PahiloPost

Apr 20, 2019 | ७ बैशाख २०७६

मेक्सिकोको विद्रोह बोकेर इटालीकी डोरा, भन्छिन् : द्वन्द्वमा बेपत्ता पार्नु कायर रणनीति


स्वेच्छा राउत

मेक्सिकोको विद्रोह बोकेर इटालीकी डोरा, भन्छिन् : द्वन्द्वमा बेपत्ता पार्नु कायर रणनीति

सन् १९६० को दशक मेक्सिकोमा आर्थिक परिवर्तन, औद्योगिक विकास र आधुनिकरणसँगै आन्दोलन चलिरहेको थियो। यस्ता आन्दोलनका कारण त्यहाँ भएका विश्वविद्यालयसँगै अरु शैक्षिक संस्था सेनाले कब्जा गरे। त्यसको विरुद्धमा शैक्षिक संस्थामा स्वतन्त्रताको माग गर्दै विद्यार्थीहरु पनि प्रतिकारमा उत्रिए। त्यसबाटै स्थापना भयो नेशनल स्ट्राइक काउन्सिल। यही क्रममा नेशनल प्रिपेटरी स्कूलमा आक्रमण भयो। केही विद्यार्थी मारिए। 

१९६८ सेप्टेम्बरदेखि द्वन्द्व निकै चर्कियो। अक्टोबर दुईमा मेक्सिको सिटीस्थित थ्री कल्चर्स स्क्वायरमा आन्दोलनकारी र सेनाबीच भिडन्त भयो जसले नरसंहार निम्त्यायो। विरोध प्रदर्शनी त्लातेलोल्कोस्थित थ्री कल्चर स्क्वायर भइरहेको थियो। प्रदर्शनीका क्रममा पाँच हजार सेनाले स्क्वायरमा आक्रमण गरे। अन्धधुन्ध गोली चल्यो। पिपल्स वर्ल्डले जनाए अनुसार उक्त घटनामा चार सयभन्दा बढी विद्यार्थी मारिए। मारिएकाहरुकै सम्झनामा हरेक वर्ष अक्टोबर दुईका दिन स्मृति दिवस मनाइँदै आएको छ। 

सन् २०१४। दक्षिण मेक्सिकोस्थित टिचर ट्रेनिङ स्कूलका ४३ पुरुष विद्यार्थी मेक्सिको सिटी जाँदै थिए, त्लातेलोल्को प्रदर्शनीका लागि। अर्थात् १९६८, अक्टोबर २ स्मृति दिवस मनाउन। तर, उनीहरु गएको बस कहिले पनि फर्किएन। न त प्रदर्शनीमा जानेहरुले केही खबर नै पठाए। ती सबै बेपत्ता भए। उनीहरु इग्वाला शहरमा मारिएको आशंका गरियो। तर, अवशेषसमेत फेला परेन। विभिन्न राजनीतिक दल, मेक्सिकन सेना, दुर्व्यसनीमा लागेकाहरु र सरकारमाथि आरोप लाग्यो। तर, आरोप लागेकाहरुविरुद्ध बलियो प्रमाण भेटिएन। घटनामाथि छानबिनको माग भयो। सरकार विरुद्ध आन्दोलन पनि भयो। नभएको चाहिँ दोषी पहिचानमात्र हो। 

वेपत्ताको मेक्सिको कथा नेपाली समाजसँग पनि मिल्दो छ। सशस्त्र द्वन्द्वको समयमा सरकार र विद्रोही पक्षबाट वेपत्ता पारिएकाहरुको सूची नेपालमा पनि लामो छ। अझै पनि उनीहरु फर्किने आशा गर्नेहरु छन्। उनीहरु फर्केलान् भन्ने कल्पना समेत नगर्नेहरु पनि उत्तिकै छन्।

मेक्सिकोमा बेपत्ता पारिएकाका सबै परिवारमा पीडा आलै छ। त्यो अकल्पनीय घटनामाथि लेख्नेक्रम पनि रोकिएको छैन। त्यसयता विद्यार्थी त्रसित छन्। उनीहरु स्वतन्त्र छन् तर सुरक्षित छैनन्। तिनै त्रसित विद्यार्थीहरुसँग भेटे इटालीकी नाटक निर्देशक, अन्ना डोरा डोर्नो र कलाकार निकोला पियन्जोलाले।  

पीडामा रहेका विद्यार्थीको जीवनशैली अध्ययका लागि मेक्सिकोमा रहेका उनीहरुले घटनामाथि नाटक बनाए- ‘डिसापारोसिडोस ४३’ (बेपत्ता ४३)। घटनाले पारेको सामाजिक, मनोवैज्ञानिक साथै भावनात्मक असर बुझाउने उक्त नाटक लिएर हालै नाटककार र निर्देशक नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा आएका थिए। त्यही सन्दर्भमा स्वेच्छा राउत सौरभ कार्कीले गरेको कुराकानीको अंश :

मेक्सिकोको सानो शहर इग्वालामा घटेको यो भयावह भोगाइलाई कसरी आफ्नो नाटकको कथा बनाउनु भयो? 
राज्यविरुद्ध बोल्ने भय धेरैमा हुँदो रहेछ। मेक्सिकोमा सन् १९६८ मा सरकार विरुद्ध बोल्नेहरु सामुहिक रुपमा मारिए। सन् २०१४ मा पनि विद्यार्थीहरु सामूहिक रुपमा बेपत्ता पारिए। यस्ता घटनाहरु निरन्तर घटिरहँदा अहिले पनि विद्यार्थी त्रसित छन्। उनीहरु न्याय र सुरक्षा माग्न पनि डराउँछन्। हामीले रङ्गमञ्चमार्फत् उनीहरुको आवाज बन्ने प्रयास गरेका हौं। 

विद्यार्थीभित्र डरबारे कसरी थाहा पाउनु भयो? उनीहरुको मुद्दालाई उठाउन के कुराले प्रेरित गर्‍यो? 
मेगालोप्सिस नामक प्रोजेक्ट अन्तर्गत हामीले विश्वका ठूला शहरको जीवनशैली अध्ययन गर्दै आएका छौं। त्यही प्रोजेक्टअन्तर्गत मेक्सिकन विश्वविद्यालयका विद्यार्थीलाई वर्कसप गराउँदै थियौं। 

अध्ययनकै क्रममा मेक्सिकोका विद्यार्थीहरुमा भएको डर पहिचान गर्‍यौं , विशेष गरी त्यो सामूहिक अपहरणहो जसले ४३ पुरुष विद्यार्थीलाई बेपत्ता पार्‍यो। 

प्रोजेक्टको काम सकिएपछि हामी त इटाली फर्कियौं। तर, मेक्सिकोका विद्यार्थीहरुले हामीलाई संदेश पठाउन थाले- उक्त घटनामाथि केही गरौं भन्दै, विश्वव्यापी ध्यानाकर्षण गराउने उद्देश्यसहित। उनीहरुको म्यासेजले प्रष्ट पार्‍यो - उनीहरु आफै बोल्न सक्दैनन्। 

हामीले कलालाई माध्यम बनाएर समाजको कथा भनिरहेका थियौं त्यसैले उनीहरुको पीडा र समस्यालाई नजरअन्दाज गर्न सकेनौं। थप अध्ययन र अनुसन्धानपछि नाटक बनाएका हौं। 

नाटक 'डिसापारिसिडोस ४३' मञ्चनको सुरुवात र्‍यापबाट हुन्छ। नाटकको मुख्य द्वन्द्व र उक्त विधाको गीतबीच केही विशेष सम्बन्ध छ त?
हिपहप संगीत वाक् स्वतन्त्रताको प्रतीक हो। एक शताब्दीयता यस विधाको गीतमार्फत् धेरैले आफ्नो विचार र मागहरु राख्दै आएका छन्। जुन घटनामा आधारित रहेर हामीले नाटक बनायौं, त्यही घटनाबारे बनेको हो, र्‍याप। जुन २०१४ मा ४३ जना पुरुष विद्यार्थी एकसाथ गायब बनाइएसँगै सार्वजनिक भएको थियो। यो म्याक्सिकन र्‍यापले उनीहरुको खोजीका लागि दवाव दिन्छ, देशमा के भइरहेको छ? भन्ने प्रश्न गर्छ। 

भनेपछि नाटकमा संवाद वा अभिनयबाहेक कलाका अन्य विधाहरुको पनि उत्तिकै महत्व र आवश्यकता छ?  
मान्छेहरु बेपत्ता पारिएलगत्तैको कलात्मक प्रतिक्रिया हो, र्‍याप। उक्त गीतसँगै पत्रपत्रिकामा घटनाबारे छापिएका लेखहरु पनि पढेका थियौं। ती लेखले पनि प्रश्न नै गर्छन्। समाजसँग सरकारलाई र सरकारसँग घटनालाई जोड्न यस्ता कलात्मक प्रयोग निक्कै उपयोगी हुन्छन्। किनकि साधारण भाषामा भनिएका कुराहरु नसुनिन सक्छन्। कला असाधारण भाषा हो। 

कलात्मक विद्रोहले जिम्मेवार व्यक्तिहरुलाई घटना बारे बोल्न दवाव दिन्छ नै। साथै यस्ता राष्ट्रिय घटनाहरुको विश्वव्यापी ध्यानाकर्षणका समेत गराउँछ। 

युरोपको फरक समाज र परम्परामा हुर्किएकी निर्देशकका लागि म्याक्सिकोको परम्परा, संस्कृति एवं कलात्मक पाटो नौलो हुन सक्थ्यो। नाटकमा ती कलात्मक पाटोहरुको प्रयोगका लागि ठाउँ बनाउन कति कठिन भयो?
हो, सुरुवातमा गाह्रो थियो। पछि हामीले म्याक्सिकन र्‍यापमात्र नभएर त्यहाँ गाइने परम्परागत गीत ला ल्विरोना (द विपिङ वमन)लाई समेट्यौं। संगीत बाहेकका बिम्बमा पनि उनीहरुको परम्परासँग जोडिएका वस्तु र रङहरुको उपयोग गरेका छौं। कालो झण्डाले म्याक्सिकोमा शोक मनाउनुलाई संकेत गर्छ। सुन्तला रङले मृत्युको र रातो रङले हत्याको या रगतको। रगतले हिंसा जनाउँछ। घटनासँगै सरकारको मौनताको विरुद्ध सडकमा उत्रिएका मेक्सिकनले रातो रङ पोतेको हात माथि उचालेर नारा लगाएका थिए। 

परम्परालाई समकालीन समाज र घटनासँग मिसाएर काम गर्नुले सामाजिक, राजनीतिक खाडल पुरेको समेत महसुस गरेका छौं।

रङले समाजअनुसार फरक महत्व राख्छ। जस्तै हिन्दु परम्परामा रातो सौभाग्यको प्रतीक हो। नेपालमा कालो रङ शोक नभएर विद्रोह जनाउन प्रयोग गरिन्छ। मेक्सिकन परिवेशमा तयार नाटकमा प्रयोग रङलाई अरु परिवेशका दर्शकले कसरी बुझ्ने?
फरक समय, समाज, परम्परा अनुसार रङ मात्र होइन धेरै वस्तु वा शब्दको अर्थ फरक हुन सक्छ। तर, तत्काल हामीले कुन ठाउँको मुद्दालाई आफ्नो प्रस्तुतिमा उठाएका छौं भन्ने कुराले बढी महत्व राख्छ। जति महत्व यी रङ वा शब्दहरुले राख्छन्। 

हात रातो बनाएर सरकार विरुद्ध हिँड्नु, मृत्युमा सुन्तला रङको फूलको प्रयोग, शोकमा मेक्सिकोको झण्डा पूरा कालो बनाउनु वा शान्तिको मागमा सेता टिसर्टहरुको प्रयोग गर्नु मेक्सिकोको कथा भन्नु हो। यी सबै कुरा प्रस्तुति मार्फत् भन्न सक्नुपर्छ। नसकेको खण्डमा फरक ठाउँका दर्शकले फरक अर्थ लगाउने जोखिम हुन्छ।

नाटक मञ्चनपछि मेक्सिकनमा परेको प्रभावबारे पनि अध्ययन गर्नुभयो कि? गरेको भए प्रतिक्रिया कस्तो मिल्यो? 
पूरा घटनाक्रमलाई नाटकमा देखाउनु चुनौती थियो। तर, यो निश्चित व्यक्ति वा देशको मात्र नभएर विश्वव्यापी मुद्धा हो र यसमाथि जसरी पनि काम गर्नु पर्छ भनेर तयार थियौं। 

मेक्सिको सरकारले लुकाउन खोजेको यो घटनाको नाटक उनीहरुकै देशमा गर्नु अर्को चुनौती। उनीहरु घटना विश्वव्यापीकरण होस् भन्ने पक्षमा थिएनन्। धन्न हामीले स्वतन्त्रताको अधिकार प्रयोग गर्न पायौं। 

बाहिरको मानिस गएर उनीहरुको पीडालाई कलात्मक ढङ्गमा देखाउनुले आम मानिस र विद्यार्थीको संवेदनामा छोयो। तर, केही थिए जसले नाटकको बीचमा हामीले दिएको फूल समेत स्वीकारेनन्। हामीले उनीहरुको कानमा केही कुरा भन्न खोज्दा नकारे। 

सकारात्मक, नकारात्मक दुवैखाले प्रतिक्रियाका लागि हामी तयार थियौं। हाम्रो लागि 'भन्न पाउनु' र 'सुनिनु'ले ज्यादा अर्थ राख्यो। 

यो नाटक तयार पार्दाको प्रक्रियाले विश्वभरको बेपत्ता नागरिकको मुद्दासँग केही निकट बनायो त? कस्तो रहेछ अवस्था? 
नागरिक बेपत्ता हुनु विश्वभरको समस्या रहेछ जुन निक्कै अन्यौल र नाटकीय अवस्था हो। न मृत्युको खबर आउँछ न हराएको मानिस फर्कन्छ। परिवार र आफन्तको आशा निराशामा बद्लिनुले उनीहरुको मनोविज्ञान नै अनियन्त्रित पार्ने रहेछ। 

दक्षिणी अमेरिकामा सन् १९८० देखि २००० सम्म भएको द्वन्द्वमा बीस हजार मानिस बेपत्ता भए। अर्जेन्टिनाको डर्टी वारमा तीस हजार मानिस बेपत्ता भए। नेपालसँग पनि द्वन्द्वकालमा बेपत्ता भएका नागरिकहरुको कथा रहेछ। त्यसैले यो सारा विश्वका मानिसहरुले भोगेको र भोग्दै आएको दर्दनाक अवस्था हो। यो मुद्धामा सामाजिक र राजनीतिक द्वन्द्व प्रत्यक्ष रुपमा जोडिएको छ। 

नागरिक बेपत्ता हुनुमा राजनीतिक अवस्थाको पनि भूमिका हुन्छ भन्ने तपाईंको बुझाइलाई केही प्रष्ट पारिदिनु न। 
अवश्य पनि नागरिक बेपत्ता  पारिनु राजनीतिक रणनीति हो। विशेषगरी द्वन्द्वमा सहभागी फरक पक्षहरुले यसको प्रयोग गर्छन्। र, म यसलाई सबैभन्दा कायर रणनीति मान्छु। 

कसैलाई बेपत्ता पारेर वा मारेर केही हुँदैन। सीमित समयपछि ऊ शहीद घोषणा होला वा बहादुर कहलिएला। तर, बेपत्ता पार्नेको इतिहास लेखिँदैन। लेखिए पनि गर्व गर्न लायक केही हुन्न। उदाहरणका लागि नाजीले यहुदीमाथि गरेको दमनलाई हेर्न सक्छौं। धेरै ठाउँमा राष्ट्रियताको नाममा पनि यस्ता घटनाहरु घट्छन्। 

राष्ट्रियताको प्रसङ्ग उठ्यो। तपाईंहरुले मेक्सिकोको झण्डा कालो बनाउनु वा त्यहाँको राष्ट्रियता बिरोधी, जस्तै: ‘मेक्सिको ह्याज बिन डाइड बिकज अफ इन्डिफ्रेन्स’ संवादहरु बोल्नुणले असर गरेन? 
राष्ट्रियता गाह्रो कुरा रहेछ। यसले सीमा तोक्छ र मान्छेहरुलाई तँभन्दा म माथि वा तल, म भन्दा तँ भिन्न भन्ने भाव महसुस गराउँछ। इटालीमा पनि हामीले अहिले त्यही अवस्था भोगिरहेका छौं। हाम्रोमा 'राष्ट्रवादी' पार्टीको सरकार छ। यसको मतलव हामी असमानता, अन्याय सहेर बस्नुपर्छ भन्ने होइन। हामी समाजलाई मञ्चमा देखाउन हिँडेकाले झन् त्यसो गर्नु कदापी ठीक हुँदैन। रङ्गकर्मीले सत्य बोल्नुपर्छ।
‘मेक्सिको ह्याज बिन डाइड बिकज अफ इन्डिफ्रेन्स’। यो त्यहाँका मानिसहरुले भोगिरहेको समस्या हो। बेमतलवीले उनीहरुलाई गाँजेको छ। उनीहरु असुरक्षित छन् तर सुरक्षा दे भन्न सक्दैनन्। अन्यायमा परेकाहरुले न्याय माग्न सक्दैनन्। मानवता मर्दै गएको छ। 

हामीले बोलेका संवादहरु त्यहाँको सरकारका लागि प्रीतिकर नहोला। तर, नाटक हेर्ने धेरैले त्यसलाई आफ्नो मनको आवाजको रुपमा लिए। 

मेक्सिकोलाई केन्द्रमा नराखी समग्रमा मानवताको अवस्थालाई कस्तो देख्नु भएको छ? 
नाटकमा पनि एउटा संवाद छ 'अ पार्ट अफ आवर ह्युमानिटी इज अन्डर द ग्राउन्ड नाउ'। यथार्थमा मानवतालाई भूमिगत नै देख्छु म त। विशेषगरी राजनीति र अस्वस्थ प्रतिस्पर्धा र महत्वकांक्षाले यसलाई दबाएको छ। निकै कम मानिसमा मानवताको भाव ज्यूँदो छ। तर, धेरैकासमुन्ने तिनीहरु निरीह हुन्छन्। 

यदि मानवता जागै हुन्थ्यो भने कलाकारले कलामार्फत् यसको माग गरिरहेका हुँदैनथे। मान्छेले नै मानवता माग्नु पर्ने कस्तो परिस्थिति आयो।

यसको मतलब तपाईंहरुको रङ्गकर्म पनि मानवताको लागि मञ्चबाटै भइरहेको लडाई हो? 
कलाकारको धर्म निश्चित छैन। हामी मनोरञ्जन प्रदान गर्न पनि तयार हुनुपर्छ र परिवर्तनको प्रयासमा पनि संलग्न रहनुपर्छ। अभिनय, नृत्य, गीत, संगीत, भिडियोमार्फत् हामी आफ्नो धारणा बताउँछौं। त्यसले दर्शकमा वा सम्बन्धित निकायमा प्रभाव पार्छ। त्यसैले झारो टार्ने काम गरेर पनि हुँदैन। हाम्रो कामले साँच्चै अर्थ राख्नुपर्छ। र, ती अर्थ सायदै मानवताको विपक्षमा हुन्छन्। 

उदाहरणका लागि नाटकको एउटा दृश्यलाई लिऔं। जहाँ बेपत्ता पारिएकाहरुको अनुहार र शब्द 'यु' भित्तामा नभएर व्यक्तिको शरीरमा प्रोजेक्ट गरिन्छ। 

बेपत्ता भएकाहरु मारिए भन्ने सन्देश प्रवाह गर्ने अधिकार हामीसँग छैन। तर, उनीहरु जिउँदो हुन सक्छन् भन्ने आशा त व्यक्त गर्न पाइन्छ नि। त्यसैले जिउँदो मानिसको शरीरमा उक्त तस्विर देखाउनुको संकेत उनीहरुको उपस्थिति महसुस गराउनु थियो। 

निराशहरुमा आश जगाउनु, अन्याय विरुद्ध बोल्नु, अधिकारको माग सायद यी सबै रङ्गकर्मीले मञ्चमा उठाउने विषयहरु हुन्। 

थिएटरमार्फत् भइरहेको लडाईंलाई राजनीतिक वा सामाजिक संरचनाले प्रभाव पार्ने वा लड्दा लड्दै थाक्ने डर छ कि छैन? 
नाटक बनाउनु भनेको वरपर केही देख्नु र त्यसलाई उठाएर मञ्चमा देखाइहाल्नु होइन। यो महसुस, अध्ययन, अनुसन्धानसँग जोडिएको लामो प्रक्रिया हो। जसमा विषय उठानको महत्व र असर केलाउनु पर्छ। अनि रङ्गकर्मीको रहर र कर्म यही नै त हो। आफ्नो क्षमता, बुताले भ्याएसम्म आवश्यक कथा भन्नुपर्छ, विषय उठान गर्नुपर्छ। 

सक्दै सकिएन भने चुप लागौंला। कहिलेकाहिँ 'बोल्' भन्न पनि आफू चुप लाग्नु पर्छ। त्यही काम मेरो सट्टा गर्ने अर्को कोही हुनेछ। किनकि एउटा विषयलाई म वा कोही एकले मात्र महत्वको विषय मानेको हुन सक्दैन। 

थिएटरमार्फत् आवाज लिएर उभिँदा तपाईंका व्यक्तिगत समस्याहरुले पनि असर त गर्लान् नि?
महिला हुनुले केही गाह्रो बनाएको छ। तर, म आफैँलाई विश्वास गरेर र अरुको विश्वास जितेर नाटक निर्देशन र अभिनयमा लागेकी हुँ। त्यसैले आफ्नो लैङ्गिकतालाई बहाना बनाएर पछि हट्नेवाला छैन। फेरि यो विश्वभरका महिला रङ्गकर्मीको समस्या हो जस्तो लाग्छ। 

इटालीमा धेरै महिला निर्देशक छैनन्। यसको मतलव मेरो लागि बढी ठाउँ हुनु हो। तर, पुरुष निर्देशक वा प्राविधिकहरु नै हामी महिला अगाडि बढोस् भन्ने चाहँदैनन्। खोइ किन हो महिला निर्देशकसँग काम गर्दा उनीहरुले असहज महसुस गरेको बुझ्छु। 

बरु इन्डियाको थिएटरमा महिला सहभागिता देखेर निकै खुशी लाग्छ। एक महिला निर्देशकले पूरै पुरुषहरुलाई लिड गरेर विश्वभरका थिएटर महोत्सव घुम्छन्। यो हाम्रो लागि पनि गर्वको विषय हो। गाह्रो छ तर परिवर्तन हुँदैछ।

(यसमा प्रयोग भएका फोटोहरु The Epoch Times/ The New York Times/AP/ The Indian Express र NITFEST2019 बाट लिइएको हो।)



मेक्सिकोको विद्रोह बोकेर इटालीकी डोरा, भन्छिन् : द्वन्द्वमा बेपत्ता पार्नु कायर रणनीति को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट