ८ स्थित पाइलट बाबाको आश्रम जानेबाटोमा प्रहरी बीच इन्काउन्टर भएको थियो। घटनास्थलबाट प्रहरीले एक थान पेस्तोल र दुई थान गोलीसमेत बरामद गरेको दाबी गर्‍यो।

यस घटनालाई लिएर प्रहरी विवादमा आयो। स्थानीयले नै दुई अपहरणकारीलाई घरबाट उठाएको देखेको जानकारी देखिएपछि प्रहरीको इन्काउन्ट फेक देखियो। गृहमन्त्री रामबहादुर थापाले समेत इन्काउन्ट फेक नभएको दाबी गरेपछि घटना सामसुम भयो। तर, पनि अहिले प्रहरीका केही अनुसन्धान अधिकृतहरु घटना फेक भएको दाबी गर्छन्।

अपहरण फिरौतीको लागि थियो? अपहरणका मुख्य योजनाकार मानिएका युवक नै थिए? बालकलाई जिवित उद्धार गर्न नसकेपछि सिम्प्याथी बटुल्न प्रहरीले फेक इन्काउन्ट गर्‍यो? जवाफ अझै अनुत्तरित नै छ।

अपहरणको शिलशिला

अपहरणकारीको इन्काउन्टर हुँदासम्म बालक अपहरणको शिलशिला भने रोकिएन। कहिले फेक अपहरणको घटना त कहिले अपहरणपछि हत्याका घटना २०७५ साल भरि भइ नै रहे। अधिकांश अपहरण र हत्या चिनजानका व्यक्तिबाट नै भएको देखियो। मसिर ११ गते गोंगबुबाट ८ वर्षीय बालक प्रयास कुँवरको अपहरण भयो। त्यसको केही समयमा नै हत्या।

घटना भएको ४८ घन्टा भित्र प्रहरीले हत्यारा समात्न सफल भयो। मित्रनगरमा रहेको स्वस्तिक त्रिवेणी गेष्ट हाउसमा रहेका बालकको हत्या होटेलमै काम गर्ने गाडी चालक २२ वर्षीय महेन्द्र सार्कीले गरेको प्रहरी अनुसन्धानमा खुलेको छ।

बालकका बुबा प्रवीण कुँवर मित्रनगरमा स्वस्तिक त्रिवेणी गेष्ट हाउस संचालक हुन्। सार्की करिब २ महिनादेखि होटेलमा चालकको रुपमा काम गर्दै आएका थिए। बालकका बुबाले पटक पटक गाली गरेको रीसमा हत्या गरेको बयान दिएका थिए।

जिल्ला अदालत काठमाडौंको आदेशमा सार्की अहिले जेलमा छन्।

माघ ११ गते दोस्रो साता थापाथलीस्थित प्रस्तुति गृहकी डाक्टर बविता साहकी दुई वर्षीया छोरीको अपहरण परिन्। कोटेश्वरको खरिबोटस्थित घरबाट बालिका अपहरणमा परेको करिब ८ घन्टा भित्र महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले बालिकालाई सकुशल उद्धार गर्न सफल भयो।

अपहरणको अभियोगमा मनिष गुप्ता र उनकी श्रीमतीलाई नियन्त्रणा लियो। गुप्ताले विदेश जाने शिलशिलामा आफ्नो फसेको रकम उठाउन बालिका अपहरण गरेको प्रहरीमा बयान दिए। काठमाडौंमा मात्र होइन देशभरि २०७५ सालमा अपहरणका घटना भइरहे। कतै प्रहरी जिवितै उद्धार गर्न सफल भयो तर कतै प्रहरी संयन्त्र चुक्यो।

सिंहदरबारबाट नजिकै पूर्वराजदूतको हत्या, घटना भयो गुमनाम

भदौ ४ गत बिहान पूर्वराजदूत केशव झा बबरमहलस्थित निवासमा घरभित्र मृत अवस्थामा फेला परे। अनुसन्धानबाट छुरा प्रहार गरी हत्या भएको देखियो। झाको टाउको र निधारमा चोट लागेको प्रहरीले जानकारी दियो। उनी बस्दै आएको निवासको एउटा झ्याल काटिएको थियो। बिहान चिया खान नआएपछि कोठामा हेर्दा झालाई मृत अवस्थामा फेला पारेकी थिइन् उनकी श्रीमतीले।

८० वर्षीय झा श्रीमती सहित बस्दै आएका थिए। उनीहरुसँग एक कामदार पनि रहने गरेका थिए। उनी फ्रान्सका लागि पूर्वराजदूत हुन्। तर, सात महिना बितिसक्दा पनि कुनै क्लु प्रहरीले हात पार्न सकेको छैन। महानगरीय अपराध महाशाखाले अनुसन्धानको लागि घरमा काम गर्ने गार्ड, माली र भान्सेलाई नियन्त्रणमा लियो। पोलिग्राफसम्मको विधि अप्नायो। तर, हत्या कसले र किन गर्‍यो भन्नेसम्म खुल्न सकेको छैन।

गुन्डाको इन्काउन्टरदेखि हिरासत यात्रासम्म

गुन्डा नाइकेहरु सत्यमान लामा पक्राउ, गणेश लामा रिहा, दावा लामा भारतमा पक्राउ लगायत गुन्डा केन्द्रित समाचार पनि पटक पटक आइनै रहे। गुन्डा लामा राजन लिम्बु मंसिर २१ गते रातोपुलमा प्रहरी इन्काउन्टरमा परे। तर, बाँच्न सफल भए।

पुस २९ गते करिब १२ बजेतिर रुपन्देहीमा प्रहरीसितको मुठभेडमा सिद्धार्थनगर नगरपालिका - ६ गल्लामण्डीका केदार साहनी मारिए। प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका साहनीको सिद्धार्थनगर नगरपालिका १० देशार पोल्ट्री फार्म अगाडिको चोक नजिकै प्रहरीसँगको जम्काभेट हुँदा गोली लागेर मृत्यु भएको प्रहरीले दाबी गरेको थियो।

प्रहरीले घटनास्थलबाट युपी ५३ एच २०२८ नम्बरको मोटरसाइकलसमेत फेला पारेको छ। मोटरसाइकलको पछाडि बसेका युवकले गोली चलाएका थिए। एक युवक भने फरार छन्। बाक्लो हुस्सु लागेका बेला एक्कासी जम्काभेट हुँदा गोली चलेको थियो।

साहनी दश वर्षदेखि जबर्जस्ती फिरौती असुली, हातहतियार खरखजाना तथा कर्तव्य ज्यान, शरीर अपहरण बन्धकलगायत मुद्दामा फरार रहेका व्यक्ति भएको एसपी हृदयस थापाले जानकारी दिए।

साहनी तत्कालीन नेकपा माओवादीका कार्यकर्ता समेत थिए। पार्टीको नाममा चन्दा लिएको, पार्टीको नीति विपरीत काम गरेको देखिएपछि उनलाई पार्टीबाट निस्कासन गरिएको थियो। त्यसपछि उनी विभिन्न आपराधिक गतिविधिमा संलग्न भएको प्रहरी अनुसन्धानमा खुलेको छ। २०६५ सालमा साहनी हातहतियार खरखजना मुद्दामा जेल परेका थिए। जेलभित्रबाट नै उनी सुरुङ खनेर भागेका थिए।

एउटा यस्तो घटना जसले बर्षभरि नै चर्चा पायो तर उपलव्धि शून्य, अर्थात् निर्मला प्रकरण

२०७५ सालभरि विभिन्न घटना भए। केही अनुसन्धापछि टुङगिए त केही अझै कही पुगेका छैन। कतै प्रहरीले स्यावासी भेट्यो त कतै गाली। तर, प्रहरी इतिहासमा नै सधैं सम्झिरहने र पिरोलिरहने घटना बन्यो, निर्मला प्रकरण

घटना भएको ८ महिना बितिसक्दा पनि केही तथ्य हात लाग्न सकेको छैन, सिवाय प्रहरीको बदनामी। यही घटनामा जोडिएर धेरैमाथि आरोप पनि लाग्यो। सरकार असफल बन्यो यस प्रकरणमा।

साउन १० गते कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर २ खोल्टी १३ वर्षिय निर्मला पन्त घरबाट साथी रोसनीकोमा पढ्न भनेर निस्किन्छन्। निर्मलाले पढ्न जान लागेको रोशनी बमको घरको दूरी २ किलोमिटर पनि छैन।

साथी रोशनी बमको घरमा साइन्सको होमवर्क गरी केही घण्टासम्म बस्छिन। करिव सवा २ बजे घर जान भन्दै निस्किन्छिन्। रोसनीको भनाई अनुसार निर्मलाको साथमा अम्बा र चटपटे खाएको २० रुपैयाँ पैसा हुन्छ। तर साँझ सम्म निर्मला घर फर्किनन्।

घर नफर्किएपछि निर्मलाको खोजी हुन्छ। रातभर खोज्दा पनि उनी भेटिँइनन्। साउन ११ गते विहान रोशनीको घरभन्दा करिब ६ सय मिटरको दूरीमा रहेको उखुबारी भित्र निर्मलाको शव फेला पर्छ। बलत्कारपछि हत्या गरिएको प्रहरी अनुसन्धान खुल्छ।

त्यसपछि निर्मला प्रकरणमा एकपछि एउटा टुइष्ट एण्ड टर्नका घटना आइरहन्छन्। झन् प्रहरीले भदौ ४ गते निर्मलाको हत्या दिलिपसिंह विष्ट मुख्य अभियुक्त हुनसक्ने भन्दै सार्वजनिक गरेपछि निर्मला प्रकरण एकाएक कंचनपुरको मात्र होइन देशभरि नै चर्चाको विषय बन्यो। एक त प्रहरीसँग विष्टलाई अभियुक्त भन्ने कुनै गतिलो प्रमाण नै थिएन। उसले दिएको भनिएको बयानले नै हत्यारा भन्ने निचोडमा प्रहरी पुगेको थियो।

आन्दोलन चर्किदै गएपछि कंचनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी दिल्लीराज विष्टलाई हटाइयो। निर्मला प्रकरणको अनुसन्धान केन्द्रबाट सुरु भयो।

सरकारले भदौ ७ गते हरिप्रसाद मैनालीको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति गठन गर्‍यो। त्यही दिन गृह मन्त्रालयले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुख एसपी दिल्लीराज विष्टलाई फिर्ता बोलाउने निर्णय हुन्छ।

एकाएक महोल विग्रन्छ। भदौ ८ गते रक्षा बन्धनको दिन साढे ४ बजेतिर जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडि प्रहरीले गोली चलाउँदा सन्नी खुनाको मृत्यु भएको थियो। केही गम्भिर घाइते भए। मानिसको मृत्यु भएपछि झनै आन्दोलनले उग्ररुप लियो। राजधानी लगायत देशका विभिन्न स्थानमा आन्दोलन सुरु भयो।

सरकारले भदौ ९ गते एसपी विष्टलाई निलम्बन गर्‍यो। घटनाको अनुसन्धानमा खटिएका अन्य प्रहरी डिएसपी ज्ञानबहादु सेती, निरिक्षक एकेन्द्र खड्का लगायतलाई हेडक्वाटर तानिए।

प्रहरी हिरासतमा रहेका दिलिपसिंह विष्टको डिएनए निर्मलाको भेजिनल स्वाभबाट निकालिएको डिएनए नमिलेपछि रिहा भए। त्यपछि घटनाले झनै उग्र रुप लियो। घटनामा सलग्न भएको आरोपमा एसपी विष्ट, उनका छोरा किरण विष्ट र भिमदत्त नगरपालिकाका मेयरका भतिजा आयुस विष्टको डिएसन सम्म गरियो। तर, रिजल्ट नेगेटिभ नै। अहिलेसम्म आइपुग्दा दर्जनौंको डिएनए गरियो तर हात लाग्यो जिरो।

काठमाडौंबाट नै छानविन र अनुसन्धानको लागि टोली माथि टोली पठाइयो। कसैले केही नयाँ तथ्य पत्ता लगाउन सकेनन्।

गृह मन्त्रालयले कार्तिक ८ गते दुई प्रहरी अधिकारीलाई सेवाबाट हटाउने निर्णय गर्‍यो। तत्कालीन जिल्ला प्रहरी कार्यालय कन्चनपुरका प्रमुख एसपी दिल्लीराज विष्ट र तत्कालीन वडा प्रहरी कार्यालय महेन्द्रनगर कन्चनपुरका प्रमुख प्रहरी निरीक्षक जगदिशप्रसाद भट्टलाई सेवाबाट मुक्त गरियो।

यसअघि नै निर्मला प्रकरणमा अनुसन्धान गर्न केन्द्रिय अनुसन्धान व्युरोबाट गएका डिएसपी अंगुर जिसी जगदीशप्रसाद भट्ट,डिएसपी ज्ञानबहादुर सेटी, इन्स्पेक्टर एकिन्द्रबहादुर खड्का, हरसिंह धामी, रामसिंह धामी, जवान चाँदनी साउद निलम्वनमा परे।

निर्मला बलत्कारपछि हत्या भएको बीचमा देशमा यस्तै प्रकृतिका अन्य घटना नभएका होइनन्। तर, ती ओझेलमै रहे।

कार्तिको २५ गते आइतबार दिउँसो रौतामाइ गाउँपालिका ३ की १३ वर्षीया एल्जिना खड्का नजिकैको जंगलमा मृत अवस्थामा फेला परिन्। १३ वर्षीया किशोरीको बलात्कारपछि हत्या भएको खुल्छ। तर, स्थानिय र प्रविधिको सहयोगमा प्रहरीले हत्यारा पत्ता लगाउन सफल हुन्छ। एन्जिलाको एउटै कक्षामा पढ्ने साथी १५ वर्षीय दीपेन्द्र राई र १७ वर्षीय पदमवीर राईले बलात्कारपछि हत्या गरेको अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी अर्जुन रानाभाटले जानकारी दिएका थिए।

गत असोज ८ गते पोखरा २२ पम्दिभुम्दीकी १० वर्षीया बालिका श्रेया विक पनि एउटै प्रकृतिको घटनाको सफल अनुसन्धान गर्ने प्रहरी सफल भएको छ। पोखरामा १० वर्षीया बालिका श्रेया विक बलात्कारपछि हत्या भएको खुल्यो। शव भेटिएसँगै जिल्ला प्रहरी कार्यालय कास्कीले कुकुरको सहयोग माग्यो। ४ नम्बर प्रदेश प्रहरी कार्यालय कुकुर शाखाबाट प्रहरी नायव निरीक्षक विक्रमबहादुर थापाको कमाण्डमा प्रहरीको तालिम प्राप्त कुकुर 'कुशल' घटनास्थलमा पुग्यो। रगत लागेको ढुङ्गा सुँघाइयो। कुकुरले गरेको इसाराको आधारमा अनुसन्धान टुंगोमा पुग्यो। त्यही गाउँका २७ वर्षीय कुसुम पौडेल पक्राउ परे। पौडेलले हत्या गरेको स्वीकार पनि गरे। प्रहरीले तीन दिनभित्र नै हत्यारा पत्ता लगायो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell